प्रदेशका आयोग ठप्प

प्रदेशका आयोग ठप्प

 जनकपुरधाम प्रदेश २ सरकारद्वारा गठित विभिन्न आयोग ठप्प भएका छन् । पदाधिकारी, कर्मचारी, ऐनकानुन र भौतिक पूर्वाधार अभावले आयोग कामविहीन बनेका हुन् । नीति तथा योजना आयोगका उपाध्यक्ष डा. हरिवंश झालाई प्रदेश सरकारले २०७६ भदौ २२ गते बर्खास्त गर्‍यो । उनको ठाउँमा डा. भोगेन्द्रकुमार झा नियुक्त भएका छन् । हरिवंशलाई हटाएको एक महिना नबित्दै प्रदेश सरकारले आयोगका चारै सदस्य हटाएको थियो । चार महिनासम्म पदाधिकारी नहुँदा नीति आयोगलाई कार्यसम्पादनमा समस्या भएको छ । उपाध्यक्ष झालाई एक्लै आयोगका काम सम्हाल्न हम्मे परेको छ । आयोगमा कर्मचारी पनि छैनन् । एकजना उपसचिव र दुईजना कर्मचारीका भरमा जेनतेन काम भइरहेको उपाध्यक्ष झा बताउँछन् । ‘पदाधिकारी चयन नहुँदा गाह्रो भएको छ’, झाले भने, ‘मैले सरकारसँग पदाधिकारी र कर्मचारी गरेको छु । चाँडै पदपूर्ति हुने आश्वासन पाएको छु ।’ आयोगमा ४९ जना कर्मचारी दरबन्दी छ ।

हाल तीनजना मात्र कार्यरत छन् । प्रदेश २ मन्त्रिपरिषद्को ६ वैशाख २०७५ मा बसेको बैठकले डा. झालाई आयोग उपाध्यक्ष र सदस्यमा मोहनलाल चौधरीलाई नियुक्त गरेको थियो । तीन पदाधिकारीको नियुक्तिको ६ महिनापछि दुईजना र त्यसको ६ महिनापछि एकजनाको नियुक्ति गरिएको थियो । राजपा सिफारिसमा राजपाकै केन्द्रीय सहमहामन्त्री डा. सुरेन्द्रकुमार झा र महासचिव राजकुमार लेखी आयोग सदस्यमा नियुक्ति भएका थिए । यस्तै समाजवादी पार्टीनिकट डा. वैद्यनाथ महतोलाई आयोग सदस्यमा नियुक्ति गरियो । हरिवंश झा उपाध्यक्ष भई पूर्णता पाएको नीति आयोगमा चार महिना नबित्दै फेरि फेरबदल भयो । उपाध्यक्षमा डा. भोगेन्द्र झालाई शपथ ग्रहण गराएको एक महिना नबित्दै पुराना चार सदस्यलाई पनि सरकारले हटाएको थियो । पुराना सदस्य हटाए पनि नयाँ नियुक्त भएका छैनन् ।

पदाधिकारी र कर्मचारी अभावमा आयोगले महत्वपूर्ण काम गरेको झा बताउँछन् । पहिलो पञ्चवर्षीय योजनाको आधारपत्र तयार गरिएको उनले जानकारी गराए । प्रदेशको ‘डेमोग्राफिक प्रोफाइल’ पनि तयार गरिएको छ । यसका साथै आयोगले प्रोजेक्ट बैंक बनाउने काम गरिरहेको उपाध्यक्ष झाले बताए । जसमा पर्यटन, उद्योग र कृषिसम्बन्धी योजना संकलन भइसकेको छ । भौतिक, पूर्वाधारलगायतका योजनातर्फ पनि काम भइरहेको उनले बताए । प्रदेश लोकसेवा आयोग पनि समस्यामा छ । कर्मचारी तथा विज्ञ अभाव र कानुनी जटिलताले आयोगको कामकारबाही प्रभावकारी बनाउन सकिएको छैन ।

२०७६ भदौ २२ गते प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा सुरेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका थिए । उनी नियुक्त भएको दुई महिनापछि महारुद्र झा र डा. सुजाता देव सदस्यमा नियुक्त भए । लोकसेवा आयोग गठन भए पनि कर्मचारीको पद स्वीकृत नभएको हुँदा विभिन्न मन्त्रालयबाट काजमा १३ जना कर्मचारी कार्यरत छन् । आयोगको कार्यसम्पादनका लागि ७० जना कर्मचारी चाहिने अधिकृत गंगेश झा बताउँछन् । झा भन्छन्, ‘आयोगको प्रस्तावित सञ्चालन र मर्मतको आवश्यक कारबाही तथा स्वीकृतिका लागि सम्बन्धित कागजातसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अनुरोध गरेका छौं ।’

आयोगलाई काममा ल्याउन कार्यविधि ऐन, २०७६ तथा प्रदेश लोक सेवा आयोग नियमावली २०७६ निर्माण गर्न मुख्यमन्त्री कार्यालयमार्फत आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अनुरोध गरिएको झाले बताए । उनले भने, ‘कानुनी जटिलता समाप्त भएपछि मात्र प्रदेश तथा स्थानीय तहका रिक्त पदमा विज्ञापन गर्न आयोग सक्षम हुनेछ ।’ ००० प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र यादव र प्रदेश नीति अयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा । अन्नपूर्ण । प्रदेश २ नीति अयोग ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.