शैलीमा ‘द म्यारिज प्रपोजल’

शैलीमा ‘द म्यारिज प्रपोजल’

काठमाडौं : नेपाली रंगमञ्चमा विभिन्न भाषाका साहित्यिक कृतिबाट अनुवादित नाटक मञ्चन गर्ने परम्परा पुरानै हो। विश्व साहित्यमा रुसी साहित्यको बेग्लै चर्चा छ। लियो टोल्सटोय, म्याक्सिम गोर्की, आन्तोन चेकोब, जोसेप स्टालिन, अन्ना अखमातोभालगायतका साहित्यकारका पुस्तक संसारभर बढी पढिनेमा पर्छन्।

आन्तोन चेकोबको चर्चित नाटक हो ‘द म्यारिज प्रपोजल।’ यो नाटक सन् १८८८ र १८८९ को बीचमा लेखिएको हो। यो नाटक पहिलो पटक १८९० मा मञ्चन भएको थियो। नाटकमा छिमेकी युवायुवतीबीच कुराकानीको क्रममा आउने मानसिक र वैचारिक विचलन प्रमुख रूपमा देखाइएको छ।

रातोपुलमा रहेको शैली थिएटरमा पुस १८ गतेबाट ‘द म्यारिज प्रपोजल’ नाटक मञ्चन भइरहेको छ। रूसी सांस्कृतिक केन्द्र नेपाल र शैली थिएटरको प्रस्तुति रहेको यो नाटक नवराज बुढाथोकीले परिकल्पना गरेका हुन्।

हात्तीको दाँत चपाउने र देखाउने फरकफरक हुन्छन्। मानिसको द्वैध चरित्रलाई व्यंग्य गर्नुपर्‍यो भने हात्तीको दाँतको विशेषण दिने गरिन्छ। यस्तै नाटक ‘द म्यारिज प्रपोजल’ मा समावेश पात्र पनि द्वैध चरित्रका छन्। भित्र अर्कै, बाहिर अर्कै। एक ७० वर्षीय किसान छन् स्टिपान स्टेपोभना जो राजनीति पनि गर्छ। उसका पुर्खा जमिनदार छन्, पुख्र्याैली सम्पत्तिमा ऐस गरेरै जीवन गुजारेको छ उसले। अविवाहित छोरी नटालिआ स्टेपोभनासँगै बस्दै आएको ऊ छोरीको विवाह गरिदिन चाहन्छ तर खोजेजस्तो मानिस भेटेको छैन। छोरीको बिहे नहुनु भनेको आफूलाई बोझ रहिरहनु हो भन्ने मान्यता बोकेको छ उसले।

नटालियाको छिमेकमै बस्छ इभान भ्यासिलियिच लोमोस। ऊ पनि जमिनदारको सन्तान हो। कामदारका साथमा ऊ खेती किसानमै संलग्न छ। उसलाई मुटुको समस्या छ। नाटकभर घरिघरि अचेत हुने र छट्पटिने व्यवहार देखाइरहन्छ।

नटालिया र इभान विवाह गर्न चाहन्छन्। दुवैले एकअर्कालाई मन पराउँछन्। एक दिन सन्ध्याकालमा इभान विवाहको आग्रहसहित नटालियाको घरमा पुग्छ। कोट पाइन्ट र टाई लगाएर छिमेकी आफ्नो घर आएकोमा दंग छ स्टिपान स्टेपानोभिच।

जब नटालिया र इभान भेट हुन्छन्। उनीहरू विवाद गर्न थाल्छन्। घरि जग्गाको विषयमा विवाद गर्छन् त घरि आफ्नो कुकुर राम्रो र उत्कृष्ट भन्दै तर्क कुतर्क गर्छन्। उनीहरू दुवैलाई आफूले जित्नु छ। इगोको बीचमा आफूहरूले विवाह गर्न चाहेको कुरै बिर्सन्छन्।

मञ्च कलात्मक तरिकाले सजाइएको छ। एकातिर एक्वारियममा माछा पौडिरहेका छन् त अर्कोतिर सुन्दर सोफा, चिटिक्क परेको सजावटले बैठक कोठा भरिपूर्ण छ। कोठामा केही राजनीतिक दलका व्यक्तिबीच छलफल चलिरहेको छ। यही दृश्यसँगै सुरु भएको नाटक, विवाद छलफल र कर्कस गालीगलौजसँग जर्बजस्त विवाहको दृश्यसँगै सकिन्छ।

करिब सवा एक घण्टाको यो नाटक व्यंग्यात्मक शैलीको छ। पात्रका संवादले हसाउँछन्। युवक र युवतीको विवादका क्रममा कर्कश संवादवाचन गर्छन्। केही दृश्य र संवाद दोहोरिरहन्छन्। एकअर्कामा मन पराएका युवक युवतीबीचको जग्गाको विषयमा चर्को विवाद गरेको दृश्य र संवाद केही असहज लाग्छन्। परिवेश पनि समय सुहाउँदो छैन। रिसको अवस्था देखाउन केही अश्लील शब्द प्रयोग गरिएको छ।

नाटकका परिकल्पनाकार तथा निर्देशक नवराज बुढाथोकीका अनुसार नाटकका पात्रमा जस्तै हाम्रो समाजमा पनि छेपारोले झै रङ फेर्ने पात्र छन्। उनीहरूलाई व्यंग्य गर्नु नाटकको उद्देश्य हो।

रंगमञ्चमा लागिरहेका कलाकारले देश विदेशका नाटक हेर्ने, किताब बढी पढ्ने हुनाले पनि निर्देशक वा निर्मातालाई मन परेको नाटकले थिएटरमा स्थान पाउने उनले बताए। नाटकका पात्रले हाम्रै समाजका मानिसलाई देखाउने हुँदा करिब एक सय ३० वर्षअघिको परिवेशमा लेखिएको यो नाटक अहिले पनि समय सान्दर्भिक छ भन्ने निर्देशकको दाबी छ।

समग्रमा नाटक हेर्न लायककै छ। झगडा र विवाद सुनेर मनोरञ्जन लिने हो भने नाटकले दर्शकलाई तान्छ। कलाकारको अभिनयमा परिपक्वता र जीवन्तता भेटिन्छ। मञ्चमा सुवास सुवेदी, स्नेहा पौडेल, शशांक बोहोरा, देवेन्द्र बब्लु, भारती रिजाल, विशाल घिमिरे, दीप्ति पौडेल, निर्भीक भट्टराई, रूपक काफ्ले, सदिन लुइँटेल, सन्तोष बराइली र रविन तामाङको अभिनय छ। नाटक माघ १० गतेसम्म चल्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.