सिक्ने सिकाउने बालबालिका आफैं
सीमा थापा : माघ महिना लागिसकेको छ। यसै महिना श्रीपञ्चमी अर्थात् सरस्वती पूजा पनि पर्छ। यसैको अवसर पारेर धेरै विद्यालयले प्लेग्रुप, नर्सरीलगायतका साना कक्षामा विद्यार्थी भर्नाका लागि विज्ञापन सुरु गरिसकेका छन्। कतिपय मन्टेश्वरी स्कुलको पनि विद्यार्थी भर्नाको विज्ञापन सामाजिक सञ्जाल र अन्य माध्यममा आउन थालिसकेका छन्।
हिजोआज विद्यालयमा मन्टेश्वरी शिक्षा विधि निकै लोकप्रिय हुँदै गएको छ। परम्परागत शिक्षा विधिमा शिक्षकले सिकाउने र विद्यार्थीले सुन्ने मात्र गर्छन्। तर मन्टेश्वरी विधिमा सिक्ने र सिकाउने दुवै बालबालिका आफैंले गर्ने गर्छन्।
२०औं शताब्दीमा इटालीकी शिक्षिका एवं फिजिसियन मारिया मन्टेश्वरीले सुरु गरेको यो शिक्षण पद्धति नेपालमा मात्र नभई अहिले संसारभर लोकप्रिय बन्दै गएको छ। सन् १८९९ मा मन्टेश्वरीलाई शारीरिक अपांगता भएका बालबालिकाका लागि सञ्चालन गरिएको राष्ट्रिय समितिको काउन्सिलरको रूपमा नियुक्त गरियो। त्यहाँ उनले ती विशेष क्षमता भएका बालबालिकालाई कसरी पढाउने भन्नेबारे प्रशिक्षण दिन्थिन्। उनले आफूले त्यहाँ दिएको शिक्षा प्रणालीलाई सामान्य विद्यार्थीका लागि पनि कसरी प्रयोग गर्ने भनेर सोच्न थालिन्। त्यसपछि इटाली सरकारको सहयोगमा ५०÷६० जना असहाय र गरिब बालबालिकालाई जम्मा गरेर शिशुगृह स्थापना गरिन्। उनले विद्यार्थीलाई आआफ्नै रुचिअनुसार विभिन्न किसिमको शिक्षण विधिमार्फत पढाउन थालिन्। उनको सिद्धान्तले बालबालिकालाई पूर्वप्राथमिक तहदेखि नै उचित शिक्षा र संस्कार दिने विषयलाई जोड दिन्छ। शिक्षामा उनको योगदानलाई कदर गर्दै तीन पटकसम्म उनलाई नोबेल पुरस्कारका लागि प्रस्ताव पनि गरिएको थियो।
यस पद्धतिमा बालबालिकालाई विभिन्न क्रियाकलापमा प्रत्यक्ष सहभागी गराएर सिकाउने गरिन्छ। बालबालिका कक्षामा हुने गीत, नृत्य, योगा, खेलकुदलगायतका अतिरिक्त क्रियाकलापमा सहभागी हुन्छन् र तिनलाई हेरेर, छोएर र महसुस गरेर शिक्षा हासिल गर्छन्।
पछिल्लो समय अभिभावकले मन्टेश्वरीलाई खेलाउने र सुताउने ठाउँका रूपमा मात्र लिन्छन्। तर यस विधिमा तीनदेखि ६ वर्षसम्मका विद्यार्थीलाई एकै ठाउँमा राखेर खेलौनाको माध्यमबाट उनीहरूको क्षमता पहिचान गरी त्यसैअनुरूप सिकाइन्छ। यसमा खेलौना, चित्र र रङको माध्यमबाट रमाइलो वातावरणमा साना बालबालिकाले ठूलो उमेरका बालबालिकालाई हेरेर सिक्ने अवसर पाउँछन्। त्यसैले कतिपय अभिभावकले यस्ता पद्धतिमा सिकाइने विद्यालय अलि महँगो भएको गुनासो गरे पनि यस्ता विद्यालयमा आफ्ना छोराछोरीसँगै दिनभरि बिताएर जाने अभिभावकले भने विद्यालयको मेहनतअनुसार आफूले तिरेको रकममा अपशोच नगर्ने गरेको हामीले अनुभव गरेका छौं।
विद्यालय पुगेका आफ्ना छोराछोरी खुसी भएर घर फर्किए र भोलिपल्ट पनि विद्यालय रमाउँदै गए भने अभिभावक दंग पर्ने गर्छन्। त्यसैले ‘लर्निङ विथ प्लेइङ’ सिद्धान्तमा आधारित यस विधि बालबालिकाको चौतर्फी विकासका लागि निकै प्रभावकारी मानिन्छ।
विद्यालयमा दिइने शिक्षाले बालबालिकालाई राम्रो संस्कार प्राप्त हुनुका साथै उनीहरूलाई स्वावलम्बीसमेत बनाउँछ। विद्यार्थीले खेल्ने खेलौना र अन्य वस्तुसँग गाँसिएका आआफ्नै वैज्ञानिक अर्थ पनि हुन्छन्। सोहीअनुसार उनीहरूले खल्दै, सिक्दै पढ्ने र ज्ञान प्राप्त गर्ने गर्छन्।
त्यसैले आफ्ना नानीबाबुलाई विद्यालयमा भर्ना गर्नुअगाडि अभिभावकले पनि धेरै सोचविचार गर्नु आवश्यक हुन्छ। मन्टेश्वरी स्कुल भनेर नाम मात्र राख्ने वा यही नाम लेखेर विद्यालयमा बोर्ड झुन्ड्याएको भरमा परेर त्यसैमा भुलिनु हुँदैन। अभिभावकले विद्यालयमै गएर उक्त विद्यालय आफ्नो नामजस्तै मन्टेश्वरी अवधारणा आधारित रहेर चलेको छ कि छैन भनेर पनि बुझ्नु आवश्यक हुन्छ।
(थापा प्रेरणा विद्याश्रम, ललितपुरकी शिक्षिका हुन्।)