कैलालीमा माघी माहोल (फोटो फिचर)
धनगढी : थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघीको गाउँगाउँमा रौनक बढिरहेको छ । उनीहरुले महिनाभरी विभिन्न महोत्सव, नाचगान र सांगीतिक कार्यक्रम गरी माघी मनाइरहेका छन्।
कैलालीको गोदावरी नगरपालिका ८ मजगाउँमा पनि माघी महोत्सव सुरु भएको छ । थारु समुदाय कसैले यसलाई 'माघी' र कसैले 'माघ' महोत्सव भन्दै आएका छन्। मजगाउँमा रहेको थारु संग्राहलयको प्रांगणमा माघ महोत्सव सुरु भएको छ । थारु कल्याणकारी सभा गोदावरी नगर समितिको आयोजनामा माघ महोत्सव सुरु भएको हो ।
महोत्सवको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले उद्घाटन गरिन् । कार्यक्रमको उद्घाटन गर्दै उप प्रमुख कडायतले थारु संग्रहालयलाई पूर्ण रुपमा विकसित गराउन नगरपालिकाले बजेट विनियोजन गर्ने बताइन् ।
महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ। महोत्सवमा थारु समुदायका भेषभुषा, कला, संस्कृति झल्कने झाँकी, नृत्य प्रस्तुत गरिएका छन् । लामो समयदेखि हिउँदे झरी र हुस्सुले आजीत भएका कैलालीबासी बुधबार घाम लागेसँगै महोत्सव हेर्न उर्लिए।
'थारु भाषा, संस्कृति, कला, गीतवास हमार पहिचान, अधिकार सुनिश्चितता ओ संमृद्ध समाज निर्माण करना हमार साझा अभियान' भन्ने नाराका साथ थारु कल्याणकाणी सभा गोदावरी नगर समितिले महोत्सवको आयोजना गरेको हो ।
उद्घाटन कार्यक्रम थारु कल्याणकाणी सभा गोदावरी नगर समितिका अध्यक्ष जनकलाल चौधरीको सभापतित्वमा भएको थियो । महोत्वस माघ १० गते सम्म संचालन हुनेछ । महोत्सवमा विभिन्न थारु परिकारका स्टल राखिएका छन्।