‘मिटर जाऊँ खानलाउन धौ–धौ नजाऊँ ट्राफिकको कारबाही’
ट्याक्सी चलाउन थालेको आठ महिना भयो। नौ कक्षासम्म पढेको छु। पारिवारिक अवस्थाले गर्दा अगाडि पढ्न पाइएन। मेरो घर झापा, दमक हो। कामको खोजीमा २०६० सालमा काठमाडौँ आएको थिएँ। काम खोज्दै ललितपुर, हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटलमा काम पाएँ। दिनहुँ गौरीघाटदेखि हरिसिद्धि आवतजावत गर्न गाह्रो भयो। त्यो जागिर छोडेर ट्याक्सी चलाउन थालेँ। ट्याक्सीको कमाइले अहिलेसम्म त घरखर्च चलकै छ।
किस्ता तिर्न चाहिँ साह्रै गाह्रो हुन्छ। तर, पछि त यस कमाइले परिवार पाल्न पनि गाह्रो होलाजस्तो छ। टुटल, पठाओजस्तो राइड सेयरिङ आइडियाले ट्याक्सीलाई प्यासेन्जर पाउनै गाह्रो भइसक्यो। प्यासेन्जर खोज्दै ठाउँ–ठाउँ धाउनुपर्ने अवस्था छ। यही पाराले त कसरी काम गर्न सकिएला र ? अबको केही वर्षमा ट्याक्सी व्यवसाय नै बन्द हुन्छजस्तो लाग्छ।
बाटोले पनि ट्याक्सी ड्राइभरहरूलाई धेरै दुःख दिएको छ। बाटोमा जताततै खाल्डाखुल्डी छन्। राजधानीको सडकमा होइन, देशको कुन चाहिँ खोलामा ट्याक्सी चलाएकोजस्तो महसुस हुन्छ। खराब बाटोले गर्दा ट्याक्सी बिग्रेको बिग्य्रै गर्छ। बनाउन पनि उत्तिकै महँगो पर्छ। बाटो राम्रो भए चलाउन सजिलो हुन्थ्यो, ट्याक्सी त्यति धेरै बिग्रिँदैनथ्यो र कमाएको पैसा पनि बचत हुन्थ्यो होला। अहिले त कमाइजति ट्याक्सी बनाउनमै ठिक्क हुन्छ।
हाउमचको सास्ती त्यस्तै छ। मिटरमा हिँडियो भने खानालाउन धौधौ हुन्छ। मिटरमा हिँडिएन भने ट्राफिकले समात्छ। सरकारले मिटरको भाउ बढाइदिएको भए हामीले बिनामिटर हिँड्नुपर्दैनथ्यो। न हामीलाई हाउमचको डरले सताउँथ्यो।
प्रस्तुतिः आशक्ति