केटीको आवाजमा संवाद बोल्दा सबैले रुचाए
भाइबहिनी हो, सबैलाई मेरो नमस्कार छ है। आज यो अंकुर पत्रिकामार्फत तिमीहरूसँग मनको कुरा साट्न पाउँदा निकै खुसी लागेको छ। तिमीहरू मलाई चिन्छौ कि चिन्दैनौं, थाहा छैन। तर, मेरो गीत भने अवश्य सुनेकै होलाऊ। मैले तिमीहरूका लागि भनेर थुप्रै बालगीतमा स्वर र संगीत भरेको छु। यति भनेपछि केहीले पक्कै चिन्यौ होला। म अब ढिला नगरी आफ्नो परिचय दिन्छु है त।
मेरो नाम रामेश श्रेष्ठ हो। २००१ सालमा पाल्पाको तानसेनमा मेरो जन्म भएको हो। तर, मेरो पुख्र्यौली थलो ओखलढुंगा हो। मेरो बुवा राणाकालीन समयमा सुब्बा हुनुहुन्थ्यो। जागिरकै सिलसिलामा उहाँ एक ठाउँबाट अर्कोमा सरिरहनुहुन्थ्यो। ओखलढुंगाबाट तानसेन गएपछि म त्यहीँ जन्मिएँ। मेरो ५÷६ वर्ष त्यतै बित्यो। यसरी मेरो बाल्यकाल एकै ठाउँमा बितेन। बाल्यकालमै धेरै ठाउँ घुम्न पाएँ।
केही समयपछि फेरि बुवाको सरुवा सुदूरपश्चिमको डोटीमा भयो। हामी त्यहाँ गयौं। त्यहाँको शैलेश्वरी माविबाट मेरो पढाइ सुरु भयो। त्यतिबेला राणाकालीन सत्तालाई फाल्नका लागि कांग्रेसहरूले २००७ सालको क्रान्ति सुरु गरे। त्यो मैले बालापनमै देख्न पाएँ। यसले ममा एक प्रकारको राजनीतिक घटनाहरू कसरी हुन्छन् भन्ने सिकायो।
म सानैदेखि एकदमै शान्त स्वभावको थिएँ। मेरो घरको माहोल पनि पूरै संगीतमय भएको कारणले होला मलाई सानैदेखि गीतसंगीतमा रुचि थियो। त्यसमाथि दाइ, दिदीहरूले खुब सितार, मादल, हार्माेनिनयम बजाउँथे। यसको प्रभाव ममा पनि पर्यो। सानैदेखि गीत गुनगुनाउने र तबला, मादल, हार्माेनियम बजाउन मैले पनि सिकेँ। मलाई जापनिज बाजा पनि बजाउन आउँथ्यो।
म त्यतिबेला रेडियो होस् या टेपबाट पंकज मलिक, मित्रसेनका गीत र राणाहरूका दरबारका तालिमे नानीहरूका गीत खुब सुन्थेँ। मलाई अझै पनि पंकज मलिकको ‘पिया मिलनको जाना, हो..... पिया मिलनको जाना’ भन्ने गीत सम्झना छ। त्यसैगरी तारिणीप्रसाद कोइरालाले लेखेको र रानुदेवी अधिकारीले गाएको गीतबाट निकै प्रभावित थिएँ।
त्यो बेलामा मेरो दाइ कांग्रेस र मेरा बा राणाजीका विश्वासपात्र हुनुहुन्थ्यो। दाइले त्यो समयमा भूमिगत गीतहरू गाउनुहुन्थ्यो। ‘नेपाली अगाडि हातमा क्रान्ति झन्डा लिई’ जस्ता गीत मेरा दाइले गाउँदा मलाई निकै प्रभाव पारेको थियो। यसले एक प्रकारको प्रगतिशील चेतना थपेको थियो।
भाइबहिनी हो, तिमीहरूको बाल्यकाल कसरी बित्यो कुन्नि ! मेरो त एक ठाउँबाट सर्दै अर्को ठाउँ सर्दै बित्यो। यसै क्रममा फेरि बुवाको सरुवा सिन्धुपाल्चोकको चौतारामा भयो। हामी फेरि त्यहाँ गयौं। त्यो समयमा बुवाले सिन्धुपाल्चोकबाट नजिक काठमाडौंको पद्मोदय स्कुलमा कक्षा ७ मा भर्ना गरिदिनुभयो। त्यहाँ दुई वर्ष पढेँ, फेरि बुवाको सरुवा पूर्व तेह्रथुममा भयो। यसरी मैले बाल्यकालमै नयाँनयाँ ठाउँमा घुम्न र बस्न पाएकोले आफूलाई भाग्यमानी पनि ठान्छु।
तेह्रथुम गएपछि म त्यहाँको सिंहबाहिनी माविमा भर्ना भएँ। त्यही स्कुलबाट एसएलसी पास गरेँ। म त्यो स्कुलमा एसएलसीको पहिलो ब्याजको विद्यार्थी हुँ। त्यहाँ करिब आठ वर्ष जति हामी बस्यौं।
स्कुलमा विभिन्न खालका सांगीतिक कार्यक्रमहरू हुन्थे। एकदिन स्कुलको कार्यक्रममा सरमिसहरूले रामेशलाई मादल, तबला, हार्मोनियम बजाउन र गीत गाउन आउँछ यसैलाई भाग लिन लगाउनुपर्छ भनेपछि मैले भाग लिएँ। त्यहाँ मैले गीत गाएँ र मादल बजाएँ। त्यहीँबाट सुरु भएको मेरो सांगीतिक यात्रा आजसम्म निरन्तर चलिरहेको छ। तर, मैले मेरो जीवन यसैमा बित्छ भनेर कहिल्यै सोचेको थिइनँ।
एक दिन तेह्रथुमको स्कुलको स्टेजमा मुनामदन नाटक मञ्चन गर्ने भनियो। त्यतिबेला म सानै भएकोले मेरो आवाज केटीको जस्तै थियो। नाटकमा मैले केटीको आवाजमा मुनाको संवाद गाएर बोले। त्यो देखेर दर्जी दाइले ‘तिमी त पछि ठूलो भएपछि रामै्र गाउँछौ कि क्या हो’ भन्नुभयो। उहाँको त्यो कुराले पनि मलाई अगाडि बढ्ने प्रेरणा दियो।
त्यहाँको आठ वर्षको बसाइपछि बुवा रिटायर हुनुभयो। हामी आफ्नै पुख्र्यौली ठाउँ ओखलढुंगा फर्कियौँ। गाउँमा आएर स्कुलमा पढाउन थालेँ। यही रायनसँग (भक्तबहादुर श्रेष्ठसँग) भेट भयो। उहाँसगै विभिन्न कार्यक्रममा गीत बनाउँदै गाउन थालियो।
त्यसपछि २०२१ सालमा रेडियो नेपालमा अधिराज्यव्यापी लोकगीत प्रतियोगिता भयो। त्यसमा साथी रायन र मैले भाग लियौं। त्यतिबेला नातिकाजी श्रेष्ठ, शिवशकर दाइहरूले तिमीहरूले गीत गाउन नछोड्नु भन्नुभएको थियो।
अब केटाकेटीको माया होइन देशको माया, श्रमशील र गरिब जनताका हित र असल राजनीतिक सुव्यवस्थाका लागि गीत गाउनुपर्छ भन्ने सोचले गीत गाउन थाल्यौं। यही क्रममा ‘गाउँगाउँबाट उठ बस्ती बस्तीबाट उठ’,
‘गरिबको चमेली बोलिदिन कोही छैन’ जस्ता गीतमा स्वर र संगीत दिएर गायौं। यस्ता गीत गाउनु त्यतिबेला निकै चुनौती थिए।
कति राजनीतिक गीत मात्र गाउनु, अब बालबालिकाका लागि पनि गीत गाउनुपर्छ भनेर मैले तिमीहरू जस्तै भाइबहिनीहरूका लागि पनि बालगीत गाएँ। सायद ती गीतहरू तिमीहरूले पनि सुनेका छौ होला।
‘कोपिला हौं फूल भई फूल्न बाँकी छ, सुगन्धको पाउ चाली डुल्न बाँकी छ’ भन्ने गीतमा मैले पहिलो पटक संगीत गरेँ। त्यसैगरी ‘मेरो गाउँ ज्यामिरे जमुनीको छोरो काले भन्छन् मलाई तर, मान्छे गोरो म’ ‘आइतबारै बिहानै घामसित उठेँ म’, लेकका हामी केटाकेटी स्कुलभित्र कुहिरो छ’, ‘बाजेलाई लाइदिने न्यानो कपडा’ आदि जस्ता ५० भन्दा बढी गीत संकलन गरेर बालगीत बनाएको छु। सम्भवतः नेपालमा बालगीतको सुरुआत गर्ने पहिलो म नै हुँ।
भाइबहिनीहरू यो क्षेत्रमा आउन चाहन्छौ भने तिमीहरूले राम्रा गीत सुन्नु। जीवनलाई सही मार्गमा डोर्याउने खालको गीत सुन्नु र निकै मेहनत गरेर मात्र यो क्षेत्रमा आउनु। केही दिनपछि फेरि मेरो अर्को बालगीतको एल्बम आउने तयारीमा छ भन्ने जानकारी गराउँदै भाइबहिनीहरूसँग छुट्टिन्छु है त।
(गायक तथा संगीतकार श्रेष्ठसँग इन्द्र चौधरीले गरेको कुराकानीमा आधारित)