निस्फिक्री प्रयोग गरौं विद्युतीय उपकरण
अहिले नेपालको विद्युत उत्पादन क्षमता १२७० मेगावाट पुगेको छ भने खपत १३०० मेगावाट।
काठमाडौं : तीन वर्षअघिसम्म लोडसेडिङ नियमित आकस्मिकता जस्तो थियो। जाडोमा हिउँ पग्लने क्रम कम भएसँगै नदीका बहावमा आधारित जलविद्युत आयोजनाबाट विद्युत उत्पादन उल्लेख्य घट्न जान्थ्यो। फलतः नेपाल विद्युत प्राधिकरणले जाडो महिनामा विद्युत कटौती (लोडसेडिङ) गर्नुपर्ने बाध्यता हुन्थ्यो। जाडो महिनामा विद्युत बढी खपत हुने साँझ बिहानको समयमा बढी विद्युत खपत गर्ने एसी, हिटर, आइरन, पानी तान्ने पम्प नचलाउन विद्युत प्राधिकरणले सूचना जारी गर्थ्यो।
झण्डै-झण्डै एक दशक लोडसेडिङ घट्नेभन्दा बढ्ने अवस्थामा थियो। पछिल्लो तीन वर्षयता यो क्रम फेरिएको छ। प्राधिकरणले विद्युत उपयोगका लागि आम उपभोक्तालाई प्रोत्साहित गरेको छ। आगामी वर्षदेखि सम्भवतः नेपाललाई छेलोखेलो विद्युत हुन्छ। विद्युतमा आत्मनिर्भरताको स्थिति हुने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन्। आउँदो वर्ष करिब १००० मेगावाट विद्युत उत्पादन राष्ट्रिय प्रसारणमा थपिने अनुमान छ।
विद्युतको उपलब्धताले मात्र आपूर्ति पक्ष सुधार हुँदैन। यसका लागि प्रसारण र वितरण प्रणालीलाई पनि चुस्त दुरुस्त बनाउँदै लगिएको छ। नेपालमा विद्युत खपतका हिसाबले काठमाडौं मुख्य लोड सेन्टर हो। काठमाडौंमा विद्युतको माग ३६५ मेगावट जति छ। अब विद्युतमै खाना पकाउन प्रोत्साहित गर्ने हो भने विद्युतको माग धान्न सकिने प्राधिकरणका अधिकारीहरू बताउँछन्।
अहिले हामीकहाँ विद्युतको माग १३०० मेगावाट हाराहारी छ। सुख्खायाम नै भए पनि नेपालले भारतबाट आयात गर्नुपर्ने विद्युत पिक आवर (साँझ-बिहान) ४०० मेगावाट जति छ भने औसतमा ३५० मेगावाट।
विद्युत महसुलको हाम्रो विद्यमान नीतिले विद्युत खपत ठाडो ग्राफमा उकालो लाग्दैन। अहिलेको विद्युत महसुलसम्बन्धी नीतिले बढी खपत गर्नेलाई बढी महसुल तिराउने व्यवस्था गरेको छ। महसुल नीतिको यो संरचनात्मक पक्षमा सुधार गरेर बढी विद्युत खपत गर्न प्रोत्साहित गर्ने हो भने अवश्य पनि खाना पकाउन (क्लिन कुकिङ फ्युल)को रूपमा विद्युतको उपयोग बढ्नेछ। प्रोफेसर अमृतमान नकर्मीका अनुसार विद्यमान विद्युत महसुल नीति परिवर्तन गरेर क्रमशः खाना पकाउन र स्वच्छ यातायात (ग्रिन ट्रान्सपोर्टेसन)लाई प्रवर्द्धन गर्नुपर्छ।
विद्युत नियमन आयोगको स्थापना भइसकेकाले विद्युत महसुलसम्बन्धी विद्यमान व्यवस्था क्रमशः पुनरवलोकनमा जाने यस क्षेत्रका जानकारहरू बताउँछन्।
विद्युत प्राधिकरणका अनुसार मुख्य लोड सेन्टर काठमाडौंमै खाना पकाउन इन्डक्सन हिटरको व्यापक प्रयोग बढेको खण्डमा पनि तत्कालै १५० मेगावाटसम्म थप विद्युत आपूर्तिमा कुनै समस्या छैन। ‘१००० मेगावाटसम्म विद्युत आयात गर्न मिल्ने गरी ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनको नेपालले ह्विलिङ चार्ज तिरिरहेको छ’, प्राधिकरणका प्रवक्ता अधिकारी भन्छन्, ‘केही माग बढ्दैमा आपूर्ति पक्ष प्रभावित हुने प्रश्नै आउँदैन। प्राधिकरणले सहज आपूर्तिको सुनिश्चितता गर्छ।’
अहिले हामीकहाँ विद्युतको माग १३०० मेगावाट हाराहारी छ। सुख्खायाम नै भए पनि नेपालले भारतबाट आयात गर्नुपर्ने विद्युत पिक आवर (साँझ-बिहान) ४०० मेगावाट जति छ भने औसतमा ३५० मेगावाट।
जाडो महिनासँगै नेपालमा विद्युतको माग वृद्धि हुन्छ भने नदीका बहावमा आधारित विद्युतको उत्पादन क्षमता भने घट्छ। अहिले हाम्रो विद्युत उत्पादन क्षमता १२७० मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरणको ६३५, स्वतन्त्र ऊर्जा उत्पादकको तर्फबाट पनि ६३५ मेगावाट। दुवैले राष्ट्रिय प्रसारणमा योगदान गर्ने विद्युत बराबरी छ। गर्मी महिनामा विद्युतको माग कम हुन्छ। गत साउन महिनामा नेपालको विद्युत बचत २०० मेगावाट जति थियो। गर्मीमा र जाडो महिनामा नेपाल र भारतमा मागमा विविधता छ। त्यहाँ अचाक्ली गर्मी हुँदा गर्मी महिनामा एसी, पंखा, कुलरजस्ता उपकरण सञ्चालनमा बढी विद्युत चाहिन्छ। यस्तो अवस्थामा हामीले भारतसँग ‘इनर्जी बैंकिङ’को माध्यमबाट गर्मीमा भारतलाई दिने, जाडोमा सो बराबर बिजुली लिने अवधारणामा जान सकिने विज्ञहरू बताउँछन्।
विश्व बैंकले हालै सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार नेपालका ७८ प्रतिशत घरपरिवार राष्ट्रिय प्रसारणलाइन (नेसनल ग्रिड) बाट विद्युतीकरण भएका छन्। दुई वर्षअघि ७२ प्रतिशतमा मात्र राष्ट्रिय प्रसारणलाइनबाट विद्युतीकरण भएको थियो। विद्युतीकरणको रफ्तारमा पनि वृद्धि भइरहेको छ। नेसनल ग्रिड बाहिर (अफ-ग्रिड) विद्युत उपयोग गर्ने १७ प्रतिशत छन्। उनीहरूले लघु जलविद्युत, सौर्य तथा वायु ऊर्जाको उपयोग गर्छन्। राष्ट्रिय ग्रिडबाट विद्युतीकरण भएकालाई विद्युतीय सामग्रीको प्रयोगमा सुगमता बढी छ। विश्व बैंककै उक्त सर्वेक्षणले नै विद्युतीकरण भएका घरपरिवारमध्ये १० मा २ घरपरिवारले मात्र खाना पकाउन स्वच्छ ऊर्जाको प्रयोग गर्दै आएका छन्। न्यून संख्यामा मात्र घरपरिवारले ऊर्जा उपयोगका हरेक क्षेत्रमा सम्भव भएसम्म जलविद्युतको प्रयोग गरेका छन्। विद्युतको सुलभ र नियमित आपूर्तिले औद्योगिक क्षेत्रमा मात्र होइन, घरायसी क्षेत्रमा समेत विद्युतको माग वृद्धि गर्छ।
सुलभ र नियमित विद्युत आपूर्तिसँगै बजारमा विद्युतीय उपकरणको बिक्री पनि बढेको छ। हिटर, एसी, वासिङ मेसिन, इन्डक्सन हिटर मात्र होइन जाडो याममा न्यानोका लागि नयाँ प्रविधिका इलेक्ट्रिक ब्ल्यांकेटदेखि विविध विद्युतीय उपकरणको खपत बढिरहेको छ। विद्युत आपूर्तिलाई नियमित बनाएकाले उपभोक्ताले विश्वस्त भएर यस्ता विद्युतीय उपकरणको उपयोग गरिरहेका छन्।