जल पर्यटन प्रवर्द्धन गर्दै ‘जेटबोट’
भोजपुर : पूर्वकै प्रचलित ‘अक्करको भीर’ को भिरालो, साँघुरो र अप्ठ्यारो जोखिमपूर्ण यात्रा गरेपछि नदीको आसपास पुगिन्छ। भोजपुरलगायत सोलुखम्बु, खोटाङ, संखुवासभा र ओखलढुंगाका मानिस यहीँबाट खकन कसेर भारी बोक्ने गर्थे। अहिले पनि दक्षिणी भेगका ९० प्रतिशतभन्दा बढी सर्वसाधारण र आन्तरिक पर्यटकको बिकल्प नै जलयात्रा हो। यहीँ अरुण नदीको जलयात्राबाट धरान, विराटनगर गर्नुपर्छ। वर्षौंदेखि नदी पार गर्ने विकल्पमा काठको नाउँलाई लिइन्थ्यो। तर, करिब २ वर्षअघि सञ्चालनमा आएको ‘जेटबोट’ले सर्वसाधारणको जीवनशैली नै फेरिएको छ। जेटबोटले दुरी छोटिने र जोखिम कम हुने भएपछि आन्तरिक पर्यटक आगमनमा वृद्धि भएको छ।
विशेष गरी जेटबोटले जलपर्यटनलाई टेवा पुर्याएको छ। जेटबोटबाट जलयात्राको मज्जा लिन चाहने पर्यटकको संख्यामा वृद्धि भएको स्थानीय बताउँछन्। जेटबोट चलेपछि नाउँबाट जोखिम मोलेर नदी वारपार गर्नुपर्ने सास्ती हटेको छ। सर्वसाधारणलगायत बिरामी, सामान ढुवानी र यात्रुलाई जेटबोटले सहज बनाएको छ। हतुवागढी गाउँपालिका ९, हसनपुरको कोप्चेबाट करिब १९ किलोमिटरको दुरी १५ मिनेटमै पार गर्ने भएपछि जीवनशैली नै फेरिएको हो।
‘पहिलेजस्तो काठको नाउँबाट जोखिम मोल्नुपर्ने स्थिति छैन, जेटबोटले आरामले पुर्याइदिन्छ’ स्थानीय देवान लिम्बूले सुनाए, ‘दुरी छोटिएकाले पहिलेजस्तो घण्टौ पालो कुर्नुपर्ने झन्झट छैन, ज्यान पनि सुरक्षित पुग्छ, सामान सुरक्षित हुन्छन्’ यसअघि भिरालो बाटो र नदी पार गर्दा नाउ पल्टिने जोखिमले विगतमा धेरै दुर्घटना हुने गरेको उनले सुनाए। जेटबोटले सबै कठिनाइ कम गरेको उनी बताउँछन्।
अरुण नदी र दूधकोशी नदीमा जेटबोट चलेको यो नौलो होइन। तर, वर्षौंपछि सर्वसाधारणले नै सेवा पाएको भने यो पहिलोपटक हो। यसअघि सगरमाथा आरोहण गर्ने प्रथम विदेशी आरोही न्युजिल्यान्डका सर एडमन्ड हिलारी र उनको टोलीले सन् १९६८ मा चतराको सप्तकोशी नदीबाट जेटबोट चलाएर उदयपुरको दोलालघाटसम्म जलयात्रा गरेका थिए । त्योबेला चतराघाटदेखि १ सय ७५ किलोमिटर लामो दोलालघाटसम्म हिलारी टिमले यात्रा गरेको थियो । पछि २०४८ सालमा अरुण तेस्रो जलविद्युत् आयोजनाको टेन्डरको क्रममा तुम्लिङटारसम्म जेटबोट ल्याइएको थियो।
जेटबोटले विशेष गरी धार्मिक पर्यटनको आकर्षण बढाएको छ। दिनहुँ सयौँको संख्यामा जेटबोट चढेर सुनसरीको चतराधाम जाने र फर्कने तीर्थालुको लाम लाग्ने गर्छ। पहिले साता दिन लगाएर धाम धाउनुपर्ने सास्ती कम भएको तीर्थालु बताउँछन्। हतुवागढी गाउँपालिका ४, खैराङकी सुनसरी राईले भनिन्, ‘जेटबोटले एकैदिनमा तीर्थधाम गएर पनि फकाइदिन्छ, पहिलेजस्तो साता दश दिन हिँडेर धाउनु पर्या छैन’
राज्यले जल यातायातमा ठोस नीति नबनाउँदा जल पर्यटन सोचेजति फस्टाउन नसकेको ३० वर्षदेखि जेटबोट चलाउँदै आएका चालक वृक्ष राई दनुवारले बताए। उनले राज्यको ठोस नीति नहुँदा लगानीकर्तालाई सास्ती खेप्नुपरेको बताए। सरकारले जल यातायातमा रुट पर्मिट, नियमन बनाउनुपर्ने, अनुमति पाउने प्रावधान बनाइदिनुपर्ने उनले बताए। जेटबोटबाट धनकुटाको साँघुरीगढी गाउँपालिका, शहिदभूमि गाउँपालिका, उदयपुरको बेलका नगरपालिका र भोजपुरको आमचोक र हतुवागढी गाउँपालिकाका सर्वसाधारण लाभान्वित छन्।
अहिले नेपाल रिभर ट्रान्सपोर्ट प्रालि २ र बराह क्षेत्र मरिन एन्ड रिसोटर्स प्रालिको ७० र ३५ सिटका २ गरी ४ वटा जेटबोट सञ्चालनमा छन्। जेटबोट व्यवसायीले प्रतिव्यक्ति ५ सय रुपैयाँ भाडादरमा यात्रु बोक्ने गर्छ। यात्रुको जिउधनको सुरक्षा र समयको उचित बचत हुन थालेपछि पेसा पनि फस्टाएको व्यवसायी बताउँछन्। जेटबोट सञ्चालक विशाल राईले भने, ‘जेटबोट आएपछि पहिलेजस्तो समस्या छैन, विशेष गरी बिरामीलाई हस्पिटल पुर्याउन सहज भएको छ, पहिले लामो दुरी भएकाले बिचमै मृत्यु हुन्थ्यो।’
स्थानीय सरकारले पनि जल पर्यटनलाई ध्यानमा राखेर पर्यटन प्रवद्र्धन गर्न जुट्ने प्रयास गरिरहेको हतुवागढी गाउँपालिकाका प्रमुख प्रेमकुमार राईले बताए। उनले भने, ‘जेटबोटमा आउने पर्यटकलाई हाम्रा पर्यटकीय क्षेत्र घुम्ने र घुमाउने किसिमका गाउँपालिकाबाट योजना बढाइरहेका छौं’, पर्यटकीयस्थललाई आगन्तुकको पहुँचमा पुर्याउने गाउँपालिकाले अध्ययन गरिरहेको उनले बताए ।