अमेरिका–चीन व्यापार युद्ध अन्त्यतर्फ, विश्व अर्थतन्त्रमा सुधारको संकेत

अमेरिका–चीन व्यापार युद्ध अन्त्यतर्फ, विश्व अर्थतन्त्रमा सुधारको संकेत

काठमाडौं : सन् २०२० को सुरुवातसँगै विश्व अर्थतन्त्रमा सुधारको संकेत देखा परेको छ। दुई वर्षदेखि विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको व्यापार युद्धले दुवै मुलुकका भ्यालू चेन (मूल्य शृंखला)मा आबद्ध भएका खासगरी विकासशील देशको निर्यात व्यापार प्रभावित भएको थियो। विकासशील देशका अर्थतन्त्र प्रभावित भएपछि त्यसले स्वतः विश्व अर्थव्यवस्थामा खतराको संकेत पैदा भएको थियो। अर्को शब्दमा भन्ने हो भने विश्व अर्थतन्त्र अनिश्चित र नाजुक मोडमा थियो।

सन् २०१८ को जुलाइदेखि सन् २०१९ को जुनसम्म अमेरिका र चीनले प्रतिसोध साँध्दै विभिन्न समयमा एक अर्को देशका वस्तुमा भन्सार महसुल बढाए। अमेरिकाले चीनबाट आयात हुने ३६० अर्ब डलर बराबरका वस्तुमा र चीनले ११० अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा भन्सार बढाएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उदयसँगै उनले अमेरिका फस्र्टको नीति अघि सारे। ट्रम्पका सल्लाहकार स्टिभ बेननको ‘इकोनोमिक नेसनालिजम’ (आर्थिक राष्ट्रवाद)लाई प्रधानता दिँदै ट्रम्प प्रशासनले चिनियाँ वस्तुमा भन्सार महसुल बढाउने रणनीति अघि सार्‍यो। यो रणनीतिको अन्तर्य अमेरिका र चीनबीच बढ्दो व्यापारघाटा घटाउनु नै थियो।

अमेरिकाले चीनले थप अमेरिकी वस्तु र सेवा आयात गरेर व्यापारलाई एक हदसम्म सन्तुलनमा लैजान बहुपक्षीय व्यापार सम्झौताको विपरीत गएर गरेको कार्यले विद्यमान विश्व व्यवस्था (वल्र्ड अर्डर) मा चुनौती थप्ने विश्लेषण गरिएको थियो।

दुई वर्ष लामो द्वन्द्वपछि अमेरिका र चीन समस्या समाधानको बाटोमा अघि बढेका छन्। यसले विकासशील देशका अर्थतन्त्रमा समेत उत्साहको सञ्चार गराएको छ। अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ ही बीच सम्पन्न ‘पहिलो चरण’को व्यापार सम्झौताले अमेरिका र चीनमात्र होइन विश्वभरका अर्थतन्त्र लाभान्वित हुनेछन्।

अन्तर्राष्ट्रिय सञ्चार संस्था ‘बीबीसी’का अनुसार, चीनले सन् २०१९ वर्ष तीन दशककै न्यून आर्थिक वृद्धिदरमा चित्त बुझाउनु परेको छ। जसमा व्यापार युद्ध प्रमुख कारण हो। ‘सन् २०१९ मा चिनियाँ अर्थतन्त्र ६.१ प्रतिशतले विस्तार भएको छ, पछिल्लो २९ वर्षकै यो कमजोर वृद्धिदर हो’, बीबीसीले भनेको छ। चीनले व्यापार युद्धका बाबजुद आर्थिक वृद्धिदर बढाउन दुई वर्षमा दर्जनौं उपाय अघि सारेको छ। तर, उत्पादनमूलक क्षेत्र कमजोर भएकाले अपेक्षित आर्थिक वृद्धिदर हासिल हुन सकेन। चीनका उत्पादनमूलक उद्योगको मूल्य शृंखलामा आवद्ध भएका बाह्य देशका आपूर्तिकर्तामात्र होइन, व्यापार युद्धका कारण चीनमा लगानीसमेत घटेको थियो। लगानीकर्तामा उत्साह नदेखिनुमा व्यापार युद्ध र अनिश्चितता नै प्रमुख कारण थियो।

चीनको भन्सार महसुल वृद्धिले अमेरिकाको पोर्क र सोयाबिन उत्पादकलाई सबैभन्दा ठूलो असर परेको थियो। त्यस्तै, अमेरिकाले चिनियाँ स्टिलमा भन्सार बढाएपछि अमेरिकामा निर्माणको लागत उच्च बनेको थियो।

पहिलो चरणको व्यापार सम्झौताअनुसार चीन र अमेरिकाबीच सम्पन्न पहिलो चरणको व्यापार सम्झौतामा चीनले अमेरिकाबाट थप २०० अर्ब अमेरिकी डलरका वस्तु तथा सेवा आयात गर्ने भएको छ। सन् २०१७ मा व्यापार युद्ध सुरु हुनुअघि दुई देशको व्यापारको तथ्यांकबाट चीनले २०० अर्बको अमेरिकी वस्तु र सेवा चीनले आयात गर्नेछ। चीनले सन् २०१७ मा अमेरिकाबाट १ खर्ब ८५ अर्ब डलरको वस्तु र सेवा आयात गरेको थियो।

यसको बदलामा अमेरिकाले १२० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानको महसुल घटाउने भएको छ। ती सामानको भन्सार महसुल १५ प्रतिशतबाट आधा अर्थात् ७.५ प्रतिशतमा झारिनेछ।

अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ ले भने व्यापार सम्झौताबाट चीनले ठूलो युद्ध जितेको विश्लेषण गरेको छ। ‘व्यापार युद्धले चीनलाई अल्पकालीन घाटा भयो, तर उसले दीर्घकालीन लाभ हासिल गर्नेछ’, न्युयोर्क टाइम्सले भनेको छ। यो सम्झौतासँगै चीनमा लगानी र उत्पादन वृद्धि हुनेछ। अन्य विकासशील देशसँग चिनियाँ उत्पादन इकाइमा आपूर्ति शृंखला पुनः सुचारु हुने अपेक्षा गरिएको छ।

सन् २०२० मा चीनबाट अमेरिकामा २६० अर्ब अमेरिकी डलरको वस्तु आयात हुने अनुमान गरिएको छ। त्यस्तै सन् २०२१ मा ३१० अर्ब अमेरिकी डलर पुग्ने अनुमान छ।

यो चरणको व्यापार वार्ताअनुसार अमेरिकाले ठूलो परिमाणमा कृषिजन्य वस्तु निर्यात गर्दै छ। चीनले यो वर्ष (सन् २०२० मा) सन् २०१७ को तुलनामा थप १२.५ अर्ब अमेरिकी डलरको कृषि वस्तु अमेरिकाबाट आयात गर्नेछ। सन् २०२१ मा १९.५ अर्ब अमेरिकी डलरको कृषि वस्तु चीनले आयात गर्ने सहमति छ। सोयाबिन, पोर्क, कपास र गहुँ चीनले आयात बढाउने सूचीमा छन्। दुई देशबीच उत्पन्न व्यापार तनावले अमेरिकाबाट पोर्क र सोयाबिनको निकासीमा समस्या उत्पन्न भएको थियो। सन् २०१८ को जुलाइमा चीनले भन्सार बढाइदिएपछि सोयाबिन र पोर्क निकासी प्रभावित भएको थियो। यसको बदलामा ट्रम्प प्रशासनले फेरि ३४ अर्बको चिनियाँ सामानमा भन्सार बढाइदिएको थियो।

सन् २०१८ कै अगस्टमा फेरि चीन र अमेरिका दुवैले १६÷१६ अर्ब अमेरिकी डलरको एक अर्को देशमा व्यापार हुने वस्तुमा भन्सार महसुल बढाएका थिए। सेप्टेम्बरमा पुनः अमेरिकाले २०० अर्ब अमेरिकी डलरको चिनियाँ वस्तुमा १० प्रतिशत भन्सार महसुल पुर्‍याएको थियो। त्यसको बदलामा चीनले ६० अर्बको अमेरिकी सामानमा १० प्रतिशत भन्सार महसुल लगायो। तनाव बढ्दै जाँदा सन् २०१९ को मे मा ट्रम्प प्रशासनले २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानको आयातमा २५ प्रतिशत भन्सार महसुल लगाएको थियो भने बदलामा चीनले जुन महिनामा अमेरिकाबाट आयात हुने ६० अर्बका सामानमा २५ प्रतिशत भन्सार दर कायम गरेको थियो।

अमेरिका र चीनबीच एक अर्को मुलुकमा व्यापार बढाउने सहमतिसँगै अमेरिकी कम्पनीका उत्पादनको बौद्धिक सम्पत्ति संरक्षण र तिनीहरूको व्यापार गोपनीयता थप सशक्त बनाउने सवालमा पनि चीन सहमत भएको छ। पहिलो चरणको व्यापार सम्झौताले दोस्रो चरणको छलफलका लागि मार्ग प्रशस्त गरेको छ। उच्च भन्सार महसुलबाट प्रताडित भएका चिनियाँ उत्पादकका लागि यसले ठूलो राहत दिएको छ।

–एजेन्सीहरूको सहयोगमा
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.