पूर्वआईजीपी जो साइकलमा डाँडाकाँडा चहार्छन्
सशस्त्र प्रहरीका पूर्वआईजीपी सिंहबहादुर श्रेष्ठले ए वान साइकलबाट आफ्नो साइकल यात्रा सुरु गरेका थिए। साइकलप्रेमी श्रेष्ठ साइकल चढेर देशका डाँडाकाँडा चहारेका छन्।
सशस्त्र प्रहरीका पूर्वआर्ईजीपी सिंहबहादुर श्रेष्ठले कलेज पढ्दादेखि नै साइकल चढ्दै आएका छन्। ५७ वर्षीय श्रेष्ठ साइकलमै पहाडी क्षेत्रका विभिन्न स्थान पुगेका छन्। काठमाडौं, सिनामंगलमा जन्मे-हुर्केका उनले कलेज पढ्दाताका साइकल चलाउन सुरु गरेका थिए। ‘त्यतिबेला रत्नराज्य कलेजमा पढ्थेँ,’ उनी सम्झन्छन्, ‘बिहान कलेज जान्थेँ। दिउँसो ललितपुर नगरपालिकामा काम गर्थें। काम र पढाइ दुवैतिर भ्याउन साधन चाहिएको थियो। पाँच सय रुपैयाँ हालेर ए वान कम्पनीको साइकल किनेँ।’ त्यो समयमा सामान्य मानिसले ए वान साइकल बढी चढ्थे। ‘खाली सिसा, फलाम बटुल्नेदेखि जागिर गर्नेजति सबैले प्रायः यही साइकल चलाउँथे। त्यसैले ए वान साइकललाई ‘पिउन साइकल’ पनि भन्ने गर्थे।’
त्यस समयमा साइकल चलाउनेले विभिन्न नीति–नियम मान्नुपथ्र्यो। ‘बाइक र गाडी दर्ता गरेजस्तै त्योबेला साइकल पनि दर्ता गर्नुपथ्र्यो,’ उनी सुनाउँछन्, ‘त्यस्तै, साइकलमा डाइनामो राखेको र राति बत्ती बालेकै हुनुपथ्र्यो। बत्ती नबलेको साइकल देखे पुलिसले समाउँथे। पछि बिस्तारै त्यो नियम हराउँदै गयो।’ अहिले बत्ती भएका साइकल नदेखिने उनी बताउँछन्। भन्छन्, ‘बत्ती भएका साइकल रहेछन् भने पनि रिचार्जेबल ब्याट्री प्रयोग गरेका हुन्छन्। डाइनामोको चलन त हराई नै सक्यो।’
साइकलमा टुर
श्रेष्ठले कलेज जीवनपछि सरकारी जागिर गर्ने सोच बनाए। त्यसै अनुरूप उनी नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) मा आबद्ध भए। एपीएफमा काम गर्न थालेपछि उनले साइकल चलाउन पाएनन्। करिब १० वर्षअघि उनले साइकलमा टुर निस्केका साथीलाई भेटे। ‘एक दिन अचानक डा. राजकुमार बञ्जारा र सीए हरि सिलवालसँग भेट भयो,’ उनी सम्झन्छन्, ‘साइकल चलाएर उनीहरू लाकुरी भञ्ज्याङ जाँदै रहेछन्। बाटोमा भेट भयो। साथीहरूले ‘तपार्इं पनि जाने कि ?’ भनेर सोधे। त्यसपछि मलाई पनि जोश आयो। इपिक माउन्टेनबाइक पसलबाट भाडामा लिएर उनीहरूसँगै लाकुरी भञ्ज्याङतिर लागेँ।’ साइकलमा लामो यात्राको उनको यो पहिलो अनुभव थियो। २५–३० वर्षअघि साइकल चढेका कलेजका ती दिन उनलाई याद आए। ‘पहिले चलाउने गरेको ए वान साइकलको सिट फराकिलो हुने गथ्र्यो,’ उनी भन्छन्, ‘माउन्टेनबाइकको सिट साँघुरो र साह्रो हुँदो रहेछ। घर फर्किएपछि पछाडिको भाग दुखेर दुई दिनसम्म बस्नै सकिनँ।’ लाकुरी भञ्ज्याङको साइकल यात्राले उनलाई फेरि साइकलतिर फर्कायो। ‘साइकलमा लाकुरी भञ्ज्याङ पुगेर हिमालको रेन्ज हेर्दा मलाई जादुजस्तै लागेको थियो,’ उनी भन्छन्, ‘त्यसपछि मलाई साइकलको नशा नै चढ्यो।’ त्यस दिन उनीहरू लाकुरी भञ्ज्याङ, पनौती, बनेपा हुँदै काठमाडौँ आइपुगेका थिए।
काठमाडौँ आएपछि उनले साइकल किन्ने सोच बनाए। ‘त्यतिबेला म सेना समायोजन विशेष समितिमा थिएँ,’ उनी सुनाउँछन्, ‘त्यहाँबाट पाएको भत्ताले ५२ हजार रुपैयाँमा साइकल किनेँ।’ त्यसपछि उपत्यकामा हुने विभिन्न साइकल र्यालीमा सहभागी हुन थाले। धेरैले उनलाई चिन्न थाले। अफिस आउन÷जान पनि साइकल नै प्रयोग गर्थे।
साइकल चलाएर स्वस्थ
उनी डीआईजीको पोस्टमा रहेको समय थियो। देवेन्द्र बस्नेतलगायत साथीसँग मिलेर उनले भट्टेडाँडाको रमाइलो यात्रा गरेका थिए। ‘हामी तीन–चार जना साथी मिलेर भट्टेडाँडा हुँदै मकवानपुरको ठिंगन, मकवानपुर गढी हुँदै हेटौँडासम्म पुग्यौँ,’ उनी भन्छन्, ‘अरू साथी त्यहाँबाट फर्किए तर म नारायणगढसम्म पुगेँ।’ दुई दिनमा श्रेष्ठले १ सय ७४ किलोमिटरको साइकल यात्रा तय गरेका थिए। यो यात्राले उनको जीवनमा धेरै फाइदा पुर्याएको उनी बताउँछन्। भन्छन्, ‘पहिले मलाई युरिक एसिडको समस्या थियो। घँुडाका जोर्नी दुख्थ्यो। शरीरमा भिटामिन डीको कमी थियो। त्यो यात्रापछि युरिक एसिडको समस्या हरायो। त्यहाँदेखि भिटामिनको सप्लिमेन्ट पनि लिनुपरेको छैन।’
डीआईजीका रूपमा इटहरीमा हुँदा श्रेष्ठ साइकल लिएर गएका थिए। त्यहाँ एक दिन साइकलबाट लडेर उनको ढाडमा केही समस्या देखिएको थियो। ‘मेरो ढाड कहिलेकाहीँ दुख्थ्यो,’ उनी भन्छन्, ‘त्यसपछि साथी देवेन्द्रले फुल सस्पेन्सनबाइक किन्ने सल्लाह दिए। सञ्चयकोषबाट ऋण लिएर दुई लाख रुपैयाँमा फुल सस्पेन्सन साइकल किनेँ।’ आफूले त्यो साइकल किन्दा काठमाडौँमा कमैले त्यस्तो साइकल चलाउने गरेको उनी बताउँछन्।
मनाङ–मुस्ताङ हुँदै बेनीसम्म
श्रेष्ठले गरेका रोमाञ्चक साइकल यात्रामध्ये एक हो, मनाङ साइकल यात्रा। साइकल चलाउँदै गर्दा उनको भेट दीपक श्रेष्ठसँग भएको थियो। दीपक नेपालका पुराना साइक्लिस्ट हुन्। ‘दीपकले साइकल चलाउन थालेको लामो समय भइसकेको थियो,’ उनी भन्छन्, ‘सन् १९८५ को अन्तर्राष्ट्रिय युवा वर्ष मनाउने क्रममा उनले माउन्टेनबाइकमा नेपालको यात्रा गरेका थिए।’ साइकल चलाउने क्रममै उनीहरूको भेट भएको थियो। ‘दीपकले नै मलाई वास्तविक साइकल टुर के हो ? भन्ने सिकाएका थिए,’ श्रेष्ठ भन्छन्, ‘साँघुरो, अप्ठ्यारो बाटोदेखि गल्ली–गल्लीमा साइकल चलाउन मलाई उनले नै सिकाएका हुन्।’ दीपकसँगै श्रेष्ठ कहिले नमो बुद्ध त कहिले मन्थली पुग्ने गर्थे। ‘काठमाडौँका सारा डाँडाकाँडा मलाई दीपकले नै घुमाएका हुन्,’ उनी भन्छन्।
एक पटक उनी दीपक र सुलोचनराज भण्डारीसँग साइकल बोकेर मनाङ पुगे। ‘हामीले मनाङको कोतोबाट साइकल चलाउन सुरु गर्यौँ,’ उनी सम्झन्छन्, ‘यात्रा निकै रमाइलो भएको थियो।’ मनाङका मनोरम दृश्यले आफूलाई लोभ्याए पनि साँघुरो बाटोमा साइकल चलाउन निकै डर लागेको उनी बताउँछन्। ‘तल हेर्दा कहालीलाग्दो भीर देखिन्थ्यो, कतिपय ठाउँमा ढुंगा पनि खसिरहेका हुन्थे,’ उनी सुनाउँछन्, ‘डरलाई उछिन्दै हामी तिलिचोसम्म पुग्यौँ।’ उनीहरूले तीन वटा डाँडा पार गरे। ५ हजार ३ सय २० मिटर उचाइमा रहेको काङ्ला पास र ५ हजार २ सय ४५ मिटरको मेसोकान्ता पास पार गरेका थिए। ‘हामी मेता हुँदै फु गाउँ, नार गाउँ पुगेर काङ्ला पास गरी मुस्ताङ हुँदै बेनीसम्म आइपुगेका थियौँ,’ उनी भन्छन्, ‘यो यात्रा मेरो जीवनकै अविस्मरणीय यात्रा बन्न पुग्यो।’ त्यस्तै, गत नोभेम्बरमा उनी सिन्धुलीदेखि जनकपुरसम्म साइकल यात्रामा गएका थिए। त्यहाँबाट फर्किएपछि दामन, कुलेखानी हुँदै काठमाडौँसम्म साइकल यात्रा गरे। करिब दुई हप्ताअगाडि उनी पोखरामा पनि साइक्लिङ गर्न गएका थिए।
स्वास्थ्यका लागि साइकल
साइकलले वातावरण प्रदूषण रोक्न मद्दत गर्ने श्रेष्ठ बताउँछन्। ‘साइकलमा तेल हाल्नु पर्दैन,’ उनी भन्छन्, ‘धुवाँ निस्किँदैन। जसले गर्दा प्रदूषणको खतरा हुँदैन। जति चलाए पनि हुन्छ।’ बाइक चढ्नेहरूलाई उनी अल्छी ठान्छन्। ‘बाइक चढ्ने मान्छेहरू एउटा सलाई किन्न पनि बाइक लिएर जान्छन्,’ उनी भन्छन्, ‘दिनमा सय पाइला पनि हिँड्दैनन्। त्यस्ता मान्छेमा गतिहीनता हुन्छ। त्यसैले, म तिनलाई गतिहीन मान्छे भन्छु। मान्छेको शरीर हलचल गरेन भने रोगले समात्छ। विभिन्न समस्या देखिन थाल्छन्। त्यसैले दैनिक मुभमेन्ट नगर्ने मान्छेहरू स्वास्थका दृष्टिले कमजोर हुन्छन्।’ दैनिक साइकल चढ्ने मान्छे मुटु रोगको शिकार कमै हुने उनी बताउँछन्। ‘साइकल चलाउँदा पूरै शरीरको कसरत हुने भएकाले रोगको खतरा कमै रहन्छ,’ उनी भन्छन्, ‘त्यसैले विकसित देशका मानिस साइकल चढ्न थालेका छन्।’
उपत्यकाको ट्राफिक जाम भयावह हुन्छ। यहाँ १० किलोमिटरको बाटो पार गर्न घण्टौं लाग्ने गर्छ। नेपालमा मात्र नभएर विश्वका विभिन्न विकसित देशमा पनि ट्राफिक व्यवस्थापन चुनौतीका रूपमा रहेको उनी बताउँछन्। ‘अमेरिकामा फ्री वेमा हिँड्नका लागि एउटा गाडीमा पाँच जना व्यक्ति हुनुपर्छ,’ उनी भन्छन्, ‘यदि छैनन् भने जाम भएकै बाटोमा बस्नुपर्छ। सिंगापुरमा गाडीको संख्यामा सीमा तोकिएको छ। त्यहाँ कसैले गाडी बेचे अक्सन हुन्छ। जसले बढी मूल्य तिर्छ, उसले नै गाडी चलाउन पाउँछ। गाडीमा ट्क्याक्स पनि अत्यधिक लगाइएको छ।’ नेपालमा ट्राफिक व्यवस्थापन गर्न साइकललाई प्रोत्साहन गर्नुपर्ने उनी बताउँछन्।
सुमित सुवेदी अन्नपूर्ण सम्पूर्ण (https://sampurnaweekly.com/news/2670)