सागरका चित्रमा अमूर्त अष्टरूप
काठमाडौं : ठमेलस्थित दलाई ला होटल परिसर। आँगनभरि विभिन्न रङ र आर्टले कलात्मक बनेका यती सजाएर राखिएका छन्। भीमकाय यतीकोे शरीरमा भिजिट नेपाल २०२० लेखिएको छ। छेउमै छ दलाई ला आर्ट ग्यालरी। ग्यालरीका भित्तामा कलात्मक चित्र सजाइएको छ। काठका मूर्ति र टुँडाल पनि देख्न सकिन्छ। यही ग्यालरीमा चित्रकार सागर मानन्धरको सोलो आर्ट प्रदर्शनी चलिरहेको छ। अष्ट रूप शीर्षकको कला प्रदर्शनीमा उनले अमूर्त शैलीमा अष्टमात्रिकाका वाहन उतारेका छन्।
प्रकृति, संस्कृति, पञ्चतत्वव, भैरवजस्ता सिरिजमा काम गरिसकेका मानन्धरलाई अन्यले सजिलै देख्न नसक्ने र अप्ठ्यारा विषयमा चित्र बनाउन रहर लाग्छ। काठमाडौंकै रैथाने हुन् सागर। यहाँको संस्कृति र परम्परा मानेरै हुर्किएका। बिहान उठ्नासाथ पर कतै मन्दिरको घण्ट बजेको आवाज सुन्थे। सुत्नेबेलामा कतै पर पृष्ठभूमिमा भजन कीर्तनको अस्पष्ट लय सुन्थे। स्कुल जाँदा होस् या घुम्न निस्किँदा बाटैभरि मन्दिर र पाटी पौवामा ढोग्दै हिँड्थे। बाल्यकालको यही वातावरण र आनिबानीले उनमा आध्यात्मिक भाव सँगैसँगै हुर्कियो। फलस्वरूप मन्दिर देख्नासाथ हात आफैं जोडिने भयो, भगवान्का मूर्ति छेउमा स्वभावैले शिर निहुरिने भयो।
उनका बुवा किरण मानन्धर नेपालका प्रख्यात चित्रकार हुन्। लामो समयदेखि चित्रकारितामै सक्रिय छन्। बुवाले खोलेको पल्पसा ग्यालरीमा जाने आउने गर्थे उनी। सानोबेलामा बुवाले बनाउन लागेको क्यानभासमा अक्षर कोरेर बिगारिदिन्थे। रङ जताततै छरेर चित्रको स्वरूप नै भत्काइदिन्थे। उनले थाहा नपाउने गरी बुवाले उनले बिगारेकै क्यानभासमा सुन्दर चित्र बनाउँथे। आज बिगारेको क्यानभास भोलिपल्ट चिटिक्क्क चित्र बनेको हुन्थ्यो। बुवाको चित्रपट्टिको लगनशीलता देखेरै सागरले रङ र कुची बुझ्ने मौका पाए। चित्रकार बन्ने रहरभन्दा पनि उनलाई अवसर र वातावरणले चित्रकार बनायो।
उनको घर छेउमा छ शोभाभगवती। त्यहाँ अष्टमात्रिकाको मूर्ति छ। अष्टमात्रिकामा कौमारी, चामुण्डा, इन्द्रायणी, वाराही, महालक्ष्मी, बम्ह्यानी वैष्णवी, रुद्रायनीजस्ता देवी पर्छन्। सागरले पटकपटक यी देवीको मूर्ति हेरेका छन्। हेर्दा सबै उस्तै लाग्छ। उनी घरिघरि सोच्ने गर्थे उस्तै देखिने देवीलाई किन फरक नाम राखिएको होला? मूर्तिलाई नजिकबाट नियालेर हेरे। उनीहरूका फरकफरक वाहन हुने कुरा पत्ता लगाए। नेपाली संस्कृतिमा देवीको शूर र पराक्रमको बारेमा सुनेर हुर्किएका सागरलाई भगवान्लाई बोकेर हिँड्ने वाहन अझ बढी शक्तिशाली लाग्यो। आफ्ना अमूर्त चित्रमा अष्टमात्रिकाको वाहन प्रयोग गरेर चित्र बनाउने योजना बनाए। सन् २०१७ देखि सुरु भएको यो योजना भर्खर मात्रै पूरा भएको छ।
अष्ट रूप सिरिजमा उनले ५० चित्र बनाए। आफूलाई मन परेका १३ वटालाई दलाई ला ग्यालरीमा प्रदर्शनमा राखेका छन्। गत शुक्रबारदेखि सुरु भएको यो प्रदर्शनी जनवरी ३१ सम्म चल्नेछ।
उनका चित्र झट्ट हेर्दा अस्पष्ट र नबुझिने लाग्छन्। तर जब उनी चित्र नजिक पुगेर अर्थ दिँदै बोल्छन् अनि त्यही चित्र कलात्मक र अर्थपूर्ण लाग्छ। चित्रमा रातो हरियो, सुन्तला, आकाशे, कालो रङलाई कतै गाढा पोतेका छन् त कतै हल्का छरेका छन्। कतै मान्छे सुतिरहेजस्तो, कतै युवतीले कपाल बाटेर मुस्कुराएजस्तो त कतै अजीवको मन्दिर सिगारेको जस्तो। कतै हाँस उडिरहेजस्तो त कतै मयूर नाचिरहेजस्तो। कतै बच्चाका खेलौना एकैठाम छरेर भद्रगोल बनाएजस्तो। उनका चित्र अनेकअर्थी छन्। चित्रको मूल्य ४० हजारदेखि ७० हजार सम्म तोकिएका छन्।
सागर काठमाडौं विश्वविद्यालयमा आर्ट पढाउँछन्। फुर्सदको समय छाउनीमै रहेको आर्ट स्टुडियोमा कुची चलाउँछन्। आर्टमै सुन्दर भविष्य देखेका सागर पछिल्लो समय कला सिर्जनामा आएको व्यापकता देखेर औधी खुसी छन्।