हरेक घरमा नाटक चल्छ
काठमाडौं : ‘हरेक घरमा हरदिन नाटक चलिरहेको हुन्छ, फरक समयमा भिन्न विषयका नाटक चलिरहन्छन्। वयस्कहरू बच्चासँग झुट बोल्छन्, बच्चा पनि वयस्कसँग झुट बोल्छन्, हरेकले सत्य बोलेको अभिनय गर्छन्। परिवारभित्रै पनि एक व्यक्ति अर्को व्यक्तिसँग झुट बोलेर नाटक गरिरहन्छ।’ भारतीय रंगकर्मी तथा निर्देशक डा. तपोश दास परिवारमा नाटक कसरी चल्छ भन्नेबारे व्याख्या गरिरहेका थिए। ‘मानिसको जीवनको अभिन्न पक्षजस्तै बनेको छ नाटक’, उनको जोड थियो।
निर्देशक दासका अनुसार बच्चाहरूलाई स्वतन्त्र वातावरणमा रमाइलो शैलीले सिकाउनु पर्छ। साहित्यमा पनि नाटक पुरानो विधा हो। नाटकको माध्यमबाट बच्चाहरूलाई जटिल विषय पनि सहज तरिकाले सिकाउन सकिन्छ।
डिसेम्बर १० देखि १३ सम्म कोलकाता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव भएको थियो। सोही कार्यक्रममा सहभागी निर्देशक दासले उक्त अभिव्यक्ति दिएका हुन्। महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै राराहिल स्कुलका बालबालिकाले करेसा कन्सर्ट नामक नाटक प्रस्तुत गरेका थिए। नाटकलाई थिएटर मल नेपालको कार्यक्रम थिएटर फर चिल्ड्रेनले संयोजन गरेको थियो। नाटक लेखन, निर्देशन र परिकल्पना रंगकर्मी केदार श्रेष्ठले गरेका थिए।
राराहिल स्कुलका नौ जना बालकलाकार, नाटकका प्राविधिक सहयोगी, शिक्षक प्रतिनिधि, निर्देशकलगायत १७ जनाको टोली नाटक प्रदर्शनमा सहभागी भएको थियो। नाटकमा सहभागी विद्यार्थी पहिलो पटक लामो टुरमा निस्किएका थिए। कोलकाता जाने र नेपाली नाटक देखाउने उत्साहले विद्यार्थी हर्षित देखिन्थे। उनीहरू बाटो बाटोमा पनि आफूले अभिनय गरेको नाटकको संवाद उच्चारण गर्दै थिए। हाम्रो करेसाबारीमा फल्ने तरकारीको भैझगडा, फाइदा र बेफाइदाको सवाल नाटकको विषय बनाइएको थियो।
करेसा कन्सर्टमा कलाकारहरू विभिन्न प्रकारका तरकारीजस्तै बन्दै यसको महत्व र विशेषता दर्शाइरहेका थिए। कोही मुला बनेका थिए त कोही फर्सी, खुर्सानी, कोही धनियाँको बखान गर्दै थिए त कोही अदुवा, लसुन आकारको कपडामा सजिएका थिए। कोही भान्टा वा लौका आकारमा थिए। बालकलाकारले निकै कलात्मक तरिकाले आफूलाई तरकारी आकारमा ढालेका थिए। नाटक हेर्दै गर्दा थिएटरको मञ्च नै तरकारीले भरिएजस्तो देखिन्थ्यो।
कथाले अप्रत्यक्ष रूपमा रहेको हाम्रो समाजलाई पनि चित्रण गरेको थियो। विभिन्न जातजाति, भाषाधर्मको मिश्रण भएर हाम्रो समाज बनेको हुन्छ। यहाँ एक जाति या उच्च वर्गको मात्र महत्व रहँदैन। समाजका सबै मानिस अन्तरसम्बन्धित हुन्छन् र सबैको विशेष महत्व छ भनेर देखाउन खोजिएको छ। तरकारीका माध्यमबाट समाजमा फरकफरक परिचय भएका मानिसको प्रतिनिधित्व गरिएको थियो।
भारत सरकारको इस्टर्न जोनल कल्चरल सेन्टरको सहकार्यमा कोलकाताको प्रतिष्ठित नाटक संस्था एसो नाटक सिकीको आयोजनामा तीनदिने पूर्वशी अडिटोरियममा महोत्सवको दोस्रो संस्करण सञ्चालन भएको थियो।
विभिन्न देशका बालबालिका, विद्यार्थी, रंगकर्मीको उपस्थितिले साल्ट लेकमा रहेको नवप्रवर्तन युथ होस्टल परिसरमा बेग्लै रौनक थियो। बालबालिका समूह समूहमा विभाजित भएर नाटक रिहर्सल गरिरहेका थिए। उनीहरू कति बेला परिचयात्मक कार्यक्रम गर्थे त कति बेला आआफ्ना देशको संगीत बजाउँदै नृत्य प्रदर्शन गर्थे।
रसिया, इरान, श्रीलंका, मलेसिया, हंगेरी, बंगलादेश, प्यालेस्टाइन, चीन, मेक्सिको, भारत, नेपाललगायतका देशबाट नाटक समूह महोत्सवमा सहभागी थिए। बच्चाहरूको बालमनोविज्ञानमा आधारित रहेर नाटकको कन्सेप्ट तयार गरिएको थियो।
महोत्सवको पहिलो दिन बालकलाकार आफ्नो देशको परिचय देखिने पहिरन लगाउँदै र्यालीमा सहभागी भएका थिए। राराहिल मेमोरियलका विद्यार्थी नेपाली पहिरन लगाउँदै सुमधुर बाँसुरीको धुनसँगै र्यालीमा सहभागी भए। उनीहरू कोही नेवारी पहिरनमा थिए त कसैले बेहुलीको शृंगार गरेका थिए। कसैले सारी चोलो, केहीले लेहेंगा लगाएका थिए। राष्ट्रिय गान गुनगुनाउँदै उनीहरूले दिएको प्रस्तुति हेर्नलायक थियो। पूर्वशी अडिटोरियम प्रांगणमा विभिन्न देशका नाट्य समूहसँग उनीहरूले संयुक्त सांस्कृतिक प्रस्तुति पनि दिए।
नेपाली बालनाटकको क्षेत्रमा काम गरिरहेका केदार श्रेष्ठ बालबालिकाकै क्षेत्रमा काम गर्दा खुसी र सन्तुष्टि मिल्ने बताउँछन्। स्कुल पढ्ने बेलामै बालकोसेली अध्ययन समूह स्थापना गरी बालसाहित्यमा कलम चलाउँथे उनी। शान्तदास मानन्धरको संगतले पनि उनलाई बालसाहित्यमै काम गर्ने रहर लाग्यो। यशु श्रेष्ठका बालकथा पढ्दा उनलाई आनन्द लाग्थ्यो। बालबालिकाको निर्दोष प्रश्न र निश्चल व्यवहारले उनलाई छुन्छ। यसैले पनि उनले बच्चाहरूकै विषयमा नाटक लेख्ने र मञ्चन गर्ने गरेका छन्।
श्रीलंकाका रंगकर्मी रुमेश तारुक चन्द्र श्रीले टिनएजका बालबालिकाको मनोविज्ञानलाई नाटकमा देखाए। मानवता शीर्षकको नाटकमा कलाकारले उत्कृष्ट अभिनय गरेका थिए। संवादबिनाको नाटकमा बालकलाकारले देखाएको शरीरको मुभमेन्ट, अनुहारको हाउभाउले नै नाटकको कथा बताउँथ्यो।
हरेक आमाबुवाले आफूले पूरा गर्न नसकेको सपना उनीहरूका बच्चामार्फत पूरा गर्न खोजेको रुमेशले देखेका छन्। यसले बच्चाको मनोविज्ञानमा असर पर्छ। भन्छन्, ‘बच्चाहरू स्वतन्त्र आफ्नै चाहनामा बाँच्न चाहन्छन् तर बाबुआमाले उनीहरूका रुचि ख्याल गर्दैनन्।’ समाजमा व्याप्त युवाको यो बाध्यतालाई नाटकमार्फत उठाएर परिवारमा सकारात्मक प्रभाव परोस् भनी यो विषयलाई नाटकले उठाएको उनले स्पष्टीकरण दिए।
बंगलादेशका कलाकारले जय बंगला शीर्षकको नाटक देखाए। ससाना बच्चाहरूमार्फत निर्देशकले बंगलादेशको राष्ट्रियतालाई अभिनयमार्फत देखाए। मेक्सिकोबाट आएको नाट्य समूहले पारिवारिक नाटक मञ्चन गर्यो। आमाको मृत्युपछि सौतेनी आमाको उपस्थितिले ससाना बच्चामा पर्ने पारिवारिक र आत्मिक समस्यालाई नाटकले उठाएको थियो।