सवारी भाडामा मनपरी

सवारी भाडामा मनपरी

भोजपुर : सिट थोरै, यात्रु संख्या ज्यादा। भाडा उस्तै महँगो। ग्रामीण कच्ची बाटोको लामो कष्टकर यात्रा। जसोतसो कोचिएरै भए पनि घर पुग्न हतारमा हुन्छन् भोजपुरलगायत आसपासका जिल्लाका यात्रु। भोजपुरमा ग्रामीण क्षेत्रमा चल्ने छोटो तथा लामो दुरीका सवारीको भाडादरमा एकरुपता नहुँदा यात्रु ठगिने गरेका छन्।

‘किनमेल धेरै हुन्छ, घर पुग्नै पुर्‍यो, अनि महँगै भएनि भाडा नतिरी सुखै छैन, गाडी चढ्नैपर्‍यो,’ पौवादुङ्मा गाउँपालिका–२, तिवारीभञ्ज्याङका केशव ढकालले भने, ‘गाउँको कच्ची, अप्ठ्यारो बाटो एकातिर चर्को भाडादर अर्कोतिर। सर्वसाधारण नै मारमा।’ ग्रामीण कच्ची सडकखण्डमा बढी भाडा असुल्ने गरिएको छ। सदरमुकामबाट छुट्ने अधिकांश ग्रामीण बाटोमा चल्ने साना तथा ठूला सवारीमा व्यवसायीले आफूखुसी भाडा लिने गरेका छन्। विशेषगरि जिल्लाका भित्री ग्रामीण इलाकामा ट्याक्सी, ल्यान्डरोभर र अटो÷टेम्पोले बढी भाडा असुल्ने गरेको सर्वसाधारणको गुनासो छ।

भाडामा एकरुपता कायम गर्न जिल्ला प्रशासनलगायत सरोकारवाला निकायले अनुगमन र नियमन नगर्दा यातायात व्यवसायीको मनपरी बढेको गुनासो सर्वसाधारको छ। भोजपुर आम्तेकका पर्शुराम ओझाले भने, ‘पैसा धेरै भएन भनेर चालक या सहचालकलाई भन्यो भने हाम्रो रेट नै यति हो भन्छन्। कडा नियमन र दररेट स्पष्ट नतोकिनाले सर्वसाधारणले मार खेप्नुपरेको छ।’ जिल्लाभित्र चल्ने ठूला सवारीसाधनभन्दा छोटो रुटका ट्याक्सी, टेम्पोलगायत साना सवारीले चर्को भाडा असुल्ने गरेका छन्। ८ किलोमिटर यात्रा गर्दा जनही १ हजारदेखि १५ सयसम्म भाडा असुल्ने गरेको सर्वसाधारणको गुनासो छ।

भोजपुर–घोरेटार सडकखन्डमा चल्ने साना गाडीले धेरै भाडा लिन्छन्। चाडबाडका बेला यो रुटमा एक जनाको १२ सयसम्म भाडा असुलिन्छ। दिङ्ला–भोजपुर प्रतिव्यक्ति १ हजारसम्म भाडा असुल्छन्। भोजपुरदेखि दिङ्ला, धरान, चखेवासम्म ठूला र साना गाडीले आफूखुसी १ सयदेखि डेढ सयसम्म भाडा बढाएका छन्। व्यवसायीहरू यात्रुलाई प्रशासनले नै भाडा कायम गरेको दाबी गर्छन्। तीमध्ये कम्पनीमा आबद्ध नभएका व्यवसायीले आफूखुसी भाडा लिने गरेको ट्याम्के–मैयुङ यातायात प्रालिका अध्यक्ष राजन राईले बताए।

प्रतिव्यक्ति १५ सय रुपैयाँसम्म असुल्ने गरेको स्थानीय मनोज खनाल गुनासो गर्छन्। उनले भने, ‘यात्रुलाई पनि हतार हुन्छ अनि जति मनलाग्यो त्यति लिन्छन्।’ महँगो भाडा मात्र नभएर १२ सिटको ट्याक्सीमा २१ जना कोचेर बोक्ने गरेका छन्।

जिल्लामा एउटै रुट पर्मिट नभएकाले पनि ग्रामीण भेगमा भाडाको समान दर कायम गर्न असहज भएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए। ग्रामीण भेगमा दररेट कायम गरे पनि साना सवारीमा तोकिएभन्दा बढी भाडा असुलेको गुनासो कहीं कतैबाट नआएको उनले बताए। उनले रुट पर्मिट कायम गर्न यातायात व्यवस्था विभागमा पत्राचार गरेको र संशोधन भएपछि भाडाको दर समान कायम हुने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.