भवन नहुँदा चिसोले कठ्याङग्रिँदै विद्यार्थी
ओखलढुंगा : मोलुङ गाउँपालिका ४, हर्कपुरस्थित जजलेश्वर गुरुकुल वेद विद्याश्रम माध्यमिक विद्यालयमा वेद पढ्न १४ जिल्लाका विद्यार्थी आउँछन् । वेद पढाउने आवासीय विद्यालय भएकाले आवाश तथा खानाको व्यवस्था विद्यालय व्यवस्थापन समितिले गर्दै आएको छ ।
कक्षा १० सम्मको उक्त विद्यालयमा १ सय ५७ जना विद्यार्थी पढ्छन् । आवासीय भएकाले सबै सुविधान त निःशुल्क छ । तर, चिसोमा टहरामुनि बस्नुपर्दा निकै कठिन हुने गरेको छ ।
कक्षा ४ देखि वेद पढाइ हुन्छ । आवाशीय रुपमा बसोबास गर्न जस्ताका टहरामा कोठा बनाइएको छ । साँगुरो र ठाउँ अभावले एकै ओछ्यानमा दुई, तीन जनासम्म सुत्नु बस्नुपर्छ । अर्कातिर जस्ताबाट चिसोमा रातभरि शित झरेर सिरक भिजाउँछ । चिसोमा शित झरेर हैरान पार्ने रौतहटबाट वेद पढ्न आएका अशोक सुवेदीले बताए । उनले सबै राम्रो भए पनि टहरामा बस्न भने समस्या रहेको गुनासो गरे ।
निजी स्रोतबाट सञ्चालन गरेको माध्यमिक तहमा शिक्षक व्यवस्थपन गर्नै कठिन रहेको स्थानीयको भनाइ छ । पाँचजना शिक्षक मात्रै सरकारी दरबन्दीमा छन् । अन्य ८ जना शिक्षक स्थानीयले चन्दा उठाएर राखेका छन् । पूर्वाधार प्रर्याप्त नहुँदा विद्यालयमा समस्या रहेको स्थानीय नरेन्द्र खतिवडाले बताए । विद्यार्थीलाई टहरामा बस्नुपर्दा चिसोमा कठ्याङ्ग्रिने र गर्मीमा जस्ताको रापले पोल्ने भएकाले समस्या रहेको उनको भनाइ छ ।
२०६८ सालमा सुरु गरिएको गुरुकुल वेद विद्याश्रममा अहिले पूर्वदेखि बर्दियासम्मका वेद पढ्ने विद्यार्थी आउने गरेका छन् । जलजलेश्वर धार्मिक स्थलका नामबाट स्थापना गरिएको वेद विद्याश्रमममा नेपाली, अंग्रेजी, गणित र सामाजिक बाहेक वेदका विभिन्न खण्ड पढाइ हुने गरेको छ । वेद पढ्न आकर्षण देखिए पनि व्यवस्थापन निकै चुनौति रहेको स्थानीयको भनाइ छ ।
शिक्षक र कक्षाकोठा व्यवस्थापन गर्न नै चुनौति रहेकाले आवाश व्यवस्थापन गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक दिनेश खतिवडाले बताए । उनले पूर्वकै एकमात्र वेद पढाइ हुने विद्यालय भएकाले यसको पूर्वाधार विकास र शिक्षक व्यवस्थापन गर्न सके शैक्षिक हब बन्न सक्ने बताए ।
त्रिधार्मिक स्थल जलजलेश्वर महादेव नजिकै विद्यालय रहेकाले शैक्षिक पर्यटनको विकास गर्न सकिने संभावना रहे पनि स्रोत अभाव हुँदा समस्या आएको उनको भनाइ छ ।
विद्यालयको निरीक्षणमा आएका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालयमा पूर्वीय दर्शन पढाउने थलोका रुपमा विकास गर्न सुझाव दिए । उनले मन्त्रालयबाट गर्न सकिने सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । वेद विद्या आश्रमलाई प्रदेश स्तरकै शैक्षिक केन्द्र बनाउन जनशक्ति र पुर्वाधार विकासमा जोड दिनुपर्ने स्थानीय बुद्धिजीवि कुलप्रसाद खतिवडाले बताए ।