प्रसूति गृह र स्वास्थ्य चौकीमा कर्मचारी अभाव
ओखलढुंगा : सुनकोशी गाउँपालिकाको १ को बलखु स्वास्थ्य चौकी र प्रसूति गृहमा कर्मचारी अभाव भएको छ । स्वास्थ्य संस्थामा दरबन्दी तोकिए पनि कर्मचारी नहुँदा विरामीको उपचारमा समस्या भएको छ । स्वास्थ्य चौकीमा सामान्यतः अनमी, अहेव, हेल्थ असिस्टेन्स गरि ३ जना र प्रसूति गृहमा तालिम प्राप्त दुईजना नर्सिङ्ग कर्मचारी हुनुपर्छ । तर, बलखुमा एकजना करारका कर्मचारीको भरमा चलेको छ।
तीन महिनादेखि स्वास्थ्य संस्था एकजना करार कर्मचारीको भरमा चलेको हो । तीनजना कर्मचारी समायोजन भई अन्यत्र गए पछि करारकी स्वास्थ्यकर्मी शशि ढकालले स्वास्थ्य चौकी र प्रसूतिगृह धानीरहेकी छिन् । प्रसूति गृह २४ सै घण्टा संचालन गर्नुपर्छ ।
रिक्त पदमा नयाँ कर्मचारी नआउँदा ०७६ असोजदेखि स्वास्थ्य चौकीमा बिरामी जाच्ने, औषधि दिने र प्रसूति गराउने काम एक्लैले धान्नु परेको ढकालले गुनासो गरिन् । प्रसूति गराउन दक्ष सहयोगी आवश्यक पर्ने भएपनि जोखिमपूर्ण अवस्थामा सेवा प्रवाह गर्दै आएको उनको भनाइ छ।
प्रसूति गराउँदा अत्याधिक रक्त श्राव हुने, सुत्केरी बेहोस हुने जस्ता समस्या आउँदा स्वास्थ्यकर्मीलाई झनै समस्या हुने गरेको छ । उनले भनिन्, 'बच्चा जन्मेपछि अत्याधिक रक्तश्राव भयो भने मलाई धेरै गाह्रो हुन्छ।'
एक्लै हुँदाको पीडा उनले यसरी सुनाइन्, 'एकदिन हात काटेको बिरामीको घाउ स्टिच गर्न आधा छोडेर प्रसूति गृहमा रहेकी महिलालाई प्रसूति गराउन दौडनुपर्यो, निकै चुनौति छ ।'
स्वास्थ्यकर्मी व्यवस्थापन गरिदिन उनले गाउँपालिकासँग अनुरोध गरिन् । स्वास्थ्यकर्मी नभएकै कारण हरेक महिना बलखु स्वास्थ्य चौकीबाट वडाका तीन ठाउँमा सञ्चालन हुँदै आएको गाउँघर क्लिनिक अहिले बन्द भएको छ । तीन महिनादेखि कर्मचारी नहुँदा क्लिनिक बन्द भएको हो ।
क्लिनिक सञ्चालन नहुँदा परिवार नियोजन, नियमित खोप तथा घर गाउँमै औषधि पाउने सेवाग्राहीले सेवा पाएका छैनन् । स्वास्थ्य चौकीमा दैनिक १५-२० जना बिरामी उपचारका लागि आउने गरेको अभिलेख छ । महिनौदेखि स्वास्थ्य चौकीमा कर्मचारी अभाव हुँदा पनि जनप्रतिनिधिले पहल नगरेको स्थानीयको आरोप छ । जनप्रतिनिधिको वेवास्ताले नागरिक सेवाबाट बञ्चित भएको स्थानीय शेरबहादुर राईले आरोप लगाए।
गाउँपालिकामा समायोजन भएका कर्मचारी समयमै नआएका कारण समस्या भएको भन्दै गाउँपालिका पन्छिने गरेको छ । गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले समायोजन भएर आएका स्वास्थ्यकर्मीको संख्या कम रहेको र भएका सरुवा भएपछि समस्या भएको बताए ।
समायोजन भएपनि हाजिर हुन आएका छैनन् । जनप्रतिनिधि मन्त्रालयको लापरवाही भएको भन्दै पन्छिने गरेको छ । स्वास्थ्य मन्त्रालयको चरम लापरवाहीका कारण जनताले सास्ती भोग्नु परेको अध्यक्ष अधिकारीको आरोप छ । बलखुका अतिरिक्त गाउँपालिकामा रहेका पाँचवटा स्वास्थ्य चौकी र चारवटा प्रसूति गृहमा स्वास्थ्यकर्मीको अभाव छ।