स्पोर्ट्स फ्ल्यासब्याक २०१९

स्पोर्ट्स फ्ल्यासब्याक २०१९

मेसी छैटौँ पटक सर्वोत्कृष्ट 

स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनी फुटबलर लियोनल मेसीले छैटौैँ पटक वर्षको उत्कृष्ट खेलाडी चुनिएर कीर्तिमान बनाए। उनले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रदान गर्ने वर्ष खेलाडीको अवार्ड र फ्रेन्च फुटबल म्यागजिनले प्रदान गर्ने बालोन डिओर अवार्ड हात पारे। सन् २०१० देखि २०१६ सम्म दुई संस्थाले संयुक्त रूपमा बालोन डिओर अवार्ड वितरण गरेको भए पनि त्यसपछि यी अवार्ड छुट्टाछुट्टै रूपमा प्रदान गरिन्छ। यी अवार्ड प्राप्त गर्ने क्रममा यो पटक मेसीले लिभरपुलका भर्जिल भान डायक र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछि पारे। रोनाल्डोले पाँच पटक वर्ष खेलाडीको अवार्ड जितेका छन्। 

मेसी सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा पनि उत्कृष्ट खेलाडी बनेका थिए। ३२ वर्षका मेसीको टिम बार्सिलोनाले गत सिजन ला लिगाको उपाधि जितेको थियो तर च्याम्पियन्स लिगमा सेमिफाइनलबाटै बाहिरिएको थियो। गत सिजनमा बार्सिलोनका लागि ५८ खेलमा ५४ गोल गरेका उनले युरोपियन गोल्डेन बुट पनि जितेका थिए। मेसीले ला लिगामा २० वटा गोलका लागि साथीलाई पास उपलब्ध गराएका थिए। 

त्यस्तै, वर्षको उत्कृष्ट खेलाडी चुनिन नसके पनि डायकले सन् २०१९ मा यूईएफए वर्ष खेलाडीको अवार्ड भने जितेका थिए। इंग्लिस क्लब लिभरपुललाई च्याम्पिन्यस लिग फुटबलको उपाधि जिताउन मात्र होइन, उनले आफ्नो देश नेदरल्यान्ड्सलाई यूईएफए नेसन्स कपको फाइनलमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेका थिए। 

लिभरपुललाई क्लब वल्र्ड कप

सन् २०१९ मा लिभरपुलले च्याम्पियन्स लिग फुटबल र क्लब वल्र्ड कप फुटबलको उपाधि जित्यो। आठौँ पटक च्याम्पियन्स लिग उपाधि जित्ने क्रममा जुन १ मा स्पेनको मड्रिडमा भएको फाइनलमा लिभरपुलले आफ्नै देशको क्लब टोटेनह्यामलाई २–० ले हरायो।

त्यसै गरी, कतारमा २१ डिसेम्बरमा भएको फाइनलमा ब्राजिलको फ्लेमिंगो क्लबलाई १–० ले हराएर लिभरपुलले दोस्रो पटक क्लब वल्र्ड कपको उपाधि उचालेको हो। लिभरपुलले सन् २००५ मा पनि क्लब वल्र्ड कप जितेको थियो।

बराबरी भएको विश्वकप क्रिकेट फाइनल 

३० मेदेखि १४ जुलाईसम्म इंग्ल्यान्ड र वेल्समा विश्वकप क्रिकेट प्रतियोगिता भयो। घरेलु टोली इंग्ल्यान्ड र न्युजिल्यान्डबीच भएको यो प्रतियोगिताको फाइनल खेल निकै रोमाञ्चक थियो। १४ जुलाईमा लड्र्समा भएको फाइनल खेल निर्धारित ५० ओभरमा मात्र होइन, त्यसपछिको सुपरओभरमा पनि बराबरी भयो। तर, खेलमा धेरै बाउन्ड्री (चौका र छक्का ) हान्नेलाई विजेता मान्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नियमअनुसार इंग्ल्यान्डले उपाधि उचाल्यो।

यो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा आठ विकेट गुमाउँदै २ सय ४१ रन बनाएको थियो। जवाफमा इंग्ल्यान्डले पनि ५० ओभरमा सबै १० विकेट गुमाएर २ सय ४१ रन बनायो र खेल सुपरओभरमा गयो। सुपरओभरमा पनि दुवै टिमले समान १५ रन बनाए। त्यसपछि धेरै चौका हान्ने इंग्ल्यान्ड विजयी भयो। यो खेल (सुपर ओभरसहित) मा इंग्ल्यान्डले २४ चौका र दुई वटा छक्कासहित २६ वटा बाउन्ड्री हानेको थियो। न्युजिल्यान्डले भने १४ चौका र तीन छक्कासहित १७ वटा मात्र बाउन्ड्री हानेको थियो।

फाटीः सन् २०१९ का फुटबल स्टार 

सन् २०१९ मा विश्व फुटबलमा एक जना नयाँ खेलाडीको नाम चर्चामा रह्यो, अंसु  फाटी। १७ वर्षअघि अफ्रिकी देश गिनी–बिसाउमा जन्मिएका फाटीले गत २५ अगस्टमा १६ वर्ष २ सय ९८ दिनको उमेरमा ला लिगा डेब्यू गरे, रियल बेटिसविरुद्ध। बार्सिलोना क्लबका उनले १६ वर्ष ३ सय ४ दिनको उमेरमा अगस्ट ३१ मा ला लिगामा पहिलो गोल गरे, ओसासुन्नाविरुद्ध।

बार्सिलोनाका लागि ला लिगामा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका उनी सबैभन्दा कम उमेरमा च्याम्पियन्स लिग खेल्ने खेलाडी बने। १६ वर्ष ३ सय ४ दिनको उमेरमा १७ सेप्टेम्बरमा उनले च्याम्पियन्स लिग खेले। 

यो वर्ष नै सिनियर टिममा स्थान बनाएका फाटीलाई सेप्टेम्बर २० मा स्पेनले नागरिकता प्रदान गरेकोे छ। उनीसँग आफू जन्मेको गिनी–बिसाउ र हजुरआमा–हजुरबुबको देश पोर्चुगलको राष्ट्रिय टोलीबाट पनि खेल्न पाउने अधिकार थियो।  उनले स्पेन रोजे। नागरिकतासँगै स्पेनले उनलाई २१ वर्षमुनिको टिमबाट डेब्यू गर्ने मौका दिइसकेको छ। 

फाटीका लागि सन् २०१९ अविस्मरणीय वर्ष बन्यो। तर, उनको सफलताका पछाडि उनले र परिवारले धेरै कठिनाइ भोगेका छन्। उनका बाबु बोरी फुटबलर नै हुन्। उनले पोर्चुगलमा बसाइँ सरेपछि एउटा फुटबल टिम बनाएका थिए। उनको टिमले पोर्चुगलको तल्लो श्रेणीको क्लबबाट खेलेको थियो। 

दक्षिणी स्पेनको अन्डुलेसिएन समुदायले मेरिनालेडा स्वायत्त घोषणा गरेर आप्रवासीलाई काम दिन लागेको समाचार सुनेपछि बोरी पोर्चुगल छाडेर त्यहाँ पुगे। सडकमा भीख माग्ने क्रममा बोरीको मेरिनालेडा नगरका मेयरसँग भेट भयो। मेयरले उनलाई आफ्नो गाडी चालक बनाए। बोरी स्पेनको सेभियामा बसोबास गर्न थाले र परिवारलाई पनि आफूसँगै राखे। 

गिनी–बिसाउमा जन्मेका फाटी आफ्ना दाजुसँगै सेभिया पुगे। उनले आफ्ना पितालाई जहिले पनि फुटबल खेल्न लैजानू भनेर पिरोल्थे। छोराले बारम्बार फुटबल खेल्ने भनेपछि बोरीले एक दिन फाटीलाई नगरपालिकाको मैदानमा लगे र भने ‘थकाइ नलागुञ्जेल खेल्नू र घर आउनू।’ छोरालाई फुटबल मैदानमा छाडेर काममा गएका बोरी बेलुका फर्कंदा घरमा भीड थियो। भीड देखेर उनी के भयो भनेर हस्याङफस्याङ गर्दै घरभित्र छिरे। बोरीले थाहा पाए, फाटीले नगरपालिकाको मैदानमा फुटबल खेलेको स्पेनिस क्लब सेभियाका निर्देशकले देखेछन् र उनलाई खोज्दै घर आएका रहेछन्। त्यसैले उनको घरमा भीड लागेको रहेछ। ती निर्देशकले बोरीलाई भने, ‘फाटीलाई लिएर भोलि मैदानमा आउनू।’ 

अर्को दिन फाटीलाई लिएर बोरी मैदानमा पुगे। छोराको खेल देखेर चकित भए। त्यसपछि सेभियाले फाटी र उनका दाइ ब्रेइमालाई युथ एकेडेमीमा राखेर फुटबल प्रशिक्षण दियो। फाटीले सेभियामा नियमित प्रशिक्षण मात्र गरेनन्, क्लबलाई उमेर समूहका आठ वटा उपाधि पनि दिलाए। 

फाटीको क्षमता देखेर सेभियाले उनलाई सधैँका लागि सम्झौता गर्ने तयारी गरेको थियो। सेभिया चाहन्थ्यो, फाटीमाथि बार्सिलोना र रियल मड्रिडको नजर नपरोस्। तर, त्यो सम्भव भएन। दुवै क्लवले फाटीको चर्चा सुने र आफ्नो एकेडेमीमा ल्याउन प्रयास गरे। जसमा बार्सिलोना युथ एकेडेमीका कोअर्डिनेटर अल्बर्ट पुइगले फाटीको मन जिते। र, उनी १० वर्षको उमेरमा बार्सिलोना पुगे। बार्सिलोनाको युथ टिममा उनले सनसनी नै मच्चाए। एक सिजनमा उनले ५६ गोल गरे। छ वर्ष बार्सिलोनाको युथ एकेडेमीमा बिताएका उनले यसै वर्ष व्यावसायिक सम्झौता गरेर सिनियर टिममा स्थान बनाएर चर्चा कमाएका हुन्। 

इब्राहिमोभिचको सालिकको नाक काटियो 

स्विडेनको माल्मो रंगशालाअगाडि राखिएको स्टार फुटबलर ज्लाटन इब्राहिमोभिचको सालिकमाथि हुल्याहा समर्थकले आफ्नो रिस पोखेका थिए। यसै वर्षको नोभेम्बर २७ मा आक्रोशित समर्थकले उनको सालिकको नाक काटिदिएका छन्। ३८ वर्षीय स्ट्राइकरको सालिकको कसले काट्यो भन्ने विषयमा स्थानीय प्रहरीले खोजी गरिरहेको छ। 

यसअघि पनि इब्राहिमोभिचको सालिकमाथि हुल्याहा समर्थकले दुव्र्यवहार गरेका थिए। माल्मो क्लबका समर्थकले आफ्नो चिरप्रतिद्वन्द्वी क्लब ह्यामरबीमा इब्राहिमोभिचले लगानी गर्न लागेको समाचार सार्वजनिक भएपछि उनको सालिकमाथि रिस पोखेका थिए। 

इब्राहिमोभिचले २० वर्षअघि माल्मोबाटै आफ्नो व्यावसायिक खेल जीवन सुरु गरेका थिए। सन् १९९९ मा माल्मोमा आबद्ध भएका उनले सन् २००१ सम्म त्यहाँबाट खेलेका थिए। माल्मोबाट ४० खेल खेल्दै उनले १६ गोल पनि गरेका थिए। त्यसपछि उनी डच क्लब आयाक्समा आबद्ध भएका थिए।

आफ्ना उटपट्याङ र आक्रामक व्यवहारका कारण मैदानमा सधँै चर्चित रहने इब्राहिमोभिच क्षमतावान् खेलाडी हुन्। उनले इटाली, स्पेन, फ्रान्स र इंग्ल्यान्डबाट क्लबहरूबाट व्यावसायिक फुटबल खेलिसकेका छन्।

यतिबेला उनी अमेरिकाको मेजर लिग सकर क्लब लस एन्जलस ग्यालेक्सीमा आबद्ध छन्। उनले एलए ग्यालेक्सीका लागि ५६ खेल खेल्दै ५२ गोल गरिसकेका छन्। उनले यही सिजनदेखि एलए ग्यालेक्सी छाड्ने पनि निश्चित भइसकेको छ। पछिल्लो समय उनी नयाँ क्लबको खोजीमा छन्। उनले सन् २००१ देखि सन् २०१६ सम्म स्विडेनको राष्ट्रिय टोलीबाट पनि खेलेका थिए। यस बीचमा उनले राष्ट्रिय टोलीका लागि १ सय १६ खेल खेल्दै ६२ गोल गरेका थिए।

इब्राहिमोभिचको सालिक बनाउने कलाकार पिटर लिन्डेले कसैको पनि सालिकमाथि रिस पोख्नु अशोभनीय ब्यवहार भएको बताएका थिए। उनले समर्थकहरूसँग उनको सालिकमाथि रिस नपोख्न पनि अनुरोध गरेका थिए। गत नोभेम्बर २७ मा उनले ह्यामरबीको २५ प्रतिशत सेयर खरिद गर्ने घोषणा गरेका थिए। त्यसपछि नै उनको पुरानो क्लब माल्मोका समर्थक रुष्ट बनेका थिए। 

इब्राहिमोभिचले ह्यामरबीको सेयर खरिद गर्ने घोषणा गरेको दिन उनको सालिकमाथि आक्रोशित समर्थकले रङ पोतिदिएका थिए र सालिकको नाक काटिदिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.