भाडाका किरियापुत्री
काठमाडौँ, पिङ्लास्थानबाट पशुपतिनाथ मन्दिर जाने बाटोमा छ, राजराजेश्वरी किरियापुत्री घर। कसैको आफन्त बितेपछि निश्चित रकम तिरेर यहाँ मृतकको किरिया बस्न पाउने प्रावधान छ।
अघिल्लो बिहीबार साँझ काठमाडौँको तापक्रम शून्य छेउछाउ पुगेको थियो। जाडोले सिंगै शहर कठ्यांग्रिएको बेला विष्णुप्रसाद नेपाल, ५८, भने एकसरो सेतो कपडामा बसिरहेका थिए। उनकै शब्दमा उनी कसैको ‘दुःख’ बारिरहेका थिए। अर्थात्, किरिया बसिरहेका थिए। तर, उनका आमाबाबु वा परिवारका अन्य कुनै सदस्य बितेका थिएनन्। उनलाई आफन्तको शोक परेको थिएन। विष्णु जसको दुःख बारिरहेका थिए, जसको किरिया बसिरहेका थिए, तीसँग उनको गोरु बेचेको साइनो पनि थिएन। उनी भक्तपुर, कौशलटारका भट्टराई थर भएकी एक वृद्धाको मृत्युको दुःख बारिरहेका थिए। ती वृद्धालाई उनले कहिल्यै देखेका थिएनन्, चिनेका थिएनन्। तर, पनि मृतक भट्टराईको १३ दिने मृत्यु संस्कारमा उनी सरिक थिए।
विष्णुको घर काभ्रे, कुन्ताबेसी हो। काठमाडौँ, गौरीघाटमा बस्छन्। उनी एक जना आफन्तमार्फत १० वर्षअघि पहिलो पटक ‘भाडामा किरिया’ बसेका थिए। त्यसयता उनी यसरी नै चिन्नु न जान्नुका ‘अरू’को किरियापुत्री भइरहेका छन्। उनका निम्ति किरिया एक रोजगारी हो। ‘गाउँमा भएको जग्गाजमिनले खान नपुगेपछि काठमाडौँ आएको थिएँ,’ उनले भने, ‘काम खोज्दै जाँदा पशुपतिमा किरिया बस्ने काम गर्ने एक जना आफन्तलाई भेटेँ। उनले नै यो काम मिलाइदिए। १० वर्ष भयो, किरियापुत्रीको काम गर्न थालेको। जेनतेन गुजारा चलाउन पुगेको छ। एक जनाको १३ दिन किरिया बसेबापत २५ देखि ३० हजार रुपैयाँसम्म पाइन्छ।’
विष्णुले पहिलो पटक काठमाडौँ, बूढानीलकण्ठतिरकी अधिकारी थरकी महिलाको भाडामा किरिया बसेका थिए। ‘उनका छोरीहरू मात्रै थिए,’ उनले सम्झिए, ‘त्यसैले उनको किरिया बसेको थिएँ। त्यो बेला पशुपति विकास कोषले पैसा दिन्थ्यो।’
अरूको किरिया बस्नुलाई विष्णु पुण्य आर्जन गरेको ठान्छन्। ‘कसैको छोरा हुँदैनन्,’ उनले भने, ‘उनीहरूको आशौच बारिदिने मान्छे हुँदैन। मृतकलाई मुक्ति दिने काम गरेको छु। पैसा लिए पनि मैले धर्म नै गरेको छु।’
भाडामा किरिया बस्दा सुरुसुरुमा उनलाई आफन्त र गाउँघरका मानिसले खिसी गर्थे। उनी आफैँलाई पनि अप्ठ्यारो लाग्थ्यो। तर, पछि सबै कुरा सामान्य लाग्दै गयो। ‘यो पनि एउटा काम हो,’ उनले भने, ‘कोही अफिस जान्छन्, कोही व्यापार गर्छन्, कोही भारी बोक्छन्, म चाहिँ किरिया बस्छु। यो मेरो जागिर हो, गरिखाने बाटो हो। कपाल खौरेर, एकसरो लगाएर, अलिनो खाएर बस्नुपर्छ। कसैको बिगार गरेको होइन। बरु, पुण्यको काम गरेको छु।’
विष्णुलाई किरिया बस्दा मृतकका आफन्तले राम्रै व्यवहार गर्छन्। कोही–कोहीले भने पैसाका लागि काम गरेको ठानेर नराम्रो वचन पनि गर्छन्। ‘अरूको आशौच बस्नु सजिलो कुरा होइन,’ उनले भने, ‘प्रायःले यो कुरा बुझेर राम्रै व्यवहार गर्छन्। कोही–कोही भने ‘पैसा दिएर काम लगाएको त हो नि’ भन्ने सोचेर होच्याउने गर्छन्।’
‘पैसा लिएर पुण्यको काम’ गर्ने विष्णुलाई अपरिचितको आशौच बारेको जस्तो लाग्दैन। ‘आफ्नै आमाबाउको किरिया बसेजस्तो लाग्छ,’ उनले भने, ‘गर्ने विधि एउटै त हो। जसको किरिया बसिरहेको हुन्छु, उनीहरूको छोराजस्तै भएर कर्तव्य पूरा गरिरहेको हुन्छु। आफन्त मर्दा उनीहरूसँग बिताएको पल सम्झिँदा मन अलि बढी दुख्ने रहेछ। यसरी अरूको किरिया बस्दा उनीहरूको तस्बिर मात्रै देखिन्छ। त्यसैले मन त्यति दुख्दैन रहेछ।’
पशुपतिमा यसरी अपरिचितको किरिया बसेर जीविका चलाउने मान्छे थुप्रै छन्। विष्णु बसेकै राजराजेश्वरी किरियापुत्री घरमा १६÷१७ जना ज्यालामा किरिया बस्ने गरेका छन्। २०४३ सालमा पशुपति क्षेत्र विकास कोषको स्थापना भएपछि यसरी पैसा लिएर ‘भाडामा किरिया’ बस्नेलाई कोषले नै हेर्ने गरेको थियो। तर, पछि विविध कारणले कोषको बदनाम गर्ने काम गरेको भन्दै किरियापुत्री ब्राह्मणहरूलाई विकास कोषले हेर्न छोड्यो। पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य–सचिव तथा संस्कृतिविद् डा. गोविन्द टण्डन भन्छन्, ‘पहिलेदेखि नै अव्यवथित रूपमा किरियापुत्री ब्राह्मणहरू यहाँ थिए। कोष स्थापनापछि उनीहरूलाई व्यवस्थित गर्न खोजियो। तर, पछि विवाद भयो र मेरै कार्यकालमा उनीहरूलाई कोषले हेर्न छाड्यो।’ कोषले हेर्न छाडेपछि अहिले पशुपति क्षेत्रमा कति जना किरियापुत्री ब्राह्मण छन् भन्ने यकिन तथ्यांक छैन।
पहिले पशुपति क्षेत्र विकास कोषले नै किरियापुत्री ब्राह्मणहरूको पारिश्रमिकलगायत कुरा तय गरिदिएको थियो। तर, अहिले त्यस्तो छैन। भाडामा किरिया बस्नेले मृतकका आफन्तसँग आफैँ ‘डिल’ गर्छन्, आफैँ पारिश्रमिक तय गर्छन्।
१३ दिनको काम भइरहेको समयमा अधिकांश मृतकका आफन्त नै किरियापुत्रीको कुरुवाका रूपमा साथमा बस्ने गर्छन् भने कोही–कोहीले कुरुवालाई पनि भाडामा राख्ने गरेका छन्। गुहेश्वरी घर भएर पशुपति परिसरमा किरियापुत्रीलाई आवश्यक पर्ने सामान लैजाने÷ल्याउने र एघारौँ दिनमा काट्टो खाने काम गर्ने रामहरि (नाम परिवर्तन) भन्छन्, ‘कतिपयले आफन्त कुर्न बस्न नभ्याउने भन्दै यहीँका मान्छेलाई कुरुवाका रूपमा पनि राख्छन्।’ मृतकका आफन्त र कुरुवाको आपसी सहमतिमा कुरुवाको पारिश्रमिक तय हुने उनी बताउँछन्। ‘कुरुवा बस्नेहरू साँझको समयमा आएर राति कुर्न बस्ने हो,’ रामहरि भन्छन्, ‘कसैले रातको पाँच सय, कसैले एक हजारसम्म दिने गर्छन्।’
काम होइन, तपस्या
काठमाडौँका विभिन्न ठाउँमा यस्ता किरियापुत्री घर छन्। कालोपुलस्थित भण्डारेश्वर किरियापुत्री घरको चार नम्बर कोठामा कृष्णप्रसाद ढकाल (नाम परिवर्तन), ६०, किरिया बसिरहेका छन्। उनी अस्ट्रेलियामा मृत्यु भएकी एक महिलाको शोक बारिरहेका थिए। अघिल्लो शुक्रबार भेट्दा उनले एघारौँ दिनको काम सकिसकेका थिए। ‘अब भोलिबाट चोखिन्छु,’ उनले भने।
गोरखा घर भएका कृष्णप्रसाद यसरी भाडामा किरिया बस्न थालेको चार वर्ष भयो। ‘पहिले म कृषि क्षेत्रको ट्रेनर थिएँ,’ उनले भने, ‘विभिन्न ठाउँका कृषकलाई कृषिका आधुनिक उपकरण चलाउन सिकाउँथेँ। आम्दानी राम्रै थियो। एक दिन मलाई सपनामा पितृहरूले अरूको काजकिरिया गरेर पुण्य कमाउनू भने। त्यसपछि म यतातिर लागेँ।’ उनी आफ्नो कामलाई अन्य कामभन्दा विशिष्ट ठान्छन्। ‘कहिल्यै नचिनेको मान्छेको किरिया बस्नु मेरो लागि सामान्य काम होइन,’ उनले भने, ‘यो मेरा लागि तपस्या हो। पैसा किन लिन्छस् त भनेर सोध्नुहुन्छ भने परिश्रमको मूल्य सबैले पाउनुपर्छ।’
भाडामा किरिया बस्न थालेको चार वर्ष भइसक्दा पनि कृष्णप्रसादको परिवारमा श्रीमतीबाहेक अरूलाई यो कुरा थाहा छैन। ‘दुई छोरा बुहारीसँगै अस्ट्रेलिया गएका छन्,’ उनले भने, ‘उनीहरूले थाहा पाएका छैनन्। श्रीमतीबाहेक कसैलाई मैले भनेको पनि छैन।’ आम्दानीको लागि नभएर पुण्यका लागि अरूको किरिया बस्ने गरेको उनको दाबी छ। ‘मलाई पैसाले होइन्, धर्मले यतातिर तान्यो,’ उनले भने, ‘कसैका पितृलाई तार्न पाउनु भनेको महान् पुण्यको काम हो।’
चार वर्षअघि पहिलो पटक उनी किरियापुत्रीको सहायक भएका थिए। ‘डिल्लीबजारतिरकी पाण्डे थरकी महिलाको मृत्यु भएको थियो,’ उनले सम्झिए, ‘उनको छोरा सानो भएकाले विधिपूर्वक काम गर्न सक्दैन भनेर मलाई सहायक बनाएका थिए।’ उनले ती बालकलाई भात पकाइदिने र कर्मकाण्डमा साथ दिने गरेका थिए। ‘मलाई १४ हजार रुपैयाँ दिएका थिए,’ कृष्णप्रसादले भने, ‘दोस्रो पटकबाट किरियापुत्रीकै रूपमा काम गरेँ। त्यहाँ १८ हजार दिएका थिए।’ अहिले भने १३ दिनको काम गरेबापत उनका हातमा २५ हजार पर्ने गरेको छ। ‘कहिलेकाहीँ मृतकका आफन्त खुशी भएर पैसा थपिदिन्छन्,’ उनले भने।
बाल्यकालदेखि नै कृष्णप्रसाद गाउँमा कसैको मृत्यु हुँदा असाध्यै भावुक हुन्थे। मलामी गएर शोक व्यक्त गर्न अग्रसर हुन्थे। ‘मानिसको देहान्त हुँदा म भित्रैदेखि दुःखी हुन्थेँ,’ उनले भने, ‘मृत्युपछि हुने कर्मकाण्डलाई बडो गम्भीर भएर नियाल्थेँ। आज आएर यही काममा लाग्नु पाउनु मेरो भाग्यको कूरा हो।’ आफूले चिन्दै नचिनेको मान्छेको किरियापुत्री भएर कर्म गर्न पाउनुलाई उनी ‘अघिल्लो जन्ममा गरेको पुण्य’को संज्ञा दिन्छन्। ‘सकुञ्जेल अरूका पितृहरूलाई तार्ने काम गरेर पुण्य कमाउनेछु,’ उनले भने।
ज्यालादारी किरियापुत्रीका दुःख
कृष्णप्रसाद आफूले ‘धर्म’, ‘पुण्यको काम’ गरिरहेको भनिरहँदा उनलाई भाडाको किरियापुत्री ठानेर नराम्रो व्यवहार गर्ने पनि छन्। यदाकदा त कोरा बारिरहेकै ठाउँमा उनको झगडा पनि भएको छ।
एक पटक उनी काठमाडौँ, विशालनगरस्थित शाह परिवारमा किरिया बस्न गएका थिए। त्यहाँ उनको अनुभव निकै तीतो रह्यो। ‘तीन वर्षअघिको कुरा हो,’ उनले भने, ‘त्यहाँ मृतकको भाउजूले मलाई नराम्रो व्यवहार गरिन्।’ शाह परिवारमा मृतककी भाउजूलाई ‘रानी साहेब’ भन्दै सम्बोधन गरिने रहेछ। तर, कृष्णप्रसादलाई ती महिलाले चौथो दिनमा फलफूल माग्दा कुहिएका फलफूल दिइन्। ‘पैसा दिएकै छ अरू किन चाहियो’ भन्दै उनले हेपिन्,’ कृष्णप्रसादले सम्झिए, ‘फलफूल माग्दा कुहिएको फलफूल दिइन्। पछि मैले ‘बरु छैन भने भनिबक्स्योस्, म आफैँ पैसा दिएर लिन पठाउँछु अनि रानीसाहेब र म सँगै बसेर खाउँला’ भनेँ। त्यसपछि मात्रै उनले मसँग अलि राम्रो व्यवहार गर्न थालिन्।’
यस्ता अनेक घटना कृष्णप्रसादले भोगेका छन्। अघिकांश समय किरियापुत्री हुँदा फलफूलजस्ता खान्कीमा मृतकका परिवारले नराम्रो व्यवहार गर्ने गरेको उनले सुनाए। ‘‘पैसा दिएर बसाएको हो, जस्तो खानेकुरा दिए पनि हुन्छ’ भनेजस्तो गर्छन्,’ उनले भने, ‘सहायकका रूपमा बस्दा मूल कर्ताले पनि नराम्रो वचन लगाउने गर्छन्।’ उनले सहायक किरियापुत्री भएर बस्दाको नमीठो अनुभव पनि सँगालेका छन्। ‘रातोपुलमा कोइराला थरकी महिला मरेकी थिइन्,’ उनले सम्झिए, ‘उनको छोरा सानो भएकाले म सहायक बसेको थिएँ। तर, त्यहाँ मैले छाडेर हिँड्ने स्थिति आयो।’ किरिया बसिरहेको समयमा मृतकका आफन्त, उनका सानो छोरालगायत सबैले उनलाई ‘पैसा दिएपछि जे पनि गराउनपर्छ’ भन्ने व्यवहार देखाएको उनले बताए। ‘सबैले मलाई ‘भाडाको किरियापुत्री न हो, जे भने पनि हुन्छ’ भन्दै वचन लगाएका थिए,’ उनले भने, ‘मैले उनीहरूलाई ‘यस्तो गर्नुहुन्छ भने म आधामै छाडेर जान्छु’ भनेपछि व्यवहार परिवर्तन भयो।’
१३ दिनपछि कसैले सम्झँदैनन्
हिन्दू संस्कारअनुसार मृतकको किरियापुत्रीका रूपमा कर्मकाण्ड गर्ने मान्छेले नै उसको मासिक तथा वार्षिक श्राद्ध गर्नुपर्छ। तर, भाडामा किरिया बस्नेलाई विधिअनुसार कर्म गर्न लगाइँदैन।
विष्णुप्रसाद आफूले किरिया बसेको मृतकको वार्षिकीमा कमै मात्र गएका छन्। ‘आजसम्म दुई जनाले मलाई वार्षिक कार्यक्रममा बोलाएका छन्,’ उनले भने, ‘दुवैकोमा गएको छु। तर, त्यहाँ विधिपूर्वक काम गर्न होइन, निम्तो मान्न मात्रै गएको छु।’ मृतकको १३ दिनको काम सकिएपछि हत्तपत्त मृतकका आफन्तले आफूलाई नसम्झिने उनले बताए। ‘१३ दिनको काम सकिएपछि हामीलाई कसैले सम्झँदैनन्,’ उनले भने, ‘बाटोमा कहिलेकाहीँ भेट हुँदा पनि बोल्न खोज्दैनन्। तर्केर हिँड्छन्।’
कृष्णप्रसादको अनुभव पनि समान छ। चार वर्षको अन्तरालमा एक पटक मात्रै किरियापुत्रीका रूपमा काम गरेको ठाउँमा वार्षिकी हुँदा उनलाई बोलाएका थिए। ‘भक्तपुर, सूर्यविनायक घर भएका तिमल्सिना थिए,’ उनले भने, ‘वार्षिकीमा निम्तो आयो। गएको थिएँ।’ तर, वार्षिकीमा जाँदाको उनको अनुभव भने राम्रो भएन। ‘म त्यहाँ जाँदा मृतकको दाइले वार्षिकीको काम गरिरहेका थिए,’ उनले भने, ‘तर, कपाल पनि नखौरी, धोती पनि नलाई गरेको काम मैले हेर्न सकिनँ। त्यहाँ मृतकका आफन्तलाई ‘पितृलाई तार्ने काम यसरी हुँदैन, पापको काम गर्नुभयो’ भनेर फर्किएँ।’
छोरा हुँदाहुँदै भाडामा किरियापुत्री
पुष ९ गते राजराजेश्वरी किरियापुत्री घरमा भेटिएका थिए, ५६ वर्षीय दीपक ढुंगेल (नाम परिवर्तन)। उनी कपनकी प्रसाई थरकी वृद्धाको किरिया बसेको सात दिन भएको थियो। मृतकका आफन्त पनि किरियापुत्री घरमा थिए। जेठी छोरी पार्वताले भनिन्, ‘हामी छोरीहरू मात्रै छौँ। त्यसैले भाडामा किरियापुत्री लिएर काम गर्न थाल्यौँ।’ उनीहरूले आफ्नो घरमा नै आमाको जुठो बारिरहेको बताए। ‘हामी दुई छोरी कपनमा नै बारिरहेका छौँ,’ उनले भनिन्, ‘कर्ताका रूपमा यहाँ किरियापुत्री बस्नुभएको छ।’
मृतकका आफन्तहरू गएपछि दीपकले भित्री कुरा खोले। उनका अनुसार मृतक प्रसाईकी छोरा पनि छन्। ‘छोराले नभ्याउने भएपछि मलाई सम्पर्क गरिएको रहेछ,’ उनले भने, ‘छोरा बैंकमा काम गर्दा रहेछन्। आमाको किरिया बस्न नभ्याउने भएकाले मलाई किरियापुत्री राखिएको हो। तीन दिनसम्म छोरा किरिया बसेछन्। त्यसपछि चोखिएर मलाई कर्ता राखेका हुन्। छोरा हुँदाहुँदै पनि अरूलाई किरियापुत्री राख्ने परिवार थुप्रै हुन्छन्। व्यस्त र धनाढ्यहरूले यस्तो गर्छन्।’
दीपक रामेछापका हुन्। विगत छ वर्षदेखि उनी पशुपति परिसरमा किरियापुत्रीको काम गरिरहेका छन्। ‘म पशुपतिको घाटमा मान्छे जलाउने काम पनि गर्छु,’ उनले भने, ‘बेला–बेलामा भाडामा किरिया बस्छु।’ उनले तीन पटक एकै महिनामा दुई जना मृतकको किरिया बसेका छन्। ‘महिनामै दुई पटक किरिया बस्न साह्रै गाह्रो भयो,’ उनले भने, ‘शरीरले साथ नदेलाजस्तो भयो। अहिले चाहिँ महिना÷दुई महिनामा एउटा किरिया बस्छु।’
चौथो दिनबाट सुरु भएको कामका लागि आफूले २० हजारसम्म लिने गरेको उनले बताए। ‘सम्पर्क गराइदिने मान्छेलाई अलिकति कमिसन दिनुपर्छ,’ उनले भने, ‘सालाखाला एउटा किरिया बसेपछि २५–३० हजार रुपैयाँ पाइन्छ। पैसामा धेरै किचकिच गरिँदैन। किनभने, यो धर्मको काम हो।’
अहिले दीपक दिनभर पशुपति परिसरमा घाम तापेर बस्छन्। हिन्दू मृत्यु संस्कारअनुसार कर्मकाण्ड गर्छन्। काम नभएको बेला चौरमा साथीभाइसँग गफिन्छिन्। ‘बिहानै गुरु आएर काम थाल्नुहुन्छ, गरुड पुराण सुनाउनुहुन्छ,’ उनले भने, ‘त्यसपछि दिनभर यत्तिकै बसिन्छ। बेलुका दियो बालेपछि दिनभरिको काम सकिन्छ।’
पहिले किरियापुत्री, अहिले कुरुवा
काभ्रे, महादेवस्थानका भरत सापकोटा, ६०, गत सालसम्म भाडामा किरियापुत्रीका रूपमा काम गर्थे। अघिल्लो साउनमा किरिया बस्दा उनको स्वास्थ्यमा समस्या आयो। ‘अन्तिम पटक किरिया बस्दा बीचमै छोड्नुपर्यो,’ उनले भने, ‘बिरामी परेँ। डाक्टरले पेटमा पानी जमेको छ भनेपछि किरियापुत्री बस्न छाडिदिएँ।’
भरतले पहिलो पटक किरियापुत्रीका रूपमा २०५५ सालमा काम गरेका थिए। ‘पशुपतिकै एक जना पुजारीमार्फत यो काममा आएको थिएँ,’ उनले भने, ‘त्यतिबेला २५ सय रुपैयाँ पाएको थिएँ। २० वर्षपछि पारिश्रमिक २५ हजार पुगेको थियो।’
सुरुसुरुतिर केही समस्या नभए पनि पछि भने उनलाई शारीरिक कष्टले सताउन थाल्यो। ‘काम सजिलो थिएन,’ उनले भने, ‘अलिनो बस्दा प्रेसर लो भएर थुप्रै पटक लडेँ।’ उमेर उकालो लाग्दै गएपछि उनले किरियापुत्रीका रूपमा काम गर्न छाडे। अहिले भरत किरियापुत्रीको कुरुवा भएर काम गर्छन्। यसबापत उनले दैनिक पाँच सय रुपैयाँ पाउँछन्।
भरतको अनुभवमा परिवारमा छोरा नहुनेले ज्यादातर भाडाका किरियापुत्री लगाउँछन्। ‘२० वर्षसम्म किरियापुत्रीको काम गर्दा मैले प्रायः महिलाको किरिया बसेको थिएँ,’ उनले भने, ‘छोरा नहुने परिवारले धेरैजसो किरियापुत्री राख्छन्।’
छोराछोरीले थाहा पाउलान् भन्ने डर
पशुपति परिसरको किरियापुत्री घरमा भाडामा किरिया बस्नेहरू आफ्नो परिचय बाहिरिन्छ कि भनेर डराउने गर्छन्। उनीहरूमध्ये अधिकांशको सम्पर्क किरियापुत्री घरभित्र कर्मकाण्डको काममा नियमित संलग्न हुने पण्डितसँग हुने रामहरीले बताए।
रामहरिमार्फत नै ‘अन्नपूर्ण सम्पूर्ण’को सम्पर्कमा आएका हरिहर उपाध्याय (नाम परिवर्तन) पुस २ गतेदेखि काठमाडौँ, डिल्लीबजारस्थित न्यौपाने थरका वृद्धको आशौच बारिरहेका थिए। ४१ वर्षीय हरिहरको घर सिन्धुपाल्चोक हो। उनले ज्यालामा किरियापुत्रीको काम गर्न थालेको तीन वर्ष भयो। पुस १० गते साँझ डिल्लीबजारस्थित न्यौपानेको घरमा भेट्दा उनी साँझको दियो बालिरहेका थिए।
हरिहरलाई किरियापुत्री घरमा भन्दा मृतककै घरमा किरिया बस्न सुविधाजनक लाग्छ। ‘मैले किरियापुत्री काम गर्छु भन्ने कुरा मेरो परिवारमा श्रीमतीलाई मात्रै थाहा छ,’ उनले भने, ‘आफन्तले थाहा पाउलान् भन्ने डरले किरियापुत्री घरमा बस्न मन लाग्दैन।’ एक छोरी र एक छोराका बाबु हरिहरले श्रीमती र छोरी गाउँमै बस्ने बताए। ‘छोरा यतैको क्याम्पसमा पढ्छ,’ उनले भने, ‘उसले मैले किरिया बसेको देख्ला भनेर असाध्यै डर लाग्छ। कसैको घरमा किरियापुत्री बस्न जानुअघि म त ‘तपाईंका छोराछोरी कहाँ पढ्छन्’ भनेर सोध्छु। छोराकै क्याम्पसमा पढ्नेका घरमा किरिया बस्न गइयो भने त उसले थाहा पाएर बर्बाद होला भन्ने भयले सताउँछ।’
सुरुमा उनी पशुपति विकास कोषमा सफाइ कर्मचारी थिए। ‘रहँदाबस्दा किरियापुत्रीको काम गर्न थालेँ,’ उनले भने।
पशुपतिको किरियापुत्री घर र मृतकको घरमा किरिया बस्नुको अन्तर बताउँदै हरिहरले भने, ‘किरियापुत्री घरमा बस्दा मृतकका मान्छे, आफन्तसँग घुलमिल भइँदैन। एक्लो भइन्छ। त्यसमाथि छोरो घुम्दैफिर्दै आइपुग्ला भन्ने डर ! बरु मृतककै घरमा बस्न ठीक लाग्छ।’
चिन्दै नचिनेको मान्छेको किरिया बस्दा आफूलाई आमाबुबा याद आउने उनी बताउँछन्। ‘जसको किरिया बसे पनि म धर्मछोरा भएर बसिरहेको हुन्छु,’ उनले भने, ‘उनीहरूको आशौच बार्दा मलाई आफ्नै आमाबाबुको किरिया बसेको सम्झना आउँछ।’
‘विकृति मौलाइरहेको छ’
रामहरिका अनुसार किरियापुत्री घरमा भाडामा किरिया बस्नेहरू कमैले मात्र विधिअनुसार नियममा बस्ने गरेका छन्। ‘यसरी जुठो बारेर बस्दा उनीहरूले खान नहुने कुरा पनि खाइरहेका हुन्छन्,’ उनले भने, ‘सबैले त होइन, तर केहीले भने रक्सी पनि खाने गरेका छन्।’ मृतकका आफन्त कुरुवा नहुँदा उनीहरूले अभक्ष्य खाने गरेको उनले बताए। ‘कुरुवा पनि भाडामा नै लिएर राखेका हुन्छन्,’ उनले भने, ‘भाडाका कुरुवाले नै रक्सी ल्याइदिने काम गर्छन्।’
किरियापुत्री घरमा भाडामा किरिया बस्नेहरू चलिआएको नियममा नबाँधिने पशुपति परिसरमै टपरी बुन्ने काम गर्ने सुनीता काफ्ले (नाम परिवर्तन)ले बताइन्। ‘हामीले थाहा पाउँदा किरिया बसेको बेला यताउता छुन नपाउने, जुठो बार्नुपर्ने हुन्थ्यो,’ उनले भनिन्, ‘तर, यहाँ भाडामा किरिया बस्नेले त्यसो गर्दैनन्। रक्सीसमेत खाने गरेका छन्।’
पशुपति विकास कोषका पूर्व सदस्य–सचिव तथा संस्कृतिविद् डा. गोविन्द टण्डनले पनि भाडाका किरियापुत्री ब्राह्मणहरूमा विकृति देखिएको बताए। ‘एक पटक म किरियापुत्री भवनमा साँझ पुग्दा किरियापुत्रीका रूपमा बस्ने मान्छेले जेसुकै खान खोजेको देखेको थिएँ,’ उनले भने, ‘भोलिपल्ट सरसफाइको समयमा पुग्दा त्यहाँ मादक पदार्थका बोतलहरू फ्याँकिएको पाइएको थियो।’
(प्रशिक्षार्थी पत्रकार सुवर्ण गौतमको सहयोगमा)
‘पितृ तार्ने होइन कमाउने काम भएको छ’
डा. गोविन्द टण्डन ,संस्कृतिविद् तथा पूर्व सदस्य–सचिव, पशुपति क्षेत्र विकास कोष
पशुपतिनाथ मन्दिरको आर्यघाट क्षेत्र (भष्मेश्वर घाट) नेपालको प्रसिद्ध घाट हो। पशुपतिनाथ मन्दिरमा भएको घाट क्षेत्रलाई बनारसका घाटहरूजत्तिकै महŒवपूर्ण मानिन्छ। पशुपति पुराणजस्ता ग्रन्थमा पशुपति मन्दिरको दक्षिणको भागमा जीवनको अन्तिम समय व्यतीत गर्न पाउनु पुण्यको काम हो भनेर उल्लेख गरिएको छ।
पशुपति क्षेत्र विकास कोषको स्थापना हुनुअघिसम्म यो घाट वरपरका विभिन्न कार्य अव्यवस्थित थिए। तर, पछि २०४३ सालमा कोषको स्थापना भएपछि घाट, घाटे ब्राह्मण, किरियापुत्री ब्राह्मण लगायतलाई व्यवस्थित गर्न विभिन्न कदम चालियो। त्यो बेला उनीहरूलाई निश्चित पारिश्रमिक दिने व्यवस्था कोषले गरेको थियो।
किरियापुत्री ब्राह्मणहरू पशुपति क्षेत्रमा पहिल्यैदेखि बस्दै आएको देखिन्छ। खास गरी किरियापुत्रीका रूपमा बस्न आउने ब्राह्मण गरिब हुन्थे। त्यति बेला ब्राह्मणको समाजमा इज्जत थियो। किरियापुत्रीका रूपमा काम गर्ने ब्राह्मणलाई सबैले पुण्य कर्म गरेको भन्दै सम्मान गर्थे।
हिन्दू संस्कृतिअनुसार छोरा नहुने मान्छेको निधन हुँदा किरियापुत्रीका रूपमा आफन्त र आमाबुबा नभएको मान्छेलाई राख्ने चलन छ। अन्य ठाउँमा यस्ता मान्छेको किरिया बस्ने आफन्त पुण्य कमाउने भावनाले प्रेरित हुन्थे। पशुपति क्षेत्रमा भने यही कामलाई गरिब ब्राह्मणहरूले आम्दानीको स्रोत बनाउन थाले।
कोषको स्थापनाअघि राजराजेश्वरी किरियापुत्री घरभित्र रहेको मन्दिर छेवैमा चार÷पाँच वटा मात्रै कोठा थिए। कोषको स्थापनापछि कोठाको संख्या बढाइयो। साथै, कर्मकाण्डमा आवश्यक पर्ने सरसामग्रीको पनि व्यवस्था गर्न थालियो। कोठा र सामान प्रयोग गरेबापत कोषले उनीहरूसँग नगन्य रकम लिइरहेको थियो।
पछि २०७० सालतिर कोषको बदनामी हुने किसिमले केही किरियापुत्री ब्राह्मणले व्यवहार गरेपछि कोषले उनीहरूलाई हेर्न छोडेको हो। अहिले कोषले किरियापुत्रीलाई चाहिने भाँडाकुँडालगायत सामान मात्रै उपलब्ध गराउँछ। उनीहरूको पारिश्रमिक उनीहरू आफैँ मृतकका परिवारसँग तय गर्छन्।
छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने हाम्रो परम्परागत मान्यता छ। अहिले छोरीहरूले पनि यो काम गरिरहेका छन्। तैपनि, पितृसत्तात्मक समाजमा स्वर्ग÷नर्कको परिकल्पना गर्दा किरियापुत्री छोरा नै हुनुपर्छ भन्ने मान्यता छ। आर्थिक रूपले नसक्ने र छोरा पनि नभएकाले त गर्ने कुरै भएन। तर, सक्नेले भने पैसा तिरेर किरियापुत्री राख्ने गरेका छन्। तर, अहिले छोरा हुँदाहुँदै पनि पैसा तिरेर किरियापुत्री राख्छन्, जुन स्वीकार्य कुरा होइन। समाज ज्यादै व्यस्त, स्वतन्त्र र स्वच्छन्द भएका कारण यस्ता कुरा देखिएका हुन्।
धार्मिक रूपमा हेर्दा अरूको किरिया बस्नु पुण्यको काम हो। छोरा नभएको अवस्थामा मृतकको किरिया कुनै ब्राह्मणले बसे हुन्छ।
दागबत्ती दिएको मान्छे नै किरियापुत्री हुनुपर्छ र किरियापुत्रीले नै मासिक वा वार्षिक श्राद्धमा सरिक हुनुपर्छ भन्ने विधि–विधान छैन। त्यसैले किरियापुत्री ब्राह्मण १३ दिनको कामपछि स्वतन्त्र हुन्छन्।
पशुपति परिसरका किरियापुत्री ब्राह्मणहरूमा विकृति देखिएको कुरा सत्य हो। एकपटक म किरियापुत्री भवनमा साँझ पुग्दा किरियापुत्रीले जेसुकै खान खोजेको देखेँ। भोलिपल्ट सरसफाइको समयमा पुग्दा त्यहाँ मादकपदार्थका बोतलहरू फ्याँकिएको भेटियो। म सबैलाई त भन्दिनँ, केही किरियापुत्री अनुशासन र नियममा बसेको देखिँदैन। यो विकृति मौलाउँदै गएको छ। पितृ तार्ने होइन, कमाउने काम भएको छ। किरियापुत्री बस्ने कामलाई तपस्याका रूपमा भन्दा पनि व्यापारका रूपमा लिएको देख्छु।
अन्नपूर्ण सम्पूर्णबाट (https://sampurnaweekly.com/news/2724)
युवराज भट्टराई