शिक्षिकाले चम्काएको विद्यालय
दाङ : दंगीशरण गाउँपालिका-७ बोकटीमा रहेको ज्ञानज्योती प्राथमिक विद्यालयमा शिक्षिका छन्। विद्यालयमा प्रधानध्यापकदेखि कार्यालय सहयोगीसम्म महिला मात्रै छन्। सबै शिक्षिका आएपछि विद्यालय नमुना योग्य भएको छ। महिलाको नेतृत्वमा सञ्चालन भएको विद्यालय जिल्लाकै नमुना विद्यालयको रुपमा रहेको दाबी गरिएको छ। विद्यालयको सिकाई शैक्षिक वातावरण, सिकाइ उपलब्धी, व्यवस्थापन, अभिभावकको अपनत्व सबै सो विद्यालयमा नमुना बनेका छन्। कक्षा ५ सम्म सञ्चालन भएको विद्यालय सात जना शिक्षिकाले उदाहरणीय रुपमा अघि बढाएका छन्।
कक्षा कोठा शैक्षिक साम्रागीले भरिएका छन्। कक्षा कोठामा बालबालिकाहरु स्वतन्त्र रुपमा अध्ययन गर्छन्। बालमैत्री विद्यालयको रुपमा रहेको सो विद्यालय पालिकाको नमुना विद्यालय पनि बनेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक उपलब्धी, सिकाई र अतिरिक्त क्रियाकलपसमेत लोभलाग्दो देखिन थालेको दंगिशरणका शिक्षा अधिकृत विनोद अधिकारीले अन्नपूर्ण अनलाइनलाई बताए। विद्यालयमा अध्यापन गराउने सबै शिक्षिका मात्रै भएपछि विद्यालय नमुना बनेको छ।
सात जना महिला शिक्षकले विद्यालय सुधारको अठोट लिएका छन्। गाउँपालिकामै महिलाहरुले मात्रै सञ्चालन गरेको यो नमुना विद्यालय हो। बोकटी नमुना विद्यालयको रुपमा रहेको अधिकारीले बताए। उनले भने ‘यहाँको सिकाई उपलब्धी राम्रो छ, शिक्षिकाहरुको व्यवस्थापन पनि सफल देखियो। जिल्लामा ४ वर्षदेखि सञ्चालन भएको प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (इजिआरपी)ले विद्यालयलाई नमुना बनाउन साथ दिएको छ। विद्यालयमा भएको शैक्षिक सामाग्री नपुग्नेमा कार्यक्रमले शैक्षिक सामाग्री पर्याप्त गराएको छ।
पठन सिप विकाससँगै कक्षा कोठा बालमैत्री बनाउन गरेको सहयोगले अहिले बालबालिकासमेत विद्यालय छोड्न नमान्ने गरेको विद्यालयका निमित्त प्रधानाध्यापक यमकुमारी बस्नेतले बताइन। उनले महिलाले पनि केही गर्न सक्छन् भने विद्यालयको सुधार अठोट लिएको बताइन्। ‘अहिले हामीले विद्यालय सुधारेका छौ’ उनले भनिन् ‘अभिभावक र विद्यार्थीको चाहना अनुसारको विद्यालय बनेको छ।’ सिकाई राम्रो बन्न थालेपछि अभिभावकसमेत विश्वास विद्यालयप्रति बढेको उनको भनाई छ। ‘बालबालिकका पनि कक्षामै रमाउने गरेका छन्’ उनले भनिन् ‘अभिभावक लिन आउँदासमेत विद्यालय छाड्न मान्दैनन। बिहान आउँदा विद्यालय समय पहिले नै केटाकेटिहरु विद्यालय आइसकेका हुन्छन्।’
विद्यालयमा कक्षा ४ मा अध्यनरत लक्ष्मी थापाले घर जस्तै विद्यालय भएको बताइन। कक्षा कोठामै ‘बुक कर्नर’ भएको हुँदा चाहेको विषय पढन पाउँदा धेरै खुशी हुने गरेको बताइन्। ‘कक्षामा बस्दा स्वतन्त्र भइ बसेको जस्तो लाग्छ’ उनले भनिन् ‘गुरुआमाहरुको व्यवहारले खुसी हुन्छौं। विद्यालयमा भने केही पूर्वाधारको अभाव देखिएको छ।’
विद्यालयको पढन सिप सुधारको लागि कार्यक्रमले पढन सामाग्रीहरु उपलब्ध गराएको र जिल्लाका १ सय ३४ विद्यालयलाई एसएमसी ग्राण्ड अन्तरगत कक्षा कोठा सुधारका लागि २ लाख रुपैयाँ अनुदान दिएको इजिआरपीका जिल्ला संयोजक हल्लुप्रसाद चौधरीले बताए। उक्त विद्यालय पनि अनुदान पाउने विद्यालयमा परेको बताए। अभिभावकहरुले समेत छोराछोरीको पठन सिप र सिकाई राम्रो हुँदै गएको बताए। विद्यालयमा अहिले एक सय ५० जना विद्यार्थी छन्। ‘बालबालिकाहरु विद्यालय छाडनै मान्दैनन’ अभिभावक तुलसा गिरीले भनिन् ‘घरमा कसरी राख्ने भन्ने चित्ता हुन्छ।’