भारतले इन्धनमा पनि ‘रि–रुट’ दिएन

भारतले इन्धनमा पनि ‘रि–रुट’ दिएन

विराटनगर : भारतले जोगवनी–फारवीसगञ्ज सडक खण्डमा पर्ने मीरगञ्ज पुल मर्मत सुरु गरेपछि प्रदेश १ मा इन्धन आपूर्तिमा समस्या भएको छ। पुस २४ गतेबाट पुल मर्मत गर्न सुरु गरेपछि जोगवनी नाकाबाट इन्धन आपूर्ति पनि रोकिएपछि इन्धन संकट सुरु भएको हो।

भारतीय पक्षले अति आवश्यक इन्धन आयातमा वैकल्पिक सडक प्रयोग गर्न अनुमति नदिएपछि जोगवनी नाका हुँदै विराटनगरबाट प्रवेश गर्ने इन्धन बोकेका ट्यांकर मीरगञ्जपुर पारी रोकिएका छन्। पुल मर्मतका लागि पुस २४ गतेदेखि माघ ६ गतेसम्म सवारी बन्द गर्ने निर्णय गरेको भारतीय पक्षले तेस्रो देशबाट भित्रिएका सवारीका लागि मात्र रि–रुट गर्ने अनुमति दिएको छ। विराटनगर नाकाहुँदै भित्रने इन्धनका लागि रि–रुट नदिएपछि इन्धन वितरणमा समस्या भएको आयल निगम प्रादेशिक कार्यालय विराटनगरका सूचना अधिकारी दिवस विष्टले बताए।

‘इन्धनको नियमतः आपूर्ति गर्न वैकल्पिक व्यवस्थाका लागि निगमको केन्द्रीय कार्यालयमा सुरुमै पत्राचार गरेर केन्द्रीय कार्यालयले भारतसमक्ष प्रयास गर्न पनि रि–रुटको अनुमति दिएन’, विष्टले भने, ‘१/२ दिनमा देला भन्दाभन्दै झन्डै ठप्पको अवस्थामा पुग्यो।’ प्रादेशिक डिपो विराटनगरबाट प्रदेश १ र २ का १४ जिल्लामा इन्धन आपूर्ति गरिँदै आएको छ। १४ जिल्लामा दैनिक आठ लाख लिटरसम्म डिजल र तीन लाख लिटर पेट्रोलको माग छ।

विराटनगर कार्यालयले विराटनगर भन्सारबाट इन्धन नआउने भएपछि भान्टावारी–वीरपुर–भारत नाका प्रयोग गरी बरौनीबाट इन्धन आयात गर्न रि–रुटको व्यवस्था मिलाइदिन निगमको केन्द्रीय कार्यालयमा सोमबार पत्राचार गरेको थियो। यो रि–रुटमार्फत दैनिक दुई सय ५० किलोलिटर पेट्रोल र एक हजार किलोलिटर डिजेल आयात गर्न क्षेत्रीय कार्यालयले निगमसँग अनुमति माग गरे पनि भारतको स्वीकृति नमिल्दा यो प्रकृया रोकिएको हो।

विकल्पमा पाइपलाइनको इन्धन आयात

भारतले इन्धनका लागि रि–रुट नदिएपछि प्रादेशिक कार्यालय विराटनगरले अमलेखगञ्जबाट इन्धन आयात गरेर प्रदेश १ र २ मा वितरण गर्न सुरु गरेको छ। मोतीहारी–अमलेखगञ्ज पाइपलाइनबाट भित्रिएको इन्धन विकल्पका रूपमा पुल मर्मत नभएसम्मका लागि प्रदेश १ मा ल्याएर १४ जिल्लामा वितरण गर्न थालिएको निगमले जनाएको छ।

आयल निगम प्रादेशिक कार्यालय विराटनगरका अनुसार हाल दैनिक ३५ देखि ४० वटा ट्यांकरमा अमलेखगञ्जबाट इन्धन आयात गरिरहेको छ। पुल बन्द हुनुअघि प्रदेश निगमले पाइपलाइनबाट भिœयाएको इन्धन वितरण गरेको थिए। ‘अखलेखगञ्जबाट न्यून मात्रामा पहिले डिजेल ल्याउने गरिएको थियो’, उनले भने, ‘पुस २४ गते यता दैनिक ३५ देखि ४० ट्यांकरसम्म इन्धन आयात गरिरहेका छौं।’ आयल निगम प्रादेशिक कार्यालयले सबै पहिलेको दरमा घटाएर पुल मर्मत नभएसम्म थोरै थोरै मात्र तेल प्रत्येक पम्पलाई वितरण गर्ने र माघ ६ पछि मात्रै पहिलेकै दरमा तेल उपलब्ध गराउन सकिने भनी पम्पहरूलाई सूचित गराएको नेपाल आयल निगम विराटनगरका क्षेत्रीय प्रमुख अशोक साहले जानकारी दिए।

भारतीय सवारीले ट्यांकी भरी तेल हाल्न नपाउने

नेपालमा सामान अनलोड गरी भारत फर्कने ट्रकले ट्यांकी भर्न नपाउने भएका छन्। भारतमा भन्दा नेपालमा डिजेल र पेट्रोल सस्तो पर्ने हुँदा यस अघि भारतीय ट्रकले नेपालमा भरी तेल हालेर भारत फर्कने गरेका थिए। यो क्रम विराटनगरभन्दा काँकडभिट्टा नाकामा बढी भएपछि झापा प्रशासनले भारतीय ट्रकलाई भरी तेल हाल्न प्रतिबन्ध लगाएको छ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले भारतीय ट्रकलाई बढीमा एक सय लिटर मात्रै हाल्न दिने व्यवस्था मिलाएको जानकारी दिए। उनले भने, ‘भारतीय सवारी साधनले नेपालमा इन्धन ट्यांकी भर्न दिँदा नेपालमा इन्धनको हाहाकार हुने र नेपालका लागि ल्याइएको इन्धन पुनः भारतीय सवारी साधनले उतै लैजाँदा नेपाललाई घाटा हुने गरेको थियो।’ भारतमा भन्दा नेपालमा डिजेल १७ रुपैयाँ सस्तो छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.