सन् २०२० मा कस्तो होला प्रविधि ?

सन् २०२० मा कस्तो होला प्रविधि ?

टेक्नोबहादुर 

कुनै वर्षको समाप्तिसँगै प्रविधिका क्षेत्रमा पनि अन्य क्षेत्रमा जस्तै उत्सुकता छाउँछ। नयाँ वर्षमा के–कस्ता नयाँ उपकरण बजारमा आउँछन् ? ठूलादेखि साना कम्पनीले आफ्ना नयाँ उत्पादनको जानकारी वर्षको सुरुवातसँगै दिने गर्छन्। सीईएस अर्थात् कन्जुमर इलेक्ट्रोनिक सोमा यी कम्पनीले आफ्ना नयाँ उत्पादनको घोषणासँगै सार्वजनिक पनि गर्ने गरेका छन्।
अमेरिकाको लस भेगासमा भइरहेको ‘सीईएस २०२०’ मा पनि यस्ता थुप्रै घोषणा भइरहेका छन्। जनवरी ७ दखि १० सम्म हुने सीईएसमा मोबाइलमा फाइभजीदेखि स्ट्रिमिङ एपहरूको क्रान्तिसम्मका पक्ष समावेश गरिएका छन्। स्मार्ट फ्रिज, स्मार्ट टेलिभिजनमा भएका नयाँ प्रयोग, गेमिङ हार्डवेयरका नयाँ आविष्कार, यातायातमा विद्युीतय उपकरणलगायत विषयलाई यस पटक सीईएसमा निकै महत्त्वका साथ हेरिएको छ।

फाइभजीको सुरुवात 

अहिले विश्वका विभिन्न ठाउँमा फाइभजीको सुरुवात भइसकेको छ भने कतिपय मोबाइल कम्पनीले यसमाथि विभिन्न प्रयोग गरिरहेका छन्। यस वर्ष भने फाइभजीमा पनि नयाँ प्रयोग हुने अनुमान गरिएको छ। 

फाइभजीलाई लिएर कुनै निश्चित क्षेत्रफलभित्र मात्रै चल्नेदेखि मोबाइल नेटवर्क भएका सबै ठाउँमा चल्नेसम्मका प्रयोग यस वर्ष हुने अनुमान गरिएको छ। अमेरिकाका विभिन्न ठाउँमा अहिले पनि विभिन्न मोबाइल सेवाप्रदायक कम्पनीले फाइभजीको सेवा दिइरहेका छन्। यस वर्ष भने अमेरिकालगायत विश्वका अन्य देशमा पनि फाइभजीको विस्तार हुने अनुमान गरिएको छ। साथै, एप्पलले ल्याउने नयाँ मोबाइल फोनमा फाइभजीको सुविधा हुन्छ कि हुँदैन भन्नेमा पनि विभिन्न अनुमान सीईएसमा भइरहेका छन्।

फाइभजीलाई लिएर विभिन्न प्रश्नहरू भइरहँदा सीईएसमा भने यसलाई लिएर सकरात्मक प्रतिक्रिया देखिएको प्रविधिसम्बन्धी वेबसाइट ‘द भर्ज डट कम’ले जनाएको छ। द भर्जले भनेको छ, ‘यस वर्ष फोल्डिङ फोनदेखि थ्रीडी स्क्रिनसम्मको पनि उत्पादन बजारमा आउने सम्भावना छ। तर, त्योभन्दा महत्त्वपूर्ण कुरा, फाइभजीको सुविधा विश्वस्तरमा नै पुग्नेछ।’ फाइभजीलाई विश्वस्तरमा पुग्छ भन्नुको पछाडि भने पछिल्लो समय मोबाइल उत्पादक कम्पनीहरूले निर्माण गरेका नयाँ अपरेटिङ सिस्टमसँगै सफ्टवेयरको विकासलाई कारक तत्त्व मान्नुपर्ने द भर्जले जनाएको छ। 

स्ट्रिमिङ प्लेटफर्ममा क्रान्ति

युट्युबमा मात्रै सीमित भएको भिडियो स्ट्रिमिङ सुविधालाई लिएर सन् २०१९ मा नेटफ्लिक्स, फ्लेक्स, हुलुलगायत विभिन्न प्लेटफर्मले फाइदा उठाए। गत वर्ष नेटफ्लिक्स अमेरिकी प्रयोगकर्ताले प्रयोग गर्ने मुख्य स्ट्रिमिङ एपका रूपमा स्थापित भएको ‘बिजनेस टुडे’ले उल्लेख गर्‍यो। यस वर्ष भने यी स्ट्रिमिङ प्लेटफर्म जटिल बन्ने अनुमान सीईएसमा गरिएको छ। 

अहिले बजारमा चर्चित रहेका स्ट्रिमिङ प्लेटफर्महरू आफैँमा द्वन्द्व रहेको द भर्जले बताएको छ। सीईएसमा पनि यी प्लेटफर्ममा हल्ला बढी हाबी भएको तर्क गरिएको छ। सन् २०२० लाई लिएर सीईएसमा अनुमान चलिरहेको छ–‘सबैजसो स्ट्रिमिङ प्लेटफर्मले केही नयाँ कन्टेन्ट उत्पादन गर्नेछन् वा आफ्नो एपलाई लिएर केही नयाँ अफर ल्याउनेछन्। तर, त्योभन्दा बढी यो वर्ष केही हुन सक्ने सम्भावना कम छ।’ त्यसबाहेक, महँगा कलाकार र महँगा कम्पनीसँग सहकार्य गरेर केही नयाँ काम यस्ता स्ट्रिमिङ प्लेटफर्ममा हुन सक्ने अनुमान पनि सीईएसमा गरिएको छ।

नेटफ्लिक्सले अहिले आफ्नै कन्टेन्ट उत्पादन गर्छ भने अन्य प्लेटफर्मले पनि कन्टेन्ट उत्पादन गरिरहेका छन्। साथै, चर्चित ‘फ्रेन्ड्स’, ‘सिनफिल्ड’ जस्ता चर्चित टेलिभिजन सिरिजलाई पनि यस्ता प्लेटफर्मले आफ्नो बनाएका छन्। द भर्जका अनुसार यो वर्ष पनि नेटफ्लिक्समा केही नयाँ कन्टेन्ट उत्पादन हुनेछन्। 

गेमिङमा ८ के रिजोलुसन

गेमिङमा ग्राफिक्सले निकै महत्त्व राख्छ। यही तथ्यलाई ध्यानमा राख्दै विभिन्न कम्पनीले सन् २०२० मा ग्राफिक्समा नयाँ काम गर्ने अनुमान गरिएको छ। ८ के रिजोलुसनलाई गेमरमाझ सोनी वा माइक्रोसफ्टले ल्याउन सक्ने अनुमान सीईएसमा गरिएको छ।

गेमिङ क्षेत्रमा नाम कमाएका निन्टेन्डो, सोनी तथा माइक्रोसफ्ट कम्पनीका बीचमा पनि द्वन्द्व हुन सक्ने अनुमान द भर्जमा गरिएको छ। ‘यी तीन कम्पनीबीच गेमिङलाई लिएर नयाँ उपकरणको निर्माणलगायत पक्षमा प्रतिस्पर्धा हुने देखिन्छ’, द भर्जमा उल्लेख गरिएको छ, ‘अमेजनले आफ्नो क्लाउड गेमिङ सिस्टमलाई बजारमा ल्याउने पनि उत्तिकै सम्भावना छ। एप्पलले पनि आफ्नो टीभी वा आइप्याडमा ठूलो स्क्रिनको सुविधा दिएर गेमरलाई आफूतर्फ आकर्षित गर्न सक्छ।’

विद्युतीय सवारी 

विश्वमा अहिले विद्युतीय गाडीमा विभिन्न प्रयोग भइरहेका छन्। केही देशमा इलेक्ट्रिक गाडी मज्जैले गुडिरहेका छन्। द भर्जले केही वर्षपछि सडकमा इलेक्ट्रिक गाडीले आफ्नो वर्चस्व जमाउने अनुमान गरेको छ। ‘तर, यसको अर्थ संसारले अन्य इन्धनबाट चल्ने यातायातबाट मुक्ति पाउँछ भन्ने होइन,’ द भर्जले भनेको छ, ‘अहिले सडकमा चल्ने सबैजसो यातायातका साधनमा आईसीई इन्जिन छ। यसलाई पूर्ण रूपमा हटाउन अझै केही दशक लाग्न सक्छ।’

अघिल्ला वर्षहरूमा सीईएसमा अटोमोबाइलका प्रदर्शनी पनि भएका थिए। तर, यो वर्ष भने यस्ता प्रदर्शनी छैनन्। जसकारण सीईएसमा यस वर्ष नयाँ विद्युतीय सवारीको प्रदर्शनी नहुने देखिन्छ। निसानको विद्युतीय गाडी र ह्युन्डाईको ‘फ्लाइङ कार’ बाहेक कुनै पनि सवारीलाई सीईएसमा समावेश गरिएको छैन। ‘यस वर्ष पनि पहिलेकै जस्ता बेतुकका विद्युतीय गाडी सार्वजनिक हुन सक्छन्,’ सीईएसको अनुमान छ, ‘सडकमा चालकबिनाको गाडी कुदिरहँदा विद्युतीय गाडीले गरिखाने छाँट देखाएको छैन। तर, टेस्लाले भने केही नयाँ उत्पादन ल्याउन सक्ने सम्भावना छ।’

अन्य प्रविधि

विद्युतीय उपकरणमा परम्परागत रूपमा चलिआएको डीएसएलआर क्यामरालाई मिररलेस क्यामराले विस्थापित गर्ने चर्चा भइरहँदा सीईएसमा भने डीएसएलआर यति छिट्टै नमर्ने तर्क अगाडि सारिएको छ। यसबाहेक स्मार्ट होममा नयाँ सुरक्षाका प्रविधिको विकास उत्साहजनक हुने अनुमान गरिएको छ। साथै, टेलिभिजनमा पनि ४ के रिजोलुसनबाट ८ के रिजोलुसनको विकास यही वर्ष हुने अनुमान सीईएसमा गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.