नक्कली चुरोट बेच्ने पक्राउ
जनकपुरधाम : सूर्य नेपाल कम्पनीको नक्कली चुरोट बेच्ने एक पसलेलाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरीको बलबा नगरपालिका—२ घर भई हाल जनकपुरधाम-८ बस्ने रमेशकुमार साहलाई पक्राउ गरिएको हो।
जनकपुरको रामानन्द चोकस्थित साहको पसलबाट ८ बट्टा सूर्य चुरोटसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका इन्सपेक्टर उमाशंकर साहले जानकारी गराएका छन्। नक्कली चुरोट बेचेर आन्तरिक राजस्व छलेको अभियोगमा उनलाई पक्राउ गरिएको साहले जानकारी गराएका छन्।
पछिल्लो समय भारतीय नाकाबाट अवैद्य रुपमा नक्कली चुरोट नेपाल भित्र्याएर सीमा बजारमा बिक्रि वितरणको क्रम निकै बढेको जनकपुर भन्सार कार्यालयका प्रमुख रामेश्वर झा बताउँछन्। चालु आर्थिक वर्षमा मात्रै भारतीय नाका हुँदै २० करोड भन्दा बढि रकम बराबरको सूर्तिजन्य पदार्थ नेपाल भित्र्याइएको स्रोतको दाबी छ।
नेपाली बजारमा निकै चर्चित खुकुरी र शिखर चुरोटको नक्कल गरी सीमावर्ती भारतीय बजारमा नक्कली चुरोटहरु बनाएर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिरहा बजारमा बिक्रि गरिएको छ। तस्करहरुले खुल्ला सिमानाको फाइदा उठाएर नक्कली चुरोट बलेकियाहरु (अवैद्य सामान ओसार पोसार गर्ने व्यक्ति) मार्फत सीमाक्षेत्रमा बजारमा बिक्रि गरिरहेका छन्। नेपाली बजारलाई नै लक्षित गरि निर्माण गरिएका नक्कली चुरोटको बट्टा हेर्दा खुकुरी र शिखर ब्राण्डको झै देखिए पनि यसमा कम्पनीको स्टीकर भने हुदैन्।