केके भएका थिए इतिहासमा यो साता ?

केके भएका थिए इतिहासमा यो साता ?

जनवरी २

अश्वेत अमेरिकीहरूको हक–अधिकारका पैरवीकर्ता मार्टिन लुथर किङ जुनियरले सन् १९६५ को जनवरी २ मा अमेरिकाको दक्षिणी राज्य अलाबामामा बसोबास गर्ने अश्वेत जातिका मतदाताहरूको नामावली संकलन गर्ने घोषणा गरे। अलाबामाको सेल्मा शहरबाट मोन्टगोमेरी शहरसम्म नामावली संकलन गर्ने अभियान उनको नेतृत्वमा सुरु भयो। अमेरिकाका अश्वेतहरूले मताधिकार पाएका भए पनि अधिकार उपभोग गर्ने वातावरण त्यतिबेला बनिसकेको थिएन। तसर्थ मताधिकार उपभोग गर्ने वातावरण बनाउन उनले अभियान सुरु गरेका थिए। अभियान सुरु भएपछि स्थानीय अधिकारी र अतिवादी श्वेत समुदायका हुल्याहा समूहहरूले अश्वेतको हक–अधिकारको पक्षमा भएको र्‍यालीमाथि ठाउँ–ठाउँमा आक्रमण गरे। तर, केन्द्र सरकारको सुरक्षा घेरामा र्‍याली अघि बढ्यो। यस क्रममा हजारौँ अश्वेत मतदाताको नाम संकलन गरियो। यस घटनाबाट अमेरिकी अश्वेतहरू प्रजातान्त्रिक अधिकारबाट अझै वञ्चित रहेछन् भन्ने तथ्यको अन्तर्राष्ट्रीयकरण भयो। 

जनवरी ३

सन् १९६१ को जनवरी ३ मा अमेरिकाले क्युबासँग दौत्य सम्बन्ध खारेज गर्‍यो। करिब दुई वर्षअघि सन् १९५९ मा फिडेल क्यास्ट्रो नेतृत्वको शक्तिले क्युबामा सत्ता कब्जा गरेपछि अमेरिका–क्युबा सम्बन्ध बिग्रिन थालेको थियो। अन्ततः सन् १९६१ को जनवरी ३ मा अमेरिकी राष्ट्रपति आइजनहावरले क्युबाको राजधानी हवानास्थित अमेरिकी दूतावास बन्द भएको र क्युबासँग अमेरिकाको सबै खालका सम्बन्ध समाप्त भएको घोषणा गरे। त्यसअघि क्युबा सरकारले हवानास्थित अमेरिकी दूतावासमा कार्यरत कर्मचारीको संख्या कटौती गर्नुपर्ने माग राखेपछि रुष्ट भएको अमेरिकाले दौत्य सम्बन्ध खारेज गरेको थियो। क्यास्ट्रो त्यतिबेलासम्म कम्युनिस्ट थिएनन्। तर, अमेरिकाले भने उनलाई कम्युनिस्ट देख्थ्यो। सोभियत संघको प्रोत्साहनमा क्युबाले सोभियत संघका सेनालाई पश्चिमी गोलाद्र्धमा उतारेर अमरिकामाथि सुरक्षा चुनौती सिर्जना गर्न खोजेको अमेरिकी ठम्याइ थियो। त्यसैले क्युबामाथि दबाब सिर्जना गर्न भनेर अमेरिकाले दौत्य सम्बन्ध खारेज गरेको थियो।   

जनवरी ४

सन् १६४२ को जनवरी ४ मा बेलायतका राजा चाल्र्स प्रथमले बेलायती संसद्विरुद्ध सैन्य हस्तक्षेप गरेका थिए। त्यसअघि संसद्ले राजाको अधिकार कटौती गर्ने ऐन पास गरेको थियो। यसबाट संसद्–राजा सम्बन्ध बिग्रिएको थियो। खास गरी, बेलायती संसद् ‘हाउस अफ कमन्स’का पाँच सदस्यसँग राजा रुष्ट थिए। उनले चार सय सैनिकलाई साथमा लिएर जनवरी ४ मा बेलायती संसद्भित्र बलपूर्वक पसेर वितण्डा मच्चाए। सभामुखसँग उनले आफूले खोजी गरिरहेका पाँच सांसद् कहाँ छन् भनेर सोधे। जवाफमा सभामुख विलियम लेन्थलले भने, ‘म संसद्को नोकर हुँ। उनीहरू कहाँ छन् भनेर देख्ने आँखा मसँग छैन, न भन्ने मुख नै छ।’ यसो भनेर उनले आफू राजाप्रति नभई संसद्प्रति उत्तरदायी भएको भनाइ राखे। सो घटनापछि बेलायतमा राजावादी र संसद्वादीबीच गृहयुद्ध सुरु भयो। 

जनवरी ५

सन् १९१९ को जनवरी ५ मा जर्मनीमा मजदुर र किसानहरूको पक्षमा संघर्ष गर्न भनेर जर्मन वर्कर्स पार्टी गठन भयो। सो पार्टी एक वर्षसम्म मात्रै अस्तित्वमा रह्यो। नाजीहरूले जर्मन वर्कर्स पार्टीबाट राजनीतिक उत्पे्ररणा र वैचारिक मार्गचित्र प्राप्त गरेको थिए। जर्मन वर्कर्स पार्टी गठन हुँदा हिटलर जर्मनीको सुरक्षा संयन्त्रमा गुप्तचरको हैसियतले आबद्ध थिए। उनलाई राज्यले नवगठित जर्मन वर्कर्स पार्टीभित्र घुसपैठ गरेर सूचना ल्याउने जिम्मा दिएको थियो। यसै प्रयोजनका लागि उनी पार्टीको सदस्य बने। तर, पार्टीका अध्यक्ष एन्टोन ड्रेक्सलरको यहुदी, पुँजीवाद र माक्र्सवादविरोधी विचारधाराबाट प्रभावित भई अनुयायी बने। अन्त्यमा नाजी पार्टी गठन गरेर उनले जर्मन वर्कर्स पार्टीको विचारधारालाई व्यापक बनाए। 

जनवरी ६ 

सन् १८४२ को जनवरी ६ मा बेलायतले अफगानिस्तानमा तैनाथ आफ्ना सैनिकलाई फिर्ता बोलाएको थियो। पहिलो अंग्रेज–अफगान युद्धका क्रममा बेलायती फौजले राजधानी काबुलमा विजय हासिल गरेको थियो। अफगानिस्तानका अमिर दोस्त मोहम्मद बाराक्जाईको फौजलाई पराजित गर्न बेलायती फौज सफल भएको थियो। उनको ठाउँमा बेलायतप्रति बफादार शाह सुझा दुरानीलाई बेलायतले अफगानिस्तानको नयाँ शासक बनायो। तर, केही महिनापछि अफगानिस्तानमा ठूलो जनविद्रोह भयो। काबुलका विद्रोही र आम जनता बेलायती सैनिकविरुद्ध जाइलागेपछि टिक्न नसकेर ४५ सय बेलायती फौजलाई फिर्ता बोलाइयो। उनीहरू भारतस्थित आफ्नो उपनिवेशतिर फर्किए। तर, बाटोमै अफगानहरूले उनीहरूको हत्या गरिदिए।

जनवरी ७ 

सन् १६९८ को जनवरी ७ मा रुसी शासक जार पिटर पश्चिम युरोप भ्रमणका क्रममा नेदरल्यान्ड्सबाट बेलायततिर लागे। टर्कीको अटोमन सम्राज्यसँग निर्णायक युद्ध गर्ने तयारीमा रहेका उनी यसका लागि युरोपेली राष्ट्रको सहयोग र सद्भाव जुटाउन युरोप भ्रमणमा निस्किएका थिए। यसै क्रममा नेदरल्यान्ड्स पुगेका पिटरले बेलायती राजा विलियमको निम्तो पाए। त्यसपछि बेलायततिर लागे। उनको यो भ्रमण फलदायी सिद्ध भयो। भ्रमणबाट रुसले युरोपेली राष्ट्रहरूको समर्थन हासिल गर्‍यो। त्यस्तै, प्रविधिमा अगाडि रहेको पश्चिम युरोपले सैन्यलगायत क्षेत्रमा गरेको विकासले पिटरलाई प्रभावित गर्‍यो। रुस फर्किएर उनले आफ्नो मुलुकको आधुनिकीकरण गर्ने प्रयास गरे। उनको यो भ्रमणले रुसको भौतिक र फौजी विकासमा टेवा पुर्‍यायो। 

जनवरी ८

सन् १७४५ को जनवरी ८ मा प्रसिया (जर्मनी) विरुद्ध बेलायत, अस्ट्रिया, नेदरल्यान्ड्स र स्याक्सोनी गोलबन्द भए। यही मितिमा उनीहरूले प्रसियालाई हानि पुर्‍याउने उद्देश्यले सन्धिसमेत गरे। अहिले पोल्यान्डको राजधानी रहेको वार्सा शहरमा सन्धि गरिएको थियो। त्यसैले यसलाई इतिहासमा वार्सा सन्धि पनि भनिन्छ। प्रसियाले बलजफती गाभेको सिलेसिया क्षेत्रलाई पुनः हत्याउने, उसलाई शक्तिहीन बनाउने, प्रसियाविरुद्ध लड्न अस्ट्रियालाई अन्य मुलुकले सहयोग गर्नेजस्ता प्रावधान सन्धिमा थिए। सन्धिबाट बेलायतले अहिलेको जर्मनी आसपासका क्षेत्रमा सक्रिय हुने अवसर पायो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.