स्वास्थ्यका भवन अलपत्र
ओखलढुंगा : ओखलढुंगाका स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य संस्थाका अधिकांश भवन अलपत्र छन्। समयमा संरचना निर्माण नहुँदा स्वास्थ्य संस्था कतै अस्थायी टहरा त कतै भाडामा सञ्चालन गरिएको छ। भवन अभावकै कारण स्वास्थ्य संस्थामा प्रसूतिगृहसमेत सञ्चालन हुन सकेको छैन। ०६७ देखि ०७४ सालसम्म ठेक्का लागेका ती भवन निर्माण कम्पनीको लापरवाहीका कारण अलपत्र परेका हुन्।
तत्कालीन जिल्ला प्राविधिक कार्यालय र भवन कार्यालयबाट लगाइएका ३० करोडभन्दा बढीका १४ वटा भवनको काम अधुरै भएपछि भवन अभावमा प्रभावकारी सेवा प्रवाह, औषधि तथा उपकरण व्यवस्थापनलगायतमा समस्या आएको स्थानीय बताउँछन्। सुनकासी गाउँपालिकास्थित च्यानम स्वास्थ्य चौकी भवन निर्माणका लागि ०६७ सालमा सम्झौता भएको थियो। उक्त भवन फिनिसिङ र हस्तान्तरण नहुँदा प्रयोगमा आएको छैन। ०६७ असार ३२ गते खानी, धुलिखेल, पुष्पाञ्जली जेभीले ठेक्का लिएको उक्त भवन निर्माणका लागि ६ पटक म्याद थपिएको सुनकोसी गाउँपालिकाले जनाएको छ।
निर्माण कम्पनीले धेरै भवन ठेक्का लिएर समयमा काम नगर्दा समस्या देखिएको हो। अलपत्र १४ मध्ये ५ खोटाङको सगरमाथा घिमिरे निर्माण सेवा र २ वटा पुष्पाञ्जलीका भवन अलपत्र छन्। त्यस्तै, ०७१ सालमा ठेक्का लगाइएका रामपुर, राममाटे र रावादोलुका स्वास्थ्य संस्थाका भवन पनि अलपत्र छन्। आधा काम छाडेर ठेकेदार भागेपछि रामपुर स्वास्थ्य चौकी भवन अलपत्र परेको स्थानीय प्रकाश दाहालले बताए। उनका अनुसार ठेकेदारले स्थानीयका सामग्री प्रयोग गरेर रकमसमेत नदिई काम छाडेको छ। भवन निर्माण गर्न सांसद यज्ञराज सुनुवारले ठेकेदारका प्रतिनिधिसहित छलफलमा राखेर पहल गरे पनि स्थानीयले पहिले श्रमिक र स्थानीयका सामग्री प्रयोग गरेको रकम भुक्तानी नगरेसम्म काम गर्न नदिने चेतावनी दिएको दाहालले बताए।
त्यस्तै, मूलखर्क, फूलबारी तथा कुईभीर स्वास्थ्य चौकी भवन ०७२÷७३ मा निर्माण सम्झौता भए पनि काम अलपत्र छ। स्वास्थ्य संस्थाका भवन निर्माण नहुँदा सेवा प्रवाह तथा प्रसूतिगृह सञ्चालन गर्न कठिन भएको फूलबारीका स्थानीय कमल खड्काले बताए।
रुम्जाटार अस्पतालका २ र रानीवन प्राथमिक स्वास्थ्य केन्द्रको एउटा भवन पनि अलपत्र छन्। डाक्टर तथा नर्स क्वार्टर र जिल्ला अस्पतालको सुविधा सम्पन्न भवन बनाउने काम ०७४ असारदेखि सुरु भएका हुन्। ती भवन पनि अधुरै छन्। निर्माण व्यवसायीको लापरबाही र उनीहरूलाई गरिने दलीय संरक्षणले जिल्लाका अधिकांश पूर्वाधार निर्माणका योजना अलपत्र परेको नागरिक सामाजका अगुवा बोधनारायण श्रेष्ठले बताए।
त्यस्तै, भवन अभावकै कारण मूलखर्क स्वास्थ्य चौकीमा प्रसूति गृह नभएको वडाध्यक्ष गोविन्दराम तामाङले बताए। उनका अनुसार सुनकोसीमै पर्ने च्यानम स्वास्थ्य चौकीसमेत ९ वर्षदेखि अधुरो छ। अन्य क्षेत्रका निर्माणमा पनि ठेकेदारको चरम लापरबाही रहेको कांग्रेस सभापति प्रदीप सुनुवारले बताए।