सानी नेरिस्का, ठूला सपना

सानी नेरिस्का, ठूला सपना

म त भविष्यमा एक्ट्रेस बन्छु। आफ्नो जीवनको लक्ष्य बताउँदा सानी मोडेल नेरिस्का स्थापितले जो कोहीलाई निर्धक्कसाथ दिने जवाफ यही हो। उनले यो प्रश्नको जवाफ त्यसै दिएकी भने होइनन्। अहिले उनी सेलिब्रेटी (लिटल मोडल) भइसकेकी छिन्। नौ वर्षकै उमेरमा यस्तो सम्भावना देखाइसकेकी नेरिस्का, दुई ब्युटी पेजेन्ट ‘मिस लिटल आइडल २०१८’ र ‘लिटल स्टार अफ दी इयर २०१९’ विजेता हुन्।

२०५७ भदौ २२, बुवाको मुख हेर्ने दिन परेको थियोे। त्यही दिन काठमाडौंको लगनटोलमा जन्मिएकी हुन्, नेरिस्का। मीनभवनस्थित इङ्लिस प्रिप्यारोटरी स्कुल (ईपीएस) मा कक्षा ४ मा पढ्छिन् उनी। यति सानै उमेरमा दुई–दुई ओटा ब्युटी पेजेन्टको विजेता बन्छु जस्तो लागेको थिएन, उनलाई। उनलाई त प्रतिस्पर्धामा भाग लिन मनपर्छ। यो उनको सानैदेखिको स्वभाव हो। तर, उनको त्यो स्वभाव र प्रतिभाको कारण दुवै पेजेन्टमा विजेता बन्लिन् भन्ने कसैले सोचेका थिएनन्। उनको सफलतामा उनका परिवार, विद्यालयमात्र होइन, उनी आफैं पनि दंग छिन्।

उनी कक्षा ३ मा पढ्दै थिइन्। एकदिन शिक्षकमार्फत स्कुलमा खबर फैलियो, ‘मिस लिटल आइडल बन्न को को इच्छुक छौ ?   इच्छुकले फर्म भर्नु है।’ यो खबर नेरिस्काको कानमा पर्‍यो। स्कुलबाट घर जानेबित्तिकै त्यो खबर आमालाई सुनाइन्। तर, त्यो प्रतिस्पर्धामा कक्षा ४ देखि कक्षा ९ सम्मका विद्यार्थीले मात्र भाग लिन पाउने भनिएको थियो। यसले उनलाई निराश बनायो। आमाले ‘तिमी अहिले सानी छौ, सक्दैनौ भन्ने जवाफ दिइन्।

अलि ठूलो भएपछि भाग लिनु,’ भनेर सम्झाइन्, उनलाई। तर, उनले ‘मभन्दा दुई तीन कक्षा माथिका साथीहरू त हुन्, सकिहाल्छु नि। नसके केही नयाँ कुरा सिक्न त पाउँछु नि। म पनि भाग लिन्छु’ भन्दै अड्डी लिइन्। नभन्दै उनी ‘मिस लिटल आइडल २०१८’ को टाइटल जितिन्। आफूमा प्रतिभा र सिर्जनशीलता भए उमेर र पढाइले छेक्दैन भन्ने प्रमाणित गरिदिइन्, उनले। सानी नेरिस्का अहिले सबैका नजरमा ठूलो भएकी छिन्।

त्यसलगत्तै केही महिनापछि ‘लिटल स्टार अफ दी इयर २०१९’ नामक ब्युटी पेजेन्टमा भाग लिइन्। यसमा पनि एकाएक उनी विजेता बनिन्। यसमा उनले टाइटल जितेसँगै अलराउन्डर, बेस्ट फोटोजेनिक, बेस्ट आर्टिस्ट, ट्यालेन्टजस्ता चारओटा सब–टाइटलको उपाधि पनि प्राप्त गरिन्। यसका लागि उनले पहिलेको पेजेन्टले धेरै नै सहयोग गरेको बताइन्। ‘मिस लिटल आइडल २०१८’ जितिसकेकोले उनलाई यो पेजेन्टमा निकै सहयोग पुगेको बताउँछिन्। ‘म पहिलेको कार्यक्रममा पनि विनर भइसकेकोले पछिल्लो पेजेन्टमा धेरै नै सहयोग भयो,’ नेरिस्काले भनिन् ‘म मा पहिलेको भन्दा कन्फिडेन्ड धेरै नै बढेको पाएँ। यसले मलाई झन् अध्ययनशील र जिज्ञासु पनि बनाएको छ।’ यही क्षेत्रबाट नै उनले अब आफ्नो स्कुल, परिवार र देशको नाम विश्वसामु पुर्‍याउन चाहन्छिन्। नेपालको लिटल स्टार मात्र होइन। वल्र्ड लिटिल स्टार बन्न मन छ, उनलाई।

‘लिटल स्टार अफ दी इयर २०१९’ पछि उनलाई कार्यक्रमहरूमा अतिथिका रूपमा र विभिन्न सुटिङमा जान भ्याइनभ्याइँ छ। हालै उनले नेपाल इन्भेस्टमेन्ट बैंक तथा किरानो आदिको विज्ञापनमा पनि अभिनय गरिसकेकी छिन्। साथै, थुप्रै विज्ञापनका लागि पनि सम्झौता गरिसकेकी नेरिस्का स्क्रिप्ट पढ्नमा व्यस्त छिन्। यससँगै उनले म्युजिक भिडियोमा अभिनय गर्नुसँगै नम्रता   श्रेष्ठको फिल्ममा एक चरित्रका लागि आफ्नो आवाज रेकर्ड गरिसकेकी छिन्। उनको यो व्यस्तताले आफ्नो ‘एक्ट्रेस’ बन्ने सपना पूरा गर्ने बाटोमा पाइला चालिसकेकी छिन्।

मोडलिङबाहेक गीत गाउनु, नृत्य गर्नु, चित्र कोर्नु, पढ्नु, लेख्नु उनको रुचिका विषय हुन्। उनी कक्षा नर्सरीदेखि नै विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिँदै आएकी छिन्। भाग लिने मात्र होइन, कहिल्यै हारेकी पनि छैनन्। उनले आफ्नो स्कुललाई प्रतिनिधित्व गर्दै चित्रकला प्रतियोगितामा पनि भाग लिइसकेकी छिन्। कक्षा ४ सम्मआइपुग्दा उनको कोठा अवार्ड र ट्रफीले भरिएका छन्। उनको आमाले भन्छिन् ‘नानीलाई हामीले केही सिकाउन परेन। आफूले सक्ने काम ऊ आफंै गर्छे। सानैदेखि टीभी, मोबाइल र युट्युब हेरेर अभिनय र नृत्य गर्छे।’ उनलाई मन पर्ने मोडल तथा मिस नेपाल हुन्, शृंखला खतिवडा। उनी भन्छिन् ‘मलाई शृंखला खतिवडाको क्याटवाक र कन्फिडेन्टले बोल्ने तरिका निकै मनपर्छ। मैले उहाँको सबै भिडियो हेरेको छु। केही गर्ने उत्प्रेरणा मिलेको छ।’ त्यसैगरी उनी प्रदीप खड्काको ठूलो फ्यान हुन्। स्कुलमा पनि आजसम्म उनी दोस्रो भएकी छैनन्। सबै कक्षामा प्रथम। उनी विद्यालयमा पनि शिक्षकशिक्षिकादेखि सबै साथीहरूको नजरमा प्यारो छिन्।

उनले यो सफलता त्यति सजिलै प्राप्त गरेकी होइनन्। उनी बिहानै ६ बजे उठ्छिन्। डटेर पढ्छिन्। स्कुल जान्छिन्। खाली समय खेलेर बिताउनुभन्दा अभिनय, मोडलिङ अभ्यास गर्छिन्। अल्छी लागे पेन्टिङ गर्न थाल्छिन्। गीत गुनगुनाउँछिन्। उनलाई सबैभन्दा मन पर्ने विषय गणित हो। भन्छिन् ‘गणितले दिमाग बढाउँछ। सही भए धेरै नम्बर आउँछ र गलत भए। सबै जान्छ। त्यसैले यसले मेहनत गर्न पनि सिकाउँछ।’ उनी थप्छिन् ‘मैले पढाइलाई नै बढी महत्त्व दिएको छु।’ आफू मात्र होइन उनले साथीहरूलाई पनि पढ्नुपर्छ भन्ने सल्लाह दिन्छिन्। छोरीको खुसी हाम्रो खुसी भन्दै उनको आमाबुवा पनि हरपलसाथ दिइरहेका छन्। उनको आमा भन्छिन्, ‘हामीले छोरीलाई पढाइमै फोकस गर्न भनेका छौं। त्योसँगै आफ्नो रुचिको काम गरोस् हाम्रो साथ र सहयोग सधैं रहनेछ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.