गाउँपालिकाले अझै किनेनन् औषधि

गाउँपालिकाले अझै किनेनन् औषधि

सिरहा : लक्ष्मीपुर पतारी गाउँपालिकाले स्वास्थ्य संस्थामा सर्वसाधारणले पाउने निःशुल्क औषधि अझै खरिद गरेको छैन। स्वास्थ्य संस्थामा स्थानीय जाँच गराउँछन् तर औषधि बाहिरै किन्न बाध्य छन्।

वडा नम्बर २ पोखरभिण्डा स्वास्थ्य चौकीका इन्चार्ज हरिनारायण चौधरीले स्वास्थ्य संस्थामा पर्याप्त औषधि नभएको बताए। ‘बिरामी जाँच गर्छौं तर औषधि नपाउँदा जनताले हामीलाई कराउँछन्’, उनले भने। गत साता जिल्ला स्वास्थ्य कार्यालयसँग माग गर्दा केही औषधि पठाइदिएको उनले बताए। उनका अनुसार स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि निःशुल्क दिने गरिन्छ तर यहाँ सबै उपलब्ध छैन।

सोही स्वास्थ्य संस्थामा मंगलबार ज्वरो आएपछि पोखरभिण्डा गाउँकी शोभा साह उपचार गराउन आइन्। उनले डेढ वर्षीय छोरालाई पनि स्वास्थ्य परीक्षण गराइन्। ‘स्वास्थ्यकर्मीले केही औषधि दिए। अरू बाहिर किनेर खानू भने’, ‘बच्चालाई सिरप खुवाउनुको सट्टा ट्याबलेट दिन्छन् र पानीमा घोलेर खुवाउन भन्छन्।’

स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा पटक–पटक गाउँपालिकामा जानकारी गराएको वडा नम्बर ४ की अनमी मनीषा चौधरीले सुनाइन्। ‘केही दिनपहिले मात्रै जिल्ला स्वास्थ्य कार्यालयले दिएपछि बल्ल जनताले औषधि पाउन थालेका छन्,’ उनले भनिन्, ‘अहिले पनि आइरन चक्की अभाव छ। गाउँपालिकाले औषधि दिन सकेको छैन।’

गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसमक्ष बारम्बार औषधि चाहियो भनेर माग गर्दै आएको वडा नम्बर ४ का अध्यक्ष विद्यानन्द साहले बताए। ‘औषधि नहुँदा गरिबलाई उपचारमा समस्या हुने गरेको छ। जाडो मौसममा बिरामीको चाप बढ्छ तर औषधि पर्याप्त छैन्,’ उनले भने, ‘पहिलो प्राथमिकतामा गर्नुपर्ने काम गाउँपालिकाले अल्झाइरहेको छ।’

प्रदेश सरकारबाट आएको केही औषधि स्वास्थ्य संस्थाले माग गरेका ठाउँमा पठाएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका निमित्त प्रमुख कृष्णदेव यादवले जानकारी दिए। ‘स्थानीय स्वास्थ्य संस्थाका लागि औषधि स्थानीय तहले पनि किन्नुपर्ने हो। हामीलाई प्रदेश सरकारले औषधि उपलब्ध गराएको छ,’ उनले भने,‘माग भएको ठाउँमा पुर्‍याएका छौँ।’ कहाँ, कति र कुन औषधि अभाव रहेकोबारे स्वास्थ्य संस्थासँग रिपोर्ट माग गरेको उनले सुनाए। रिपोर्ट आएपछि समीक्षा गरिने उनले बताए। गाउँसभा ढिलाइ हुँदा समयमै औषधि खरिद हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र महतले बताए। ‘विशेष गाउँसभाबाट औषधि खरिदका लागि विनियोजित ३० लाख रुपैयाँको टेन्डर प्रक्रिया अगाडि बढाइएको छ,’ उनले भने, ‘हामी चाँडै औषधि खरिद गर्छौं।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.