जिल्ला प्रशासन कार्यालयमा परामर्श लिनेको भीड
ओखलढुंगा : राहदानी बनाउन आउने सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले दैनिक परामर्श र सूचना दिँदै आएको छ। राहदानी बनाउन आउनेमध्ये रोजगारीमा जाने सेवाग्राहीले वैदेशिक रोजगारीका चुनौति, त्यहाँ जाँदा पुरा गर्ने प्रक्रिया र समस्याका बारेमा परामर्श लिनुपर्ने हुन्छ।
आप्रवासी सूचना कक्षकी यमुना धमलाका अनुसार राहदानी फारम भर्न आउँदै पहिलो पटक यस्तो परामर्श दिने गरिएको छ । राहदानी लिन आउँदा दोस्रो पटक पनि उनीहरुलाई बैदेशिक रोजगारीका जोखिमका बारेमा जानकारी दिने गरिन्छ।
यसो गर्नुको उद्देश्य युवाशक्तिलाई वैदेशिक रोजगारीमा जानुभन्दा स्वेदशमै स्वरोजगार बन्न प्रोत्साहन गर्नु र जानै लागेकालाई त्यहाँ जाँदाका प्रक्रिया, लाग्ने रकम तथा आउने समस्या समाधानका लागि के के गर्ने भन्ने सिकाउने हो । उनीहरुलाई तालिम लिएर आधिकारिक निकायबाट मात्रै जान सुझाब दिएर पठाइन्छ ।
सूचना कक्ष जिल्ला प्रशासन कार्यालयभित्र राहदानी फाँटसँगै राखिएको छ । यसको मुख्य उद्देश्य युवालाई विदेशिन रोक्नु, जानेहरुलाई सीप सिकेर आधिकारिक निकायबाट पठाइ ठगिनबाट जोगाउनु रहेको सूचना सहायक धमलाले बताइन्।
जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने अधिकांशले यहाँ परामर्श लिने गरेका छन् । तालिम लिन इच्छुकलाई तालिम दिने संस्थासँग पनि सम्पर्क गराइन्छ। सूचना कक्षमा ०७६ साउन यता १ हजार १ सय बढीले बैदेशिक रोजगारीमा जानुपूर्व गर्ने काम तथा लिनुपर्ने जानकारी परामर्शमार्फत लिएका छन् । एकजना सेवाग्राहीले त विदेशमा आउनसक्ने, समस्या, समाधान गर्ने प्रक्रिया र स्वदेशका संभावना सुनेपछि विदेश नगइ स्वदेशमै तरकारी उत्पादन गर्ने प्रतिबद्धासहित घर फर्केको सूचना सहायक धमलाले जानकारी दिइन् ।
सूचना कक्ष सञ्चालनका लागि ओखलढुंगाका दुई स्थानीय तह र उद्योग मन्त्रालय अन्र्तगतको ग्रामीण उद्यम तथा विप्रषण आयोजना (समृद्धि) को सहकार्य छ । चिशंखुगढी गाउँपालिका, सिद्धिचरण नगरपालिका र समृद्धिको स्रोत साझेदारीमा सूचना कक्ष सञ्चालनमा ल्याइएपछि दैनिक परामर्श लिनेको भीड नै लाग्छ । 'दैनिक ३० देखि १ सय जनासम्मलाई सूचना र परामर्श दिइन्छ, विदेशमा हुँदा समस्याबाट जोगाउन र समस्यामा परि हालेमा समाधान खोज्ने प्रयत्न पनि गर्छौं,' धमलाले भनिन्।
सूचना कक्षको वैदेशिक रोजगार विभागसँग पनि सहकार्य छ । सूचना कक्षले वैदेशिक रोजगारीमा जान पुर्याउने पक्रिया, लाग्ने शुल्क, आउन सक्ने समस्या र समाधानका विधिबारे जानकारी दिँदा खुसी लागेको युवा उमेश तामाङले बताए । उनले भने, 'विदेश जान राहदानी बनाउन आएको थिएँ, धेरै सूचना थाहा पाइयो, अब सहज हुन्छ।'
त्यस्तै सूचना कक्षबाट समन्वय गरेर दलालबाट ठगिएका एक व्यक्तिले १ लाख रकम फिर्ता पाएका छन् भने एक विदेशमा ज्यान गुमाएका व्यक्तिका परिवारले विमाको रकम पाएका छन् । विदेशमा अलपत्र परेमा, मृत्यु भएमा, रोग लागेमा वा अलपत्र परेमा स्वदेश ल्याउन पनि सूचना कक्षले दूतावाससम्म समन्वय गरि काम गर्दै आएको छ।
दुईवटा स्थानीय तहको साझेदारीमा सूचना कक्ष स्थापना भएपनि जिल्ला प्रशासन कार्यालय आउने सबै सेवाग्राहीलाई वैदेशिक रोजगारीका समस्या, कानुनी प्रक्रिया, समस्या आउँदा समन्वय गर्ने निकाय तथा विधिबारे जिल्लाभरका नागरिकले सूचना र जानकारी पाउने गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । प्रक्रिया बुझेर, दक्ष भएर मात्रै जाँदा ठगिनुपर्ने, काम नपाउने जस्ता समस्या नआउने भएको यस्तो परामर्श आवश्यक रहेको आचार्यको भनाइ छ।
दुई स्थानीय तहको साझेदारीमा ओखलढुंगामा परामर्श कक्ष पहिलो पटक स्थापना गरिएको हो । यसले विदेश जानेलाई जानुपूर्व र गएपछिका कानुनी प्रावधानबारे समेत सचेत गराउँछ । चिसंखुगढी र सिद्धिचरण बाहेक अन्य स्थानीय तहका नागरिकलाई समेत परामर्श दिएर सहजता ल्याउन सूचना कक्ष सञ्चालन गर्न स्थानीय सरकार तयार भएको चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए।