शिशु मृत्यु प्रकरण : चिकित्सक र अस्पतालमाथि छानबिन
सिरहा : एकैरात तीन शिशुको मृत्यु भएपछि प्रशासनले सिरहाको सप्तऋषि अस्पतालमाथि छानबिन सुरु गरेको छ।शुक्रबार राति अस्पतालमा चिकित्सकको लापरवाहीका कारण तीन शिशुको अकस्मात मृत्यु भएपछि पीडितले न्यायको माग गरेका छन् ।
घटना सार्वजनिक भएपछि छानबिनका लागि समिटि गठन गरिएको जिल्ला प्रशासनले जनाएको छ।इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीको संयोजकमा छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।समितिको सदस्यमा इलाका प्रहरी कार्यालय लहानका डीएपी शरत थापा र स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादव छन् ।
समितिले अस्पतालको दर्ता, नविकरण, चिकित्सकको मेडिकल काउन्सिल प्रमाणपत्र र लापरवाहीबारे छानबिन गरिरहेको संयोजक भण्डारीले बताए।उनका अनुसार शल्यक्रिया गरेका चिकित्सकले मेडिकल काउन्सिलको जाँच पास नगरेको सूचना प्राप्त भएको बताए।‘छानबिनपछि प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाउनेछौं’, उनले भने ।
समयमै शल्यक्रिया भएन
शुक्रबार साँझ सुत्केरी व्यथाले च्यापेपछि सखुवानन्कारकट्टि गाउँपालिका–३ दिनाजपुरकी २५ वर्षीय जानकी यादव लहान–१९ माइतमा रहेका बुबा घुरन यादवको सहारामा सप्तऋषि अस्पताल पुगिन्।उनका पति उपेन्द्र यादव वैदेशिक रोजगारीमा छन्।अस्पताल पुगेपछि उनलाई डाक्टरले शल्यक्रिया गरेमात्रै सुत्केरी हुने सुझाए ।
अगाडि नै सबै रकम तिरेपछि मात्र शल्यक्रिया गरिने चिकित्सले बताएपछि आफन्तले रकमको जोरजम गर्न लागे।जानकीका बुवा घुरनले शल्यक्रियाका लागि ६ हजार रकम तिरे र बाँकी रकम जोहा गर्न लागे।तर सबै रकम नतिरेको भन्दै चिकित्सले समयमा शल्यक्रिया गरेनन्।भर्ना भएको करिब ४ घण्टापछि मात्रै शल्यक्रिया कक्षमा छोरीलाई लगेको उनको बुबा घुरनले सुनाए ।
‘डाक्टर सुनिल विराजीले शल्यक्रिया गरे।बच्चाले पेटमै दिशा खाइसकेको सुनाए,’ उनले भने, ‘बच्चाको अवस्था गम्भीर रहेको भन्दै आईसीयुमा राख्नुपर्ने बताएपछि हामी तयार भयौं।तर केही घन्टापछि बच्चालाई बचाउन सकेनौं भन्दै चिकित्सक बाहिरिए ।’ आफन्तले अदक्ष चिकित्सकको लापरवाहीका कारण बच्चाको ज्यान गरेको आरोप लगाएका छन् ।
उनी मात्रै होइन, शुक्रबार राति नै सोही अस्पतालमा सुत्केरी गराउन आएकी औरही गाउँपालिका–१ का २० वर्षीय प्रमिला यादव र सप्तरी बलानबिहुल गाउँपालिका–३ दुधौलाकी संगीता साहले पनि शिशु गुमाइन्।प्रमिलाको शल्यक्रिया गरी सुत्केरी गराइएको थियो।एकैरात तीन बच्चाको मृत्यु भएपछि सबैको ध्यान अस्पताल र चिकित्सतिर गएको छ ।
तीनै जनाको सुत्केरीको अहिले पनि त्यही अस्पतालमा उपचार भइरहेको छ।सुत्केरीलाई भने अझै बच्चा मरेकोबारे जानकारी दिएका छैनन्।‘नाती त डाक्टरको लापरवाहीले गुमाए।छोरी पनि चिन्ताले बिरामी पर्ने हो की भन्ने डरले ढाँटेर राखेको छु’, जानकीका बुबा घुरनले सुनाए।सोमबार जानकीका बुबा घुरन यादव, संगीताको पति मनोज साह र प्रमिलाका पति लालबहादुर यादवले इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दिएका थिए।तर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको भन्दै जाहेरी लिन मानेको थिएन ।
अस्पतालका प्रमुख पशुपति चौधरीले भने सुत्केरीको शल्यक्रिया डा. रञ्जिता जयसवालले गरेको बताए।उनले चिकित्सकले उपचारका क्रममा कुनै लापरवाही नगरेको दाबी गरे ।
पीडितलाई रकमको प्रलोभन
शिशु मृत्यु भएको केही घन्टाभित्रै शवलाई बलान खोलामा लगेर गाडिएको थियो।अस्पतालको सल्लाहमा पीडित परिवारले आफैं शव गाडेको बुझिएको छ।अनुसन्धानका लागि शव प्रहरीले खोजे पनि फेला पारेको छैन।पीडितले परिवारले फरक–फरक ठाउँ देखाउँदै आएका छन् ।
घटनापछि अस्पतालले रकमको प्रलोभन देखाएर शव गाड्न लगाएको स्रोतको दाबी छ।‘पीडित परिवार र अस्पताल प्रशासनबीच घटना थामथुम सहमति भएको थियो,’ स्रोतले भन्यो, ‘पैसामा कुरा नमिलेपछि घटना बाहिरिएको हो ।’