धरानको दानावारीबाट प्याराग्लाइडिङ उडान
धरान : धरान उपमहानगरपालिकाको दानावारीबाट प्याराग्लाइडिङ उडान सुरु भएको छ। प्याराग्लाइडिङका लागि उत्कृष्ट स्थान अभावमा नेपाली सेनासहितको प्याराग्लाईडिङ पाइलटले दानावारीमा नयाँ गन्तव्य पहिचान गरेर मंगलबारबाट उडान सुरु गरेका हुन्।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपाली सेना प्याराग्लाइडिङ समूह र नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ प्रदेश १ को संयुक्त रुपमा प्याराग्लाइडिङको नयाँ गन्तव्य पत्ता लगाएको संघका अध्यक्ष भुपेन्द्र चाम्लिङ राईले बताए।
एकहजार २ सय ३० मिटर अग्लो स्थानमा रहेको दानावारीबाट प्याराग्लाइडिङ उडान भर्न अत्यन्तै सहज र सरल भएको उनको भनाइ छ। दानावारीमा प्याराग्लाइडिङ उडानका लागि धरान उपमहानगरपालिका वडा नम्बर ४ ले एक विद्या जग्गा निशुल्क रुपमा उपलब्ध गराएको वडाअध्यक्ष मानबहादुर राईले बताएका छन्।
दानावारीबाट नेपाली सेनाका २३ र स्थानीय सात गरेर ३० जनाले मंगलवार उडान भरेका छन्। जसमा पाँचवटा टेन्डम उडान गरिएको थियो। प्याराग्लाइडिङडान भर्नका लागि त्रिभुवन आर्मी क्लवबाट प्रमुख सेनानी अर्जुन बस्नेतको नेतृत्वमा २३ जना नेपाली सेनाका प्याराग्लाइडिङ पाइलटहरु उडान भर्न धरान आएका छन्।
नेपाली सेनाका प्रमुख सेनानी अर्जुन बस्नेतले धरानको दानवारी प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट गन्तव्य भएको बताए।
प्याराग्लाइडिङमा उडेका धरानका होलिडेजका अध्यक्ष कुन्दन श्रेष्ठले दानवारीको विकासमा तीनवटै तहका सरकारले सहयोग गरे दानवारी प्याराग्लाइडिङको उत्कृष्ट गन्तव्य बनाउन सकिने बताए।
स्थानिय सुमन तामाङे दानावारीबाट प्याराग्लाइडिङ उडान सुरु भएसँगै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगवनमा वृद्धि भएको बताए।
प्याराग्लाइडिङ उडानको तयारी गर्दै नेपाली सेनाका महिला पाइलट।
प्यराग्लाइडिङ उडानको तयारी गर्दै नेपाली सेनाका प्रमुख सेनानी अर्जुन बस्नेत।