पीडितको ‘सिरीखुरी’ एउटै कोठामा
काठमाडौं : उमेर डाँडामाथि पुग्दै गरेका वृद्ध माझी साँघुरो र अँध्यारो कोठामा मकै छोडाइरहेका छन्। त्यही एक छेउमा बाख्रा बाँधिएको छ। यता, छेउमा ग्यास चुलो छ। उतापट्टि विस्तरा छ। अर्को कुनामा अन्नपात थुपारिएको छ।
मेलम्ची नगरपालिका– १० स्थित नमुना माझी गाउँका भूकम्पपीडित चार वर्षदेखि यसरी दिन व्यतीत गरिरहेका छन्। एउटै कोठाभित्र पाँचदेखि १० जनासम्म परिवारको बसोवास छ। अन्नपात मात्र होइन, कुखुरा र बाख्रा पनि मान्छेसँगै छन्। महिलाको सिलाइ–बुनाइ मेसिनसमेत उही कोठामा अटाइएको छ। उनीहरूलाई एउटै कोठामा सामान कहाँ राख्ने ? कहाँ सुत्ने ? कहाँ पकाउने भन्ने समस्या छ।
भूकम्पपीडित विष्णुकुमारी माझीले एउटै कोठामा ४ वर्षदेखि जीविका चलाइरहेको बताइन्। उनले नयाँ घर नबनेका कारण एउटै कोठामा बस्नुपरिरहेको गुनासो गरिन्। ‘जाडो र गर्मीमा एउटै कोठामा बस्न सह्रै गह्रो हुन्छ,’ उनले भनिन्, ‘एउटा त्यो पनि साँघुरो कोठामा जीविका चलाइरहेका छौं।’ कृष्णबहादुर माझीको ८ जनाको परिवार एउटै कोठामा बसिरहेको छ। उनको दुईतले दुई घरवटा घर भूकम्पले भत्काइदिएको थियो। भूकम्प जाँदा रूख समातेर आफू बाँचेको उनले बताए।
श्रीमतीको खुट्टामा चोट लागेको थियो। सबै जना एउटै कोठामा बस्न गह्रो भएपछि छोराबुहारी नातिनातिनीलाई घरमा राखेर आफू बूढाबूढी भने टहरामा बसिरहेको उनले सुनाए। ‘हामी बूढाबूढी खान घरमा आउँछौ,’ उनले भने, ‘जस्ताको टहरामै बसिरहेका छौं।’ भूकम्पमा ५ वर्षकी छोरी गुमाएका ३५ वर्र्षीय पञ्चराम माझीले एउटै कोठामा जेनतेन जीविका चलाइरहेको बताए। ‘के गर्ने, भूकम्पले घर भत्काइदियो, छोरी पनि गुमाउनुपर्यो,’ उनले भने,‘यस्तो बेला एकै कोठे घर पाउनु पनि ठूलै कुरा भयो, अहिलेचाहिँ समस्या भएको छ।’ यही कोठामा गुजारा चलाइरहेको उनले बताए।
भूकम्पपछि बनेका अधिकांश घर साँघुरा छन्। नमुनाका रूपमा विस्तार गरिएका एकीकृत बस्तीमा अझ बिजोग नै छ।
थाई नेपाल एसोसिएसन र रोटरी इन्टरनेससन नेपाल भुटानको सहयोगमा भूकम्प गएको एक वर्षभित्र यहाँ ४६ वटा एककोठे घर निर्माण भएका थिए। यही घरमा भूकम्प गएको ५ वर्षसम्म पनि पीडितहरू बसिरहेका छन्। घर पछाडिपट्टि शौचालय छ। अहिले उनीहरू सरकारबाट ३ लाख अनुदान पाएपछि एककोठे घरको छेउमै अर्को घर माझीहरूले बनाइरहेका छन्। भूकम्पपछि बनेका अधिकांश घर साँघुरा छन्। कोठा साना छन्। परिवार ठूलो छ। नमुनाका रूपमा विस्तार गरिएका एकीकृत बस्तीमा अझ बिजोग नै छ। चौतारा साँगाचौकीगढी–१४ स्थित एकीकृत नमुना माझी बस्तीमा एकै खालका एकै लहरमा ५३ घर बनेका छन्।
३ आना जग्गामा बनेका घरमा ३ वटा साना कोठा र एउटा शौचालय छ। ती कोठा अत्यन्त साँघुुरा छन्। एक परिवारका सबै सदस्य यहाँ अटाउँदैनन्। सो बस्तीकी २६ वर्षीया सोमी माझीले नयाँ बनेको घरमा खान बस्न मात्रै हुने गरेको बताइन्। उनको ६ जनाको परिवार ती साँघुरा कोठामा गुजारा गरिरहेका छन्। ‘जेनतेन चलेको छ, सामान राख्ने ठाउँ नै छैन,’ उनले भने, ‘यहाँ त खान, बस्न मात्रै हो।’ भूकम्पपीडित बाबुराम माझी घर बने पनि त्यो घरबाट निर्वाह चल्नेमा विश्वस्त छैनन्। ‘हेर्नु न यति साना कोठा छन्, कहाँ बस्ने, कहाँ अन्नपात राख्ने, पशुपालन, कुखुरा पालनको कुरै छैन, उनले भने, ‘तैपनि, यत्रो वर्षपछि घर बन्यो, यसैमा खुसी हुनुपरेको छ।’
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन)का प्रमुख सन्तोष निरौलाले परिवार ठूलो भएकालाई समस्या रहेको स्विकारे। ‘भूकम्प परिवार ठूला छन्, कोठा पुग्दैन,’ उनले भने, ‘यही भएर एकीकृत बस्तीमा सामुदायिक भवन बनाउने लक्ष्य राखिएको छ।’ उनका अनुसार भूकम्पपीडितका लागि बनेका घरमा पशुपालन वर्जित छ। त्यहाँ पशुपालन गर्ने स्थान नै छैन।