‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ : विजेतालाई टोयोटा कार र १० तोला सुन
काठमाडौं ( अन्नपूर्ण) : ‘मेरो डान्स कप’को चौथो सिजन र ‘मेरो भ्वाइस कप’को दोस्रो सिजनको औपचारिक घोषणा गरिएको छ । अमेरिकाको ओहोयास्थित एक्रोनमा जनवरी ४ मा ग्रान्ड ओपनिङ हुने ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’को बारेमा बिहीबार राजधानीमा एक कार्यक्रमबीच जानकारी गराइयो । ‘मेरो डान्स कप’मा अभिनेत्री केकी अधिकारी र ‘मेरो भ्वाइस कप’मा गायक प्रमोद खरेल निर्णायक रहनेछन् ।
नृत्य र गायनमा रुचि हुने नवप्रतिभालाई अवसर दिने उद्देश्यले आयोजना गर्न लागिएका यी दुई रियालिटी सोको अमेरिकाका विभिन्न सहरमा अडिसन हुने अभिनेत्री केकी अधिकारीले जानकारी दिइन् । अडिसनबाट छानिएका २० जना नवप्रतिभाले यस रियालिटी सोमा सहभागिता जनाउन पाउने उनको भनाइ छ । ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’का विजेताले टोयोटा कार र १० तोला सुन प्राप्त गर्नेछन् ।
त्यस्तै दोस्रो हुने विजेताले गोल्डेन कपसँगै आकर्षक उपहार पाउनेछन् भने तेस्रो हुनेले एउटा सिल्भर कप र आकर्षक उपहार पाउने आयोजक सदस्यमध्येकी अभिनेत्री रीमा विश्वकर्माले जानकारी दिइन् । ‘इन्टरनेसनल होम केयर’का सञ्चालक डिल्ली अधिकारीको आयोजनामा ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’हुन लागेको हो । नृत्य र गायनमा रुचि हुनेका लागि यो रियालिटी सो ओपन प्लाटफर्म रहेको अभिनेत्री केकी बताउँछिन् ।
‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’को उद्घाटन कार्यक्रममा सहभागी हुन बिहीबार साँझ अमेरिका प्रस्थान गर्न लागेकी उनले नयाँ प्रतिभालाई अवसर र कलासंस्कृति जोगाउने हिसाबले यो रियालिटी सो आयोजना हुँदै आएको बताइन् । उनी ‘मेरो डान्स कप’को दोस्रो र तेस्रो सिजनमा पनि निर्णायकको भूमिकामा थिइन् । दुवै रियालिटी सोको ग्रान्ड फिनाले अगस्टमा हुनेछ ।
‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’को उद्घाटन कार्यक्रममा नेपाली फिल्म र सांगीतिक क्षेत्रका चर्चित व्यक्तिको उपस्थिति रहने बताइएको छ । सन्दीप क्षेत्री, बाबु बोगटी, दिलीप रायमाझी, सुशील क्षेत्री, सारंगा श्रेष्ठ, मेलिना मानन्धर, अरुणिमा लम्साल, शिव परियार, अञ्जु पन्तलगायत ३० भन्दा बढी फिल्म र संगीत क्षेत्रका व्यक्तिकोे उपस्थिति रहने कार्यक्रममा जानकारी गराइयो ।
अभिनेत्री केकी ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’को उद्घाटन कार्यक्रममा सहभागी हुन बिहीबार अमेरिका प्रस्थान गर्न लागेको भए पनि गायक प्रमोद खरेल भने केही समयपछि मात्र अमेरिका जानेछन् । गायक खरेलले विदेशी भूमिमा यस खालका कार्यक्रम हुनु एकदमै राम्रो रहेको बताए ।