प्रादेशिक अस्पतालमा चिकित्सक अभाव
जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरधाममा बिरामीको संख्या दैनिक बढ्दै गएको छ तर चिकित्सकको भने अभाव छ। केही दिनयता जारी शीतलहर र अत्यधिक जाडोले अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको भए पनि पर्याप्त संख्यामा चिकित्सक नहुँदा उपचार पाउन नसकेको गुनासो बिरामीका आफन्तले गरेका छन्।
बिरामीको चापअनुसार चिकित्सक छैनन्। मौसम फेरिएसँगै रुघाखोकी, ज्वरो, झाडापखाला, दम, निमोनियालगायत विभिन्न रोगको संक्रमण बढेको प्रादेशिक अस्पतालका चिकित्सक डा. जामुन सिंहले बताए। ‘अत्यधिक जाडोले गर्दा विशेष खालका बिरामी आउँछन्। जस्तो रोटा भाइरसबाट लाग्ने कोल्ड डायरिया (झाडापखाला), सिरियस निमोनिया, खोकीजस्ता बिरामीको संख्या अत्यधिक बढेको छ,’ उनले भने, ‘तीमध्ये पनि धेरैजसो कठ्यांग्रिँदो शीतलहर तथा चिसोले सर्वसाधारण घरछेउ आगो ताप्न बस्दा पोलेर आउनेको संख्या एक दर्जनभन्दा बढी छ।’
प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नागेन्द्र यादवले दैनिक ४ सयभन्दा बढी बिरामी आइरहेको तर चिकित्सकको अभाव रहेको बताए। बिरामी बढे पनि अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी र प्रमुख कन्सल्ट्यान्ट डाक्टरको अभावले उपचारमा समस्या भएको उनले बताए।
बिरामीको चाप बढेपछि ओपीडीमा जँचाउन बिहानदेखि बेलुकासम्मै लाइनमा बस्नु परेको महोत्तरी गौशाला नगरपालिका–१ की सृजना सिंहले बताइन्। उनले भनिन्, ‘बिहानदेखि लाइन लागियो, अन्तिममा जँचाइयो। त्यो पनि सम्बन्धित विभागको डाक्टरसँग जँचाउन पाइएन।’ उनका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सक समयमै पाउन मुस्किल हुन्छ।
अस्पताल प्रमुख डा. यादवले दरबन्दीअनुसार डाक्टर नहुँदा उपचारमा समस्या आएको स्विकारे। दरबन्दीअनुसार चिकित्सक पठाउन संघीय र प्रदेश सरकारसँग माग गरे पनि सुनुवाइ नभएको उनले बताए। उनले भने, ‘दुई सय बेड भएको अस्पतालमा हामीले चार सय बिरामी राख्नुपर्छ। अहिले त अझ धेरै विभाग थपिएका छन् तर चिकित्सक थपिएका छैनन्।’
‘मानिस राम्रो उपचार सेवा खोज्छन् तर हामीसँग पर्याप्त डाक्टर र जनशक्तिको कमी छ,’ मेडिकल सुपरिन्टेन्डेन्ट डा. नागेन्द्रले भने, ‘समयअनुसार डाक्टर र सेवाको माग बढ्यो तर गुणस्तरीय सेवाका लागि चाहिने जनशक्तिदेखि भौतिक पूर्वाधार तयार भएन। हामी समयसापेक्ष सुविधा होस् भन्ने चाहन्छौं तर हामीले चाहेर मात्र केही हुँदैन।’