ठेकेदारको लापरबाहीको हद

ठेकेदारको लापरबाहीको हद

ओखलढुंगा : सिद्धिचरण नगरपालिका–२ निसंखेस्थित उमा कटवाल क्याम्पसको दुईतले पक्की भवन निर्माणका लागि ०६७ सालमा सम्झौता भयो। भवन निर्माणमा स्थानीयले पनि मजदुरीको अवसर पाए।

उक्त योजनाका ठेकेदारले स्थानीय डल्ले सार्की र काजी सार्कीलाई गिट्टी कुट्ने काम दिए। उनीहरूले खुसीले काम गरे। उमेरले ६० काटेका उनीहरू दिनभर काम गर्न नसके पनि टिनका हिसाबले गिट्टी कुटेर ठेकेदारलाई दिन्थे। यसैगरी उनीहरूको गुजारा चलेको थियो। उनीहरूले कुटेको गिट्टीको पैसा नपाएपछि काम छाडे। धेरै पटक पैसा मागे। तर, ठेकेदारले झुलाए मात्रै, पैसा दिएनन्।

आफूले गरेको कामको ज्याला लिन नपाउँदै चार वर्षपहिले उनीहरूको मृत्यु भयो। डल्ले सार्कीले गिट्टी कुटेको १५ हजार ज्याला पाउन कुर्दाकुर्दै कालगतिले मृत्यु भएको स्थानीय श्याम कटवालले बताए। डल्लेका छोरा कुमार सार्की अहिले पनि त्यही भवन निर्माणका लागि खटिएका छन्। उनले पनि ज्याला पाएका छैनन्।

‘मेरा बाउ र काकाले काम गरेको ज्याला नपाउँदै मरे, अरू १५ जनाभन्दा बढीले ज्याला पाएका छैनन्’ ज्याला नपाउँदै मृत्यु भएका डल्ले सार्कीका छोरा कुमारले गहभरि आँसु पार्दै भने। उनी अहिले त्यही निर्माणाधीन भवनमा कामदारका रूपमा काम गर्छन्। उनले अन्नपूर्णसँग भने, ‘अहिले मैले पनि काम गरिरहेको छु, अझै भवनको काम कहिले सकिन्छ भन्न सकिन्न, ठेकेदार बाहिर गएको छ।’ उनले आफूले काम गरेको १ लाख जति रकम अझै पाउन बाँकी रहेको बताए।

उक्त भवनको भारतीय दूतावासको अनुदान सहयोगमा तत्कालीन जिल्ला विकास समितिले ०६७ सालमा ठेक्का लगाएको थियो। अहिले पनि भवन निर्माण सकिएको छैन। बिरुवा पुष्पाञ्जली जेभीले १ करोड ४२ लाख रुपैयाँमा दुई वर्षमा सम्पन्न गर्ने गरी लिएको ठेक्का ९ वर्ष बिते पनि पूरा भएन। अझै ढोका, कम्पाउन्ड, खेल मैदान सम्याउने काम बाँकी छ। निर्माण कम्पनीले तीन जना कन्ट्रयाक्टर फेरिसकेको छ। भवनको घेराबार, झ्याल ढोकालगायत काम बाँकी छ। निर्माण कम्पनीको तर्फबाट जिम्मा लिएका ईश्वर जोशीले समयमा काम गरेनन्। भवनको आधा काम नसकिँदै पेसा नै छाडेर अमेरिका गए। कम्पनीले बबी श्रेष्ठलाई प्रतिनिधि तोकेर काम थाल्यो तर पूरा भएन अहिले फेरि श्रेष्ठबाट सोमबहादुर विकले उक्त काम पूरा गर्ने जिम्मा लिएका छन्। अब १५/२० दिनमा काम पूरा हुने कम्पनीका प्रतिनिधि श्रेष्ठले बताए। उनले दूतावासले रकम भुक्तानी नगर्दा काम अगाडि नबढेको र कामदारलाई दिन नसकिएको दाबी गरे।

ठेक्काको सुरु म्याद ०६९ मै सकिएको थियो। म्याद सकिएपछि भारतीय दूतावासले म्याद थप्ने र बजेट निकासा गर्ने प्रक्रिया सहज रूपमा अगाडि नबढाएपछि समस्या आएको श्रेष्ठको भनाइ छ। अहिले जिल्ला प्रशासन कार्यालय, सांसद तथा जिल्ला समन्वय समितिको दबाबपछि काम भइरहे पनि आयोजनाको म्याद थप्ने र बजेट निकासा गर्ने यकिन भएको छैन। ठेकेदारको लापरबाही र दूतावासको बेवास्ताले भवन अलपत्र परेको सरोकारवालाको भनाइ छ।

त्यहाँ काम गरेका १५ जनाभन्दा बढी कामदारले १० लाख बराबरको ज्याला नपाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत गरेका छन्। भवन निर्माण अन्तिम अवस्थामा पुगे पनि झ्यालढोका तथा घेराबारको काम बाँकी छ।

उमा कटवाल क्याम्पस मात्र होइन, दूतावासको अनुदानमा निर्माण थालिएको खिजीदेम्वाको रगनीस्थित चण्डेश्वरी क्याम्पसको हालत पनि उस्तै छ। ०६६ असारमा निर्माण सुरु भएको क्याम्पस भवन पनि अझै अधुरो छ। तोकिएको समयमा ठेकेदारले काम नगर्दा र थपिएको म्यादमा रकम निकासा नहँुदा सो भवन पनि निर्माणाधीन अवस्थामा छ। केही काम बाँकी हुँदै भूकम्पले जीर्ण बनाएकाले भवन प्रयोगमा नआएको स्थानीय लीलाबहादुर सुनुवारले बताए। उनले ठेकेदारले काम पूरा नगर्दै भूकम्पले भवन चर्किएपछि प्रयोगमा नआएको जानकारी दिए। उक्त योजनामा काम गर्दागर्दै बिलअनुसार रकम भुक्तानी नपाएपछि ठेकेदारले काम पूरा नगरी छाडेका थिए।

तत्कालीन जिल्ला विकास समितिमार्फत ठेक्का लागेका त्यस्ता भवन पूरा नहुनुमा ठेकेदार, जिविस र दूतावास जिम्मेवार रहेको स्थानीयको भनाइ छ। ठेकेदार समयमा काम नगर्ने, ठेक्का लगाउने निकायले सहजीकरण नगर्ने र दूतावासले अनुदान रकम निकासा नगर्नेजस्ता कारणले दुई वटा क्याम्पसको पूर्वाधार अलपत्र परेको रगनीका स्थानीय सुदीप सुनुवारले बताए। काम अलपत्र भएकै अवस्थामा जिल्ला प्राविधिक कार्यालय र जिल्ला विकास समिति खारेज भएका कारण रकम निकासा माग्ने, म्याद थप्ने र काम लगाउने निकायको अनिश्चितताले समस्या आएको थियो।

अहिले जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले समन्वय गर्न थालेका छन्। चाँडै दूतावासका अधिकारीको भ्रमण गराएर समाधान गर्ने पहल भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए। उनले दुवै भवन अनुगमन गरिसकिएको र ठेकेदारलाई काम लगाइएको जानकारी दिँदै काम पूरा गराएर प्राविधिकको सिफारिसअनुसार रकम भुक्तानी दिलाउन पहल भइरहेको बताए।

काम गर्ने, गराउने र अनुदान दिने तीनै पक्षको लापरबाहीले क्याम्पसको पूर्वाधार लथालिंग बनेको उमा कटवाल क्याम्पसका अध्यक्ष शंकर कटवालले बताए। भारतीय दूतावासका जिल्लामा सञ्चालनमा आएका तीनमध्ये २ वटा योजना ९ वर्षदेखि अलपत्र परेका छन्। सहिद आदर्श क्याम्पस रामपुरको भवन भने पूरा भएको छ। समयमा काम नभएको बहानामा दूतावासले पैसा रोक्दा दुई वटा योजना अलपत्र परेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.