कारागारभित्रको यथार्थ चित्रण ‘कारा’
‘हरेक मान्छेको मनमा एउटा कारागार हुन्छ। त्यसमा धेरै कुरा बन्द हुन्छन्। कति कुरा आजीवन कारागारमा रहेका कैदी झैँ मनमा बाँधिएर रहन्छन्। कति कुरा भने बन्दी झैँ छुट्दै जान्छन्। अन्त्यमा बाँकी रहन्छ एउटा खण्डहर र विराट रिक्तता ...’ यो पंक्ति हो, पूर्व प्रधानन्यायाधीश तथा लेखक सुशीला कार्कीको नयाँ उपन्यास ‘कारा’ को।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा शनिबार सार्वजनिक गरिएको कार्कीको पहिलो आख्यान (उपन्यास) ‘कारा’ बाट उक्त पंक्ति लोकार्पण कार्यक्रम प्रस्तोता जनकराज सापकोटाले बोलेका हुन्।
कार्की यही पुस्तक मार्फत् पाठकसामू आफूलाई आख्यानकार (उपन्यासकार) का रूपमा उभ्याएकी छन्। ‘किताब प्रकाशन’ ले पुस्तक बजारमा ल्याएको हो। कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल र पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेल टिप्पणीकारका रुपमा उपस्थित थिए।
पूर्वडीआईजी खरेलले ‘कारा’ राम्रो उपन्यासको रुपमा आएको चर्चा गरे। उपन्यासमा कारागारभित्रका कैदी वा बन्दीको यथार्थ चित्रण गरिएको उल्लेख गरे। उनले भने ‘कारागारमा राख्दा कार्कीले अनुभव गरेको र २९ वर्ष वकालत गर्दा भोगेका र बुझेका कुरा मैले उपन्यासमा पाएँ।’
साहित्यिक कृति पढ्ने बानी नभएको बताएका खरेलले यो पुस्तक एक बसाईंमा पढेको सुनाए। ‘प्रहरी भएर काम गर्दा आपूmले पनि थुप्रै कैदीहरूसँगको अनुभव वा उनीहरूको दुःख पीडालाई नजिकबाट बुझ्ने मौका पाएँको छु’, उनले भने, ‘त्यसमा कतिपय वास्तविक र कतिपय फसाइएका कैदी पनि हुन्छन्। तिनीहरूका कथाहरू यसमा यथार्थ रूपमा आएको पाएँ।’
हिरामाया, तिम्बा, भक्तिपुरे, झुम्की पार्वती जस्ता पात्रले उपन्यासलाई जीवन्त बनाएको उनको भनाइ छ।
कार्यक्रममा बोल्दै सपना प्रधान मल्लले यसमा धेरै पात्रहरूको यथार्थ घटनालाई उट्घाटन गर्न खोजिएको र कारागारको साङ्गोपाङ्गो चित्रण गरेको बताइन्। ‘न्यायको चक्रमा कारागार एउटा महत्वपूर्ण संस्था हो। यस उपन्यासले कारागार प्रशासनसँग जोडिएका जटिलतालाई उजागर गरेको छ’, उनले भनिन्, ‘मानवअधिकार, महिलाअधिकारका प्रश्न पनि यसमा उठाइएको छ।’
मल्लले यस उपन्यासमा आएका कथा पाठकलाई मनोरन्जन प्रदान गर्ने, भावुक बनाउने, कल्पनामा डुबाउने खालको मात्र नभएको बरू यसले देशको नीति निर्माणलाई पनि निर्देशित गरको बताइन्।
कारागारभित्र पनि पुरूष र महिलाबीचमा धैरे भेदभावलाई पुस्तकमा उठाइएको उनले सुनाइन्। कारागारमा कुनै पुरुष कैदी हुँदा भेट्न परिवार नै आउने र कुनै महिला पर्दा प्रायः कोही नआउने प्रवृत्ति आफूले प्रत्यक्ष देखेको र ती प्रवृत्तिलाई उपन्यासमा वास्तविक पढ्न पाएको बताइन्।
लेखक कार्कीले आफूले आफ्नो जीवनमा बुझेको, देखेको, भोगेको, महसुस गरेको कुरा पुस्तकमा उतार्ने कोसिस गरेको बताइन्। ‘मैले यो उपन्यासमा धेरै कल्पना गरेको छैन। अधिवक्ता वा न्यायाधीश भएर काम गर्दा आफूले देखेका सैयौँ बन्दीको कथालाई यथार्थ रूपमा उतार्न खोजेको हुँ’, उनले भनिन्।
२०३५ सालतिर आफूले कथा, कविता लेख्ने गरेको तर बीचमा कार्यव्यस्तताका कारण कलम चलाउन नसकेका कारण साहित्यिक पुस्तक लेख्न नसकेको अनुभवसमेत सुनाइन्।