काजक्रिया छाडेर ‘श्रद्धाञ्जली सभा’

काजक्रिया छाडेर ‘श्रद्धाञ्जली सभा’

ओखलढुंगा : नेकपाका आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडा बुवाको काजक्रिया गर्न कपाल काटेर कोरामा बसेनन्। उनी मंसिर २९ गते बुवाको निधन भएपछि अन्तिम संस्कारमा सहभागी भए। फर्केर घरमा बुवाको फोटोमा फूल चढाए, धुप बाले। दसौं दिनसम्म यसरी नै उनले बुवालाई सम्झिए।

उनले आफन्त तथा शुभचिन्तकलाई पनि त्यसरी नै बुवालाई सम्झिन आग्रह गरे। शोक पुस्तिकामा श्रद्धाञ्जली लेखेर, फूल चढाएर धेरैले नेता खतिवडाका बुवा मनोरथलाई सम्झिए। तर उनका दुई जना भाइ नरेन्द्र र सुरेन्द्र भने काजक्रियामा बसेका छन्। नरेन्द्रले संस्कार परिर्वतन गर्न दाजुले छलफल गरे पनि परिवारका सदस्य र अन्य व्यक्तिले परम्परा तोड्न नहुने भनेपछि आफूहरूले सल्लाहमै फरकफरक तरिकाले काजक्रिया गरेको बताए। उनले भने, ‘दाजुको अभियानमा हाम्रो समर्थन छ, हामीलाई पनि उहाँको सद्भाव छ।’

पेशलकै आग्रहमा दसौं दिन उनी आबद्ध संस्था आधारशीला परिवार बर्दिबास र नेकपा जिल्ला कमिटीले खतिवडा परिवारको घर नजिकै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यमा आइतबार श्रद्धाञ्जली सभा गर्‍यो। सभामा खतिवडाले परिवार र दाजुभाइसँग सल्लाह गरेरै आफूले संस्कृति रुपान्तरणका लागि नयाँ तरिकाले बुवालाई सम्झिएको बताए।

उनले मृत्यु संस्कारमा रुपान्तरण आवश्यक रहेको भन्दै रुपान्तरण आफैंबाट थालेको बताए। उनले भने, ‘आफन्त गुमाएका बेला मान्छे त्यसै पीडामा हुन्छ, हाम्रो मृत्यु संस्कार गर्ने तरिकाले थप पीडा दिन्छ। मरेपछि गरुड पुराण सुन्दा पार तर्ने भ्रमबाट मान्छेलाई मुक्त गरेर सरल संस्कृति अवलम्बन गर्न प्रेरणा दिन सुरुवात आफैंबाट गरेको हुँ।’

नेकपाका स्थायी कमिटी सदस्य तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले भने, ‘संस्कृति हाम्रो जीवन हो भने यसलाई सरल बनाउन वैज्ञानिक तरिका अपनाउन सक्नुपर्छ।’ शैक्षिक रुपान्तरणमा गरेको योगदानको चर्चा गर्दै उनले मनोरथको थालनीले परम्परा ठीक कि रुपान्तरण भन्ने बहस सुरु भएको बताए। यस्तो बहस थालनी गरेर सांस्कृतिक रुपान्तरणको अभियन्ता बनेकामा धन्यवाद समेत दिए।

यस्ता परम्पराको रुपान्तरण आवश्यक भएको नेकपाका जिल्ला इन्चार्ज तथा सांसद यज्ञराज सुनुवारले बताए। खतिवडा परिवारले पिताद्वारा स्थापित जीवनप्रदिप मावि हर्कपुरबाट बर्सेनि उनको स्मृतिमा एसईईमा सर्वोत्कृष्ट, दलित र महिला गरि ३ जनालाई ३ हजारका दरले पुरस्कार दिने घोषणा गरेको छ। मृत्यु संस्कार रुपान्तरण गरेर सरल बनाउन अभियान थाल्ने जोसुकैलाई ५ हजार पुरस्कारको पनि घोषणा गरेको छ।

संस्कार परिवर्तन गर्न कठिन भए पनि पेशलले ऐतिहासिक कदम उठाएको स्थानीय बुद्धिजीवी कुलप्रसाद खतिवडाले बताए। यसले अहिले समाजमा अहिले परम्परागत तरिका परिर्वतन भन्ने बहस सुरु भएकाले आगामी दिनमा यस्ता परम्परा बिस्तारै सुधारिने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.