राष्ट्रियसभा सदस्य सिंहको उम्मेदवारी खारेजीको माग
जनकपुरधाम : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका शेखरप्रसाद सिंहको उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ। माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट प्रदेश-२ मा अल्पसंख्यक समुहबाट उम्मेदवारी दर्ता गराएका सिंहको मनोनयन खारेजीको माग गरेको हो।
नेपाली कांग्रेसबाट अल्पसंख्यक कोटाबाट मनोनयन दर्ता गराएका प्रतिस्पर्धी भोला पजियारले सोमबार अपरान्ह निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन्। उजुरीमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ को दफा १३ बमोजिम शेखरप्रसाद सिंह सप्तरी जिल्ला अदालतबाट तोकेको सजाय भुक्तान नगरी फरार रहँदै आएको उल्लेख गरेको छ। सिंहलाई सप्तरी अदालतबाट २०४४ असार ३० मा कुटपिट अंगभंग मुद्दामा २ वर्ष कैद जरिवाना हुने फैसला भएको उल्लेख छ। साथै उक्त फैसला तत्कालिन सगरमाथा अञ्चल अदालतबाट सदर भै सर्वोच्च अदालतको पूर्ण इजलासले २०५६ पुस १ गते पुनरावलोकनको निस्सा नहुने भै अन्तिम भएको उल्लेख छ।
उजुरीमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ को दफा १२ (झ) अनुसार कैद अवधिभर उम्मेदवार हुन नपाउने व्यवस्था हुँदाहुँदै उम्मेदवार बनेकोले छानबिन गरी खारेजीको माग गरिएको कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले बताए।