लौ हेर कविको दुर्दशा
काठमाडौं : ‘आम मान्छेको छटपटी र चिन्ता साझा हुन सक्छ। मैले बाँचिरहेको समयको आफ्नै छटपटी, चिन्ता र विमर्श नाटक जामुनको रूखले चित्रण गर्छ। थिएटर मल कीर्तिपुरमा मञ्चन भइरहेको नाटक ‘जामुनको रूख’ का निर्देशक केदार श्रेष्ठ नाटकबारे भन्छन्।
उनी भन्छन्, ‘नाटकमा म जस्तै आम युवाले हरेक दिन भोग्ने यथार्थ प्रस्तुत छ। सरकारी संयन्त्रमा चरम बेथिति, ढिलासुस्ती, भ्रष्टाचार, संवेदनाहीनताको सिंगो स्वरूप हो जामुनको रूख। यसले वर्तमान जटिल र विसंगत सामाजिक राजनीतिक अवस्थाको सपाट चित्रण गर्छ।’
सरकारी सचिवालय अघि एउटा बूढो जामुनको रूख ढलेर लमतन्न छ। जामुनका हाँगाबिँगा केही काटिएका छन्। केही असरल्ल छोडिएका छन्। मुख्य कुरा जामुनले एउटा मान्छे किचेको छ। ऊ चल्मलाउँछ, यताउता गर्न खोज्छ तर सक्दैन। घरि चिच्चाउँदै मलाई निकाल्नुहोस् भन्छ, घरि मलाई बचाउनुहोस् भन्दै कराउँछ। ऊ रूखमुनिबाट बाहिर निस्किन अनेक प्रयत्न गर्छ। बाटो हिँड्नेहरू उसलाई देखेर पनि नदेखेजस्तो गरी बेवास्ताले हिँडिदिन्छन्। सरकारी कर्मचारी, विभागका प्रमुखहरू माथिको आदेश चाहिन्छ भन्दै तर्कन्छन्। थिचिएको मान्छेलाई निकाल्न कोही अघि सर्दैन।
जामुनको रूखले मान्छे थिचेपछि नाटकको दृश्य सुरु हुन्छ। सचिवालयमा काम गर्ने, माली, गार्ड हुँदै यो खबर चौतर्फी फैलन्छ। फलानो मिडियासम्म पनि खबर पुग्छ। कृषि तथा फलफूल मन्त्रालय, वन मन्त्रालय हुँदै पर्यटन मन्त्रालयसम्म यो खबर पुग्छ। थिचिएको मान्छे निकाल्न कसैले जिम्मेवारी लिनुको सट्टा मेरो काम होइन भन्दै पर सर्छन्। कर्तव्य र मानवीयतालाई पाखा लगाएर एकपछि अर्कोलाई जिम्मेवारी पन्छाउँदै जान्छन्। पद र पावरमा रहेका व्यक्तिले कसरी नियम र कानुनको चरम दुरुपयोग गर्छन्, नाटकले बोलेको छ।
नाटक हेरिरहँदा हरेक दर्शक सानो काम लिएर सरकारी कार्यालय धाउँदाको दुःख सम्झन्छ, सरकारी कर्मचारीले गरेको व्यवहार र हर्कत सम्झन्छ। हरेकलाई यो कथा आफ्नै हो जस्तो लाग्छ। चाहे मुद्दा मामिलाको काम गर्दा होस् या जग्गा बिक्री वितरण गर्दा होस् वा नागरिकता वा पासपोर्ट नै बनाउँदा किन नहोस् सोझा जनताले अनेक दुःख पाइरहेका छन्।
आजका मान्छेमा मानवीय संवेदना हराउँदै गएकोमा नाटकले व्यंग्य गरेको छ। थिचिएको मान्छे इन्तु न चिन्तु भएर अन्तिम अवस्थामा पुगिसक्यो। तर कसैलाई पनि मान्छेको फिक्री छैन। अझ जामुन मीठो फल्थ्यो, गर्मीयाममा छहारी हुन्थ्यो भन्दै जामुनको रूखप्रति सहानुभूति दर्शाइरहेका छन्। यति मात्र कहाँ हो र कुनै कार्यक्रममा आउँदा विदेशी मन्त्रीले जामुन रोपेका हुन्छन्। जामुनको रूख त्यहाँबाट हटाउँदा उक्त देशसँग नेपालको दौत्य सम्बन्ध बिग्रिने हँुदा ढलेको रूख नहटाउन निर्देशन दिँदै परराष्ट्र मन्त्रालयकी एक कर्मचारी घटनास्थल पुग्छिन्। ठूलोठूलो माइक समाउँदै एक महिला पत्रकार पुग्छिन् र चर्को चर्को स्वरमा मान्छे थिचिएको बेलिबिस्तार लगाउँछिन्।
यसरी ढलेको जामुनको रूख र थिचिएको मान्छेबाट अनेकले स्वार्थ पूरा गर्छन्। अझ साहित्य एकेडेमीको एक कर्मचारीले त थिचिएकै अवस्थामा उसलाई आफ्नो पार्टीमा ल्याउनसमेत पछि पर्दैन। कागजात बोकेर जबर्जस्ती औंठाछाप लगाइदिन्छ। कसैले पनि उसलाई थिचिएको ठाउँबाट निकाल्ने कोसिस नगरेपछि अन्ततः ऊ त्यही मर्छ। उसको लास कंकाल बनिसकेको छ। तर ऊ माथिको राजनीति सकिएको छैन। यस्तै छ हामी बाँचेको समय। हामीले शासन गर्ने राज्यसत्ता र राजनीतिक दलका नेतृत्व।
नाटकले हाम्रो खोक्रिँदै गएको सरकारी प्रणाली, राजनीतिक व्यवहार र कर्मचारी संयन्त्रलाई ठाडो व्यंग्य गर्छ। जामुनको रूखमुनि मान्छे मरिरहँदा नाटकमा पृष्ठभूमिमा पर कतै यी कवितांश लय हालेर वाचन गरिएको हुन्छ।
हो सबै ठीक हुनेछ !
आगो खरानी हुनेछ
खरानी ढुवानी हुनेछ।
सास रहुन्जेल मोज हुनेछ
सास उडेपछि भोज हुनेछ !
मालिक जन्मनेछन् मेरा शोकमा
सालिक ठडिनेछन् चोकचोकमा
यी यही फलदार, मालदार
जामुनको रूखको !
जामुनको रूख नाटकका लेखक भारतीय उर्दु भाषाका साहित्यकार कृष्ण चन्दर हुन्। भारतीय स्वतन्त्रता संग्रामपछि हिन्दी भाषमा पनि कलम चलाएका चन्दरका २० उपन्यास र ३० कथासंग्रह छन्। विशेषत समाजको निम्न स्तरका पात्रलाई आफ्नो पात्र बनाउने चन्दरको जामुनको रूख उत्कृष्ट कथा हो। यो कथाको नाट्य रूपान्तरण लेखन र निर्देशन गरेका हुन् केदार श्रेष्ठले। सामाजिक राजनीतिक कथावस्तुमा काम गर्न रुचाउने श्रेष्ठले चन्दरको यो नाटक अहिलेको नेपालको परिस्थितिलाई बुझाउन अत्यन्तै उपयोगी हुने देखेरै छनोट गरेको बताउँछन्। भन्छन्, ‘जामुनको रूख त एउटा प्रतिनिधि मात्रै हो, नाटकको कथामा जस्तै सरकार, शक्ति र पद पावरले सामान्य जनताको चैन खोसेको छ। पसिना चुसेको छ।’ मौलाउँदै गएको यो गलत व्यवस्था हटोस् भन्ने चाहना आफ्नो भएको उनले प्रस्ट्याए।
जामुनको रूख नाटकमा ढलेको रूख नै ल्याएर प्रस्तुत गरिएको छ। कथालाई बुझाउन दृश्य र संगीतमा काम गरिएको छ। पात्रको मनोदशाअनुसारको प्रत्यक्ष संगीत बज्छ नाटकमा। लयमा वाचन गरिएको कवितांश बेजोड लाग्छ। पात्रहरूले जीवन्त अभिनय गरेका छन्। करिब सबा घण्टाको नाटक सलल बगेको छ। नाटकमा शंकर भण्डारी, कञ्चन संग्रौला, रोशन केसी, मनीष ब्याञ्जु, शक्ति पाख्रिन, हीरा महर्जन, स्नेहा रसायली, सरोज राईलगायतको अभिनय छ।
जामुनको रूख नाटकसँगै मंगलबारदेखि थिएटर मलमा चित्र प्रदर्शनी पनि सुरु भएको छ। थिएटर मललाई हाउस अफ आर्ट एन्ड कल्चरका रूपमा अघि बढाउन विभिन्न कार्यक्रमको सुरुआत गरिएको छ। मलले आर्ट, संगीत, रंगमञ्च, साहित्य सिनेमा जस्ता सिर्जनात्मक विधामा काम गरिरहेको छ।