प्रसारण लाइन विस्तार अवरुद्ध

प्रसारण लाइन विस्तार अवरुद्ध

गोरखा : ‘गेम चेन्जर’ आयोजनाका रूपमा लिइएको मर्स्याङ्दी करिडोर २२० केभी डबल सर्किट विद्युत् प्रसारण लाइन विस्तारको काम एक वर्षदेखि ठप्प भएको छ। राजधानीको लाइफ लाइन हुने लक्ष्य राखिएको सो आयोजनाको गोरखाको पालुङटार नगरपालिका खण्ड एक वर्षदेखि अवरुद्ध भएको आयोजना प्रमुख चिरन्तनविक्रम राणाले जानकारी दिए।

मनाङको धारापानीबाट चितवनको भरतपुरस्थित न्यू भरतपुर सबस्टेसनमा पुगेर टुंगिने नौ करोड अमेरिकी डलर युरोपेली इन्भेस्ट बैंकको सहुलियतपूर्ण ऋणमा सो आयोजना एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम सञ्चालन भइरहेको थियो। तर, पालुङ्टार खण्डको ५.६ किलोमिटर खण्डको १६ वटा टावर निर्माण गर्ने काम गत वर्ष माघदेखि ठप्प भएको आयोजना प्रमुख राणाले बताए।

पालुङ्टारमा निर्माणाधीन स्मार्टसिटी र प्याराग्लाइडिङ जोखिममा पर्ने भन्दै नगरपालिकाको वडा नम्बर ४ र ५ का बासिन्दाले काम रोकेका मेयर दीपकबाबु कँडेलले जानकारी दिए। ‘पहाडी जिल्लाको एउटा निर्माणाधीन स्मार्ट सिटी हो। यहाँ २२० केभीको प्रसारण लाइन विस्तार गरेपछि सिटीको संरचना सम्भव छैन’, उनले भने, ‘अब पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि त्यहाँबाट विस्थापित भएका प्याराग्लाइडिङ यहाँ स्थापित गर्ने योजना अघि बढिरहेको छ। परीक्षण उडान पनि सम्पन्न भइसकेको छ। यस्तो अवस्थामा यहाँबाट २२० केभीको प्रसारण लाइन कसरी विस्तार गर्न दिन सकिन्छ ? ’

पालुङ्टारको उत्तरपश्चिमबाट लिगलिगकोटको पछाडिबाट सिरानचोक हुँदै नयाँ रुट कायम गर्न स्थानीय विकल्प दिइएको सो क्षेत्रबाट विजयी प्रदेश सांसद हरिशरण आचार्यले बताए। ‘मर्स्याङ्दीको किनारै किनार लैजानुपर्ने वा लिगलिगकोटको पछाडिबाट लैजानुपर्ने विकल्प स्थानीयले दिएका छन्’, उनले भने, ‘तर राजनीतिक दाउपेचका कारण हुन सक्छ, पालुङटार बजारको बीचबीचै लैजान माथिल्लो तहमै लबिङ गरिएको छ।’ मर्स्याङ्दीको किनारै किनार लाँदा पालुङ्टार विमानस्थललाई बाधा पर्ने बहाना बनाउँदै भाँजो हालिएको उनले बताए।

लामो समयदेखि विवाद समाधान नभएपछि सहरी विकास मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, ऊर्जा मन्त्रालय र आयोजनाका एकेक जना प्राविधिक, प्रतिनिधिसभाका सांसद चूडामणि खड्का, प्रदेशसभाका सांसद हरिशरण र नगरपालिकाका मेयर दीपकबाबु कँडेल रहेको विवाद समाधान कार्यदल बनाइएको थियो। तर, अहिलेसम्म समितिको बैठक बस्न नसकेको सांसद आचार्यले बताए।

‘एकातिर आयोजना प्रमुखले काम सुचारु गर्ने वातावरण बनाइदिन दबाब दिएको दियै गर्ने, अर्कातिर कार्यदलको बैठकै बस्न नसकेपछि ऊर्जामन्त्रीको विशेष पहलमा पूर्वप्रधानमन्त्री तथा सांसद बाबुराम भट्टराई, प्राधिकरणका सीईओ कुलमान घिसिङ, सहरी विकास मन्त्रालयका प्रतिनिधि, नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि, स्मार्टसिटीका आयोजना प्रमुख र २२० केभी प्रसारण लाइन आयोजना प्रमुख राणा समेतको उपस्थितिमा माघ ४ गते पालुङ्टारका बासिन्दासँग अन्तरक्रिया कार्यक्रम गरियो। त्यहाँबाट पनि कुनै निष्कर्ष निस्कन सकेन।’ अर्को बैठकमा फेरि छलफल गर्ने निर्णय भएको उनले बताए।

पालुङटार विमानस्थल चल्न पनि बाधा नहुने र बस्ती क्षेत्रमा कम क्षति पुग्ने गरी प्रसारण लाइन निर्माण गर्न पूर्वप्रधानमन्त्री भट्टराईको जोड छ। ‘प्राविधिक दृष्टिमा सम्भव भएमा रुटको विकल्पबारे पनि अध्ययन गरौँ, सम्भव नै नहुने देखिए अहिले प्रस्ताव गरिएको रुटबाट पुग्ने क्षति कम गर्ने तर्फ सोचौँ’, भट्टराईले भने, ‘मासु पनि खाने, रगत पनि नबगाउने भनेझैं विकास पनि चाहिने, आफ्नो केही पनि नगुमाउने भनेर विकास सम्भव हुँदैन। यसो भन्न थाल्यौँ भने यहाँ आएको विकास पनि गुमाउन सक्छौँ, त्यसैले थोरै गुमाएर धेरै लाभ लिने गरी अगाडि बढौँ।’

सो कार्यक्रममा उपस्थित भएका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले क्षति कम हुने गरी विस्तृत रूपमा प्राविधिक अध्ययन गरी रुट तय गरिएकाले निर्माणमा सहयोग गरिदिन स्थानीयलाई आग्रह गरेका थिए। ‘एयरपोर्ट नचाहिने हो भने मर्स्याङ्दी नदीको किनारै किनार लैजाँदा धेरै सजिलो र टावर पनि कम बनाउनुपर्छ’, उनले तर्क गरे, ‘त्यहाँबाट लैजाँदा एयरपोर्ट या प्रसारण लाइनमध्ये एक छाड्नुपर्ने देखिएपछि दुवै सञ्चालन हुन सक्ने विभिन्न विकल्पमाथि छलफल गरी अहिलेको रुट नै उत्कृष्ट प्राविधिक विकल्पका रूपमा तय गरिएको हो।’ तत्काल यो लाइनको निर्माण गर्न नसकेमा मर्स्याङ्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्यत् प्रवाह गर्न नसकी अर्बौं रुपैयाँ पेनाल्टी तिर्नुपर्ने संवेदनशील अवस्था रहेको उनले बताए। ‘विकासविरोधी पनि हैन तर मेरो जग्गाबाट पनि लाइन लैजान दिन्न भन्नु भएन’, उनले सम्झाए, ‘अहिले तय गरिएको रुटबाटै अझै कम क्षति हुने गरी लाइन निर्माण गरिनेछ।’ उनले स्मार्ट सिटीको रुपमा विकास गर्न लागिएको पालुङटारमा विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन ठूलो क्षमताको सबस्टेसन बनाइदिने प्रतिबद्धता जनाए।

नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक कृष्णप्रसाद पौडेलले पालुङटार एयरपोर्ट सञ्चालनमा ल्याउन चालु वर्षबाट स्तरोन्नति गर्न लागिएको भन्दै मर्स्याङ्दीको किनारै किनार प्रसारण लाइन निर्माण गरे एयरपोर्ट चलाउन नसकिने प्रस्ट पारे। अवरोध हटेमा चैतभित्र प्रसारण लाइनको निर्माण सकिने घिसिङले बताए।

आयोजनाको उदिपुरदेखि भरपुरसम्मको ६७ किलोमिटर प्रसारण लाइन २०२० डिसेम्बरभित्र विस्तार गर्ने गरी २०१७ जनवरीदेखि टेन्डर भएर काम सुरु भएको आयोजना प्रमुख राणाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.