हतियारसहित दुई शिकारी पक्राउ
धरान : चारकोसे जंगलमा हरिण र बँदेलको शिकार खेल्न गएका दुई शिकारी पक्राउ परेका छन् । शुक्रबार हतियारसहित वन्यजन्तुको शिकार खेल्न जंगल प्रवेश गरेका उनीहरुलाई सशस्त्र प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थित चारकोसे जंगलबाट हतियारसहित पक्राउ गरेको हो।
बरुवा बन्दुकसहित शिकार खेल्न जंगल प्रवेश गरेसँगै इलाका वन कार्यालय र सशस्त्र प्रहरी बेस क्याम्प चतराबाट गएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बराहक्षेत्र-३ भरौलका का ४५ वर्षीय बमबहादुर मगर र ३२वर्षीय प्रेमकार्की रहेको सशस्त्र प्रहरी बेस क्याम्प चतराका प्रमुख सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेले जानकारी दिए।
पक्राउ परेकाको साथबाट एकथान भरुवा बन्दुक, १४ राउण्ड गोली, दुई थान खुकुरी र २ प्याकेट बारुद र दुई थान मोबाइल बरामत गरेको उनले बताए । हतियारसहित दुई शिकारी जंगल प्रवेश गरेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरीसहितको टोलीले जंगलमा पक्राउ गरिएको इलाका वन कार्यालय चतराका प्रमुख शिवलाल विकले जानकारी दिए।
पक्राउ परेका दुबैजनालाई आवश्यक कारवाहीका लागि इलाका वन कार्यालय चक्रघट्टीमा बुझाइएको उनले बताए।