नेपाली कार्ल मार्क्स !

नेपाली कार्ल मार्क्स !

मदन भण्डारी जस्ता दूरद्रष्टा सैद्धान्तिक स्रष्टा थिए, जसको ‘जबज’ ले नेपाली कम्युनिष्टलाई सञ्जीवनी बुटी दियो।


संसारबाट कम्युनिस्ट शासन पतन हुँदै गएका थिए। नेपालमा पनि ‘कम्युनिस्ट’ भन्नासाथ संकुचनको नजरले हेरिन्थ्यो। एकदलीय राजतन्त्रविरुद्ध २०४६ माघमा जब जनआन्दोलनको गृहकार्य भयो, कांग्रेस–कम्युनिस्ट ‘लाइन’ मिल्यो। प्रजातन्त्रका खातिर।

त्यसअघिसम्म दुवै पक्ष आ–आफ्नै संकीर्णताको दायरामा थिए। दलीय प्रतिस्पर्धा कम्युनिस्टको सिद्धान्त होइन भन्ने कांग्रेसमा थियो। कम्युनिस्टले राजाको निर्दल फालेर अर्को निर्दलीयता ल्याउँछ भन्ने कांग्रेसमा डर थियो। कम्युनिस्टहरू भने कांग्रेसलाई चरम दक्षिणपन्थी देख्थे। तर, बहुदलका लागि लड्न दुवैले अचानक हात मिलाए। त्यसको नेपथ्य भूमिकामा थिए– मदन भण्डारी।

विश्व कम्युनिस्ट पतनको मुख्य कारण जडसूत्रवाद हो भन्ने निक्र्योलमा मदन थिए। त्यसैले उनी हमेशा जनताको मतादेश र प्रतिस्पर्धाको पैरवी गर्थे। वाममोर्चाभित्र उनले यो अवधारणालाई भित्रभित्र बुलन्द गराए। वाममोर्चामा त्यो मान्यता बलियो हुँदै गयो। फलतः कांग्रेस एकसाथ आन्दोलन गर्न तयार भयो। फागुन ७ बाट रन्किएको संयुक्त जनआन्दोलन डेढ महिनामै सफल भयो। देशमा प्रजातन्त्र आयो। राजा संवैधानिक बने।

आन्दोलनार्थ बनेको ‘वाममोर्चा’ प्रजातन्त्रसँगै दर्बिलो कम्युनिस्ट दल बनेर उदायो। मनमोहन अधिकारी नेतृत्वको माक्र्सवादी र सीपी मैनाली नेतृत्वको माले मिलेर नेकपा (एमाले) बन्यो। त्यसका महासचिव बनेर राजनीतिक मैदानमा शक्तिशाली ढंगले उदाए ३८ वर्षीय मदन भण्डारी।

२०४८ मा चुनाव भयो। मदनको नेतृत्वमा एमाले प्रतिस्पर्धामा होमियो। राजालाई श्रीपेच फुकालेर भिड्न आउन चुनौती दिने मदनले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई भारी मतले हराए। काठमाडौंका २ ठाउँबाट जिते। कांग्रेसले बहुमत ल्यायो, एमाले दह्रो प्रमुख प्रतिपक्ष बन्यो। नेपालका कम्युनिस्टका लागि त्यो ठूलो सफलताको खुड्किलो थियो।

पार्टी दोस्रो भए पनि मदनको राजनीतिक ‘क्रेज’ सबैलाई ओझेलमा पार्ने थियो। यसले दुनियाँका आँखा नेपालतिर केन्द्रित गरायो। त्यही क्रममा विश्वप्रख्यात म्यागेजिन ‘न्युजविक’ ले मे २७, १९९१ (जेठ १३, २०४८) मा उनको अन्तर्वार्ता छाप्यो। ‘नेपाल, जहाँ कार्ल माक्र्स जीवित छन्’ शीर्षकमा प्रकाशित उक्त अन्तर्वार्ताले उनको उचाइ झन् माथि पुर्‍यायो।

मिचेल लितभिनले लिएको अन्तर्वार्ताको पहिलो प्रश्न थियो– ‘अरू मुलुकमा कम्युनिस्ट पराजय भोगिरेका बेला तपाईंले जितिन्छ भनेर कसरी ठान्नुभयो ? ’

प्रखर वक्ता मदन भण्डारीको जवाफ थियो– ‘कम्युनिज्मको मुख्य लक्ष्य भनेको समाजबाट शोषण, भ्रष्टाचार र अन्यायको निर्मूलीकरण गर्नु हो। विगतमा कहीँकतै नीति कार्यान्वयनका क्रममा केही गल्ती÷कमजोरी भएका छन् भने कम्युनिज्मकै लक्ष्य विफल भयो भन्न मिल्दैन। हाम्रो पार्टीका सबालमा, हामीले प्रजातन्त्र स्थापनाको निर्णय लिएका छौं र जनताबाट मतादेश लिएर मात्र शासन सम्हाल्नेछौं।’

अनि, जन्मियो ‘जबज’

भण्डारीले उक्त अन्तर्वार्तामा भनेजस्तै जनताबाट मतादेश लिएर मात्र शासन सम्हाल्ने ‘अनौठो कम्युनिस्ट’ नेपालमा फैलियो। त्यस अवधारणाका प्रवद्र्धक थिए– मदन भण्डारी। त्यसलाई मूर्त रूप दिन उनले नेपाली कम्युनिस्टको नयाँ सिद्धान्त प्रतिपादन गरे– ‘जनताको बहुदलीय जनवाद (‘जबज’)।’

२०४९ माघ १४ देखि २० सम्म भएको एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनले यसलाई पारित गर्‍यो। र, त्यो नै पार्टीको मार्गनिर्देशक सिद्धान्त बन्दै आयो। त्यसको बुँदा ४.५ मा बहुदलीय प्रतिस्पर्धाको प्रणालीसम्बन्धी व्यवस्था छ। त्यसमा भनिएको छ–

‘संविधानको परिभाषाभित्र राज्य र त्यसका राजकीय निकायहरू सम्पूर्ण जनताका चासो र सरोकारका विषय हुन्। त्यसमा एउटा मात्र राजनीतिक पाटोको एकाधिकार हुन सक्दैन। अझ राज्यको बल प्रयोग गरेर एउटा मात्र पाटोको एकाधिकार कायम गर्न खोज्नु अत्यन्त गैरजनवादी कुरा हो। अनेक वर्ग रहेको समाजमा, पेसागत विविधता रहेको स्थितिमा पनि र खासगरी वर्गीय विविधता भएको समाजमा अनेक राजनीतिक पार्टी स्वाभाविक रूपमा हुन्छन्। नागरिकका मौलिक अधिकारमा बन्देज नगर्ने हो भने स्वाभाविक रूपमा राजनीतिक चिन्तनमा विविधता पैदा हुन सक्छन्। अझ कम्युनिस्ट पार्टी सर्वहारा– श्रमजीवी वर्गको पार्टी हो र यो सम्पूर्ण वर्गहरूको पार्टी हुन सक्दैन। यो माक्र्सवाद–लेनिनवाद विचार प्रणालीलाई मार्गदशक मान्ने पार्टी हो र सर्वहारा– श्रमजीवी वर्गभित्र पनि अन्य विचार प्रणालीप्रति विश्वास गर्ने व्यक्ति हुन सक्छन् वा रणनीति, कार्यनीतिमा भिन्न मतावलम्बी हुन सक्छन्।यस्तो स्थितिमा एउटा मात्र पार्टीको एकछत्र अधिकार संवैधानिक रूपमा र राज्यको बलसमेत प्रयोग गरेर कायम गर्न खोज्नु एक प्रकारको निरंकुशता र तानाशाही हो। यसकारण हामी राजनीतिमा जनताको निर्णायक भूमिका स्थापित गर्न बहुदलीय प्रतिस्पर्धाको प्रणाली कायम गर्न चाहन्छौं। जनादेशप्राप्त पार्टी र व्यक्तिहरूले नै राजकीय अधिकार प्रयोग गरी शासन प्रशासन चलाउनुपर्छ भन्ने पक्षमा छौं। बहुदलीय प्रतिस्पर्धाको प्रणाली संगठित रूपमा विचार, कार्यक्रम र नीतिहरूका आधारमा पार्टीहरूबीच प्रतिस्पर्धा गर्न पाउने र जनताको निर्णय सर्वोपरि हुने प्रणाली हो। त्यसकारण हामीले यो प्रणालीलाई एउटा निर्णायक महत्त्वको विषयका रूपमा आफ्नो कार्यक्रममा समावेश गरेका छौं।’

यो सिद्धान्त नेकपा (एमाले) ले जब अंगीकार गर्‍यो, कम्युनिस्ट भनेका निर्दलीय एवं निरंकुश हुन् भन्ने संशय सकियो। त्यति मात्र होइन, ‘जबज’को ४.६ मा आवधिक निर्वाचनको व्यवस्था राखियो। त्यसमा भनिएको छ, ‘निर्वाचन कार्यक्रम, विचार र नीतिहरूको बीचमा हुनुपर्छ। एउटै नीति, कार्यक्रम र विचारभित्र केवल व्यक्तिहरूबीच गरिने चुनाव सारतत्वमा पञ्चायती चुनावभन्दा भिन्न हुन सक्दैन। त्यसकारण बहुदलीयताका आधारमा आवधिक निर्वाचन गर्ने प्रणालीलाई हामीले दृढतासाथ सामेल गरेका छौं।’

कम्युनिस्ट पार्टीका हकमा नेपाली माटो र समयको माग सुहाउँदो सावित भयो ‘जबज’। सिद्धान्त पारित भएको ४ महिना नहुँदै ०५० जेठ ३ गते संगठन विभाग प्रमुख जीवराज आ िश्रतससहित मदन भण्डारीको ‘दासढुंगा दुर्घटना’ मा रहस्यमय निधन भयो। उनले जन्माएको ‘जबज’ भने एमालेको प्राण बनेर शक्ति दिँदै अघि बढिरह्यो। त्यसकै बलस्वरूप उक्त पार्टी २०५१ को मध्यावधि निर्वाचनमा ठूलो दल बन्यो।

आकार बढाउँदै गयो। पछिल्लोपालि एमाओवादीसँग एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ। यो अवस्थामा आइपुग्नुमा ‘जबज’ को अहम् भूमिका रहेको यसकै नेताहरू स्विकार्छन्। यद्यपि, एकीकृत दलले निर्देशक सिद्धान्त ‘जनताको जनवाद’ बनाएको छ। जसबाट खासमा बहुदल शब्द झिकिए पनि अन्ततः बहुदल वर्तमानको अपरिहार्यता हो। नेकपा यसबाट विमुख हुने सम्भावना देखिन्न।

विदेश सम्बन्ध

न्युजविकको अन्तर्वार्ता यसरी अघि बढ्छ– ‘मैले देखिरहेको छु, तपाईंसँग उत्तर कोरियाली नेता किम इल सङका पुस्तक छन्। किमलाई कुन रूपमा लिनुहुन्छ ? ’

भण्डारीले भनेका छन्– ‘किम इल सङ सफल कम्युनिस्ट नेता हुन्, जसले आफ्नो देशमा क्रान्ति एवं विकासमा योगदान दिएका छन्। म कुनै पनि विषयलाई लिएर उनको प्रशंसा गर्दिनँ। र, उनको विचारधाराको अनुकरण गर्नुपर्छ भन्ने ठान्दिनँ पनि।

माओका लेखनबारे नि ?

– हाम्रो देशका गाउँघरतिरका केही युवा चिनियाँ क्रान्तिबारे अध्ययन गरिरहेका छन् र यसबाट केही सिकिरहेका छन्।

नेपालको कम्युनिस्ट पार्टीलाई चीन, सोभियत संघ र उत्तर कोरियाजस्ता देशका कम्युनिस्टसँग कसरी तुलना गर्न सकिन्छ ?

– ती सबैले नयाँ समाज निर्माण मुक्ति, समानता र न्यायको बाटो अवलम्बन गरेका छन्। ती मुलुकमा कम्युनिस्ट आन्दोलनको विस्तार फरक ढंगले भएको छ। चीन सशस्त्र युद्धबाट मुक्त भएको हो। तर, नेपालमा हामी शान्तिपूर्ण आन्दोलनमा छौं। चीन र उत्तर कोरिया विदेशी प्रभुत्व एवं हस्तक्षेप बेहोरिरहेका छन्। नेपालमा हामीले विदेशी हस्तक्षेप, साम्राज्यवाद र क्षेत्रीय प्रभुत्ववादविरुद्ध आवाज बुलन्द बनाएका छौं।

केही गैरकम्युनिस्ट तपाईंले चीन र भारतीय कम्युनिस्ट पार्टीबाट पाइरहनुभएको छ पनि भन्छन्।

– यो झुट हो। हामीले कुनै आर्थिक वा भौतिक सहयोगका लागि न कसैलाई भनेका छौं न त लिएका नै छौं– चाहे त्यो चिनियाँ, कोरियाली वा भारतीय कम्युनिस्ट पार्टी किन नहोस्। यस्ता आक्षेप हाम्रा दुस्मनले लगाएका हुन्, जसले विदेशी मुलुकबाट सहायता लिइरहेका छन्।

त्यसो त तत्कालीन एमालेको विदेश नीति पनि जबजले प्रस्टै किटेको छ।

बुँदा ३.१९ मा भनिएको छ–

‘असंलग्न, स्वतन्त्र, प्रगतिशील विदेश नीति अपनाइनेछ। भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई पञ्चशील सिद्धान्तका आधारमा स्थापित र विकसित गरिनेछ। असल छिमेकी सम्बन्धलाई गाढा पार्दै लगिनेछ। साम्राज्यवाद, नवउपनिवेशवाद, रंगभेद, विदेशी थिचोमिचो, हस्तक्षेपको विरोध गर्दै शान्ति, स्वाधीनता, समानता र राष्ट्रिय सार्वभौमिकताको पक्षपोषण गरिनेछ।’

त्यस्तै, बुँदा ४.१२ मा भनिएको छ–

‘आज विश्वमा एकीकृत विश्व कम्युनिस्ट आन्दोलन छैन। तर, विश्वका लगभग सबैजसो देशमा माक्र्सवादी सिद्धान्तको मार्गदर्शनमा आफ्नो देशको ठोस स्थितिअनुरूप क्रान्ति वा निर्माणका निम्ति कम्युनिस्ट आन्दोलन जारी छ। समाजवादी आन्दोलन पनि हरेक देशमा आफ्नो विशिष्टताका आधारमा चलिरहेको छ, त्यसमा पनि एकरूपता छैन। संसारभरका सबै कम्युनिस्ट साम्राज्यवादविरुद्ध छन्। त्यसमा पनि एकरूपता छैन। भिन्नाभिन्नै देश, भिन्नाभिन्नै रूप र भिन्नाभिन्नै कोणबाट तर सबै देशका कम्युनिस्ट साम्राज्यवादविरुद्ध संघर्षमा छन्।

अहिले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा कुनै उल्लेखनीय समूह छैन। यस्तो स्थितिमा हरेक देशमा क्रान्तिकारीले आफ्नै प्रत्यक्ष पहलबाट अन्तर्राष्ट्रिय समर्थन जुटाउनुपर्छ। त्यसकारण हामी सामान्य सैद्धान्तिक अवधारणाका आधारमा सैद्धान्तिक ढंगले आमखालको विरोध वा समर्थनबाहेक ठोस रूपमा आफ्नो देशको क्रान्ति र निर्माणको प्रत्यक्ष लाभ–हानिको हिसाबबाट मात्र विदेश सम्बन्ध सञ्चालन गर्न सक्छौं। हाम्रा निकट छिमेकीहरू, दक्षिण एसियाई देशहरू, हाम्रो क्रान्ति र निर्माणलाई प्रत्यक्ष सहयोग समर्थन गर्ने देशहरू र अरू मित्र देशहरूका आधारमा क्रमिक महत्त्व दिएर पञ्चशीलको सिद्धान्तका आधारमा व्यावहारिक ढंगले सम्बन्ध स्थापना र विकास गर्ने दृष्टिकोण हामीले अघि सारेका छौं।’

धार्मिक स्वतन्त्रता, जातीय समानता

फेरि अन्तर्वार्तामै जाऔं। प्रश्न छ, ‘जातीय प्रणाली र धार्मिक स्वतन्त्रताका सबालमा तपाईंको अवधारणा के हो ? ’

-विभिन्न जातबीच रहेको सामाजिक भेदभाव हामी अन्त्य गर्न चाहन्छौं। तर, विभिन्न जाति–जनजातिका संस्कृति, परम्परा र धर्मको सम्मान गर्छौं। थोरै ज्येष्ठ नागरिकहरूमा जातलाई लिएर कडा छाप छ। तिनीहरूमाथि हामी बल प्रयोग गर्न चाहन्नौं। उनीहरूको अन्तस्करणमै त्यो छ भने हामी पहिला शिक्षा दिने प्रयास गर्छौं।

कथित तल्लो जातका नागरिकलाई हेप्ने कसैलाई अधिकार छैन र कथित उपल्लो जात भन्दैमा कसैलाई मान–सम्मान दिन मिल्दैन। हामी धर्मनिरपेक्ष राज्य चाहन्छौं। हरेकले आफ्नो धर्म अंगीकार गर्न सक्नेछ। राज्य हरेक धर्ममा तटस्थ रहनेछ।

‘जबज’ भन्छ–

‘कुनै पनि एउटा धर्मको एकाधिकार अन्त्य गरी सबैलाई धार्मिक स्वतन्त्रता र समानता प्रदान गरिनेछ। जाति, भाषा र वेशभूषामा रहेको सबै एकाधिकार र विशेषाधिकार अन्त्य गरिनेछ। पछि परेका जाति, भाषा, साहित्य र संस्कृतिको ऐतिहासिक संरक्षण, सम्वद्र्धन र विकासको निम्ति विशेष कार्यक्रम सञ्चालन गरिनेछ।’

जमिनको स्वामित्व

न्युजविकको अर्को प्रश्न छ, ‘देशका जमिनदारप्रति तपाईंको व्यवहार कस्तो हुनेछ ? ’

– हामी जमिनदारबाट जमिन फिर्ता लिएर जोताहा (किसान) लाई दिनेछौं। हामी यो काम अत्यन्त शान्तिपूर्वक गर्नेछौं र पैसा नतिरी कसैको जग्गा लिने छैनौं। जमिनदारले यसमा साथ नदिएको खण्डमा भने शक्ति प्रयोग गर्न बाध्य हुनेछौं।

जमिनदारलाई तिर्ने पैसा कहाँबाट आउँछ ?

– जग्गाको स्वामित्व लिन चाहने किसानबाट संकलन गर्छौं। (आवश्यक परेको खण्डमा) सरकारी कोषबाट समेत खर्च गरिनेछ वा सरकारी स्वामित्वका उद्योगमा सेयर जारी गरेर जुटाइनेछ। आर्थिक संकट आउन नदिन किस्ताबन्दीमा तिर्ने व्यवस्था मिलाइनेछ।

तपाईं सामूहिकीकरणको पैरवी गर्नुहुन्छ ?

– यो अवधारणा कार्यान्वयन गर्न हामी शक्ति प्रयोग गर्ने छैनौं। तर, जनसेवाका लागि सहकारीको ढाँचालाई प्रोत्साहन गरिनेछ।

वास्तवमा भण्डारीको यो अन्तर्वार्ता ‘जबज’कै एक टुक्रा प्रतीत हुन्छ। यसमा प्रायः विषय समेटिएका छन्। र, उनका उत्तर ‘जबज’मा सम्बोधन भएका छन्–

‘जमिनमाथि रहेको सामन्ती भूस्वामित्वको पूर्ण रूपमा उन्मूलन गरी अर्धसामन्ती शोषणका सम्पूर्ण रूपलाई समाप्त पारिनेछ। क्रान्तिकारी भूमिसुधारको कार्यक्रम कार्यान्वयन गर्दै वास्तविक जोताहा तथा भूमिहीन किसानलाई भूमि वितरण गरिनेछ। भूमिमाथि निजी स्वामित्वको नयाँ हदबन्दी कायम गरिनेछ। यसो गर्दा आमरूपमा सामन्तहरूको हदभन्दा बढीको जमिन बिनामुआब्जा जफत गरी जोताहा, भूमिहीन वा गरिब किसानलाई वितरण गरिनेछ। तर, क्रान्तिको पक्षमा लाग्नेहरू तथा धनी र मध्यम किसानहरूको हकमा हदभन्दा बढी जमिन जफत गर्दा यथोचित क्षतिपूर्ति दिन सकिनेछ। त्यसबाहेक जमिनको दोहोरो स्वामित्व समाप्त पार्दा साना भूस्वामीहरूलाई भने मुआब्जा दिइनेछ। जमिनमाथि निजी स्वामित्व कायम गरिए पनि सहकारी खेतीलाई विशेष प्रोत्साहन गरिनेछ।’

विदेशी पुँजी/सहायता

कम्युनिस्टले बहुमत ल्यायो भने नेपालमा विदेशी सहायता कटिनेमा तपाईंलाई चिन्ता छ ?

– कम्युनिस्ट शक्तिमा आउनासाथ विदेशी सहायता रोकिनुपर्ने कुनै कारणै छैन। तर, हाम्रो देशको स्वतन्त्रता, स्वाभिमान, गरिमा र सम्प्रभुता बन्दकी राख्ने सर्तमा हामी कुनै सहायता माग्दैनौं। विदेशी सहयोगभन्दा यी धेरै महत्त्वपूर्ण छन्।

वास्तवमा नेपालजस्तो गरिब देशका लागि विदेशी सहायता अपरिहार्यजत्तिकै हो। मदनले ‘जबज’ मा पनि सहयोग लिन वा पुँजी ल्याउन सकिने तर अनेकन सर्त मान्न नसकिनेमा जोड दिएका छन्। ‘जबज’मा छ–

‘वर्तमान विश्वमा अविकसित पछौटे देशहरू मात्र होइन विकासमान र विकसित देशहरू पनि अन्तर्राष्ट्रिय वा वैदेशिक वित्तीय सहायता, ऋण र सम्पर्कबिना काम गर्न नसक्ने स्थिति बनेको छ। यस्तो स्थितिमा हामी मात्र पनि बाहिरी दुनियाँप्रति बेवास्ता गरेर केवल आफ्नो मात्र स्रोत साधनले अगाडि बढ्न सक्दैनौं। समाजवादी देशहरू पनि यस्तो ऋण सहायता लिइरहेका छन् र विश्व पुँजीवादले खडा गरेको नाकाबन्दीले कतिपय देशमा गम्भीर संकट पनि बढिरहेको छ। यस्तो स्थितिमा हामी वैदेशिक पुँजी र प्रविधिका सवालमा नीतिगत रूपमा आफ्नो ढोका बन्द गर्न सक्दैनौं र बन्द गर्नु हुँदैन। त्यसकारण हामीले आफ्नो कार्यक्रममा संविधान र ऐन÷कानुनको सीमाभित्र राष्ट्रिय हितलाई ख्याल राखेर वैदेशिक पुँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग व्यवस्थित गर्नेछौं।’

न भारततिर, न चीनतिर

भारतलाई हेर्ने विदेश नीतिमा कस्तो परिवर्तन आउनेछ ?

– विगतमा भारतसँग केही असमान र हेपाहा सन्धिहरू भएका छन्। हामी सन्धिहरूको समीक्षा र नवीकरणको पहल गर्नेछौं। हामीलाई हेपिएका र असमान रहेका प्रावधानहरू हटाउन चाहन्छौं। हामीले चाहने एउटा कुरा के हो भने– चीन र भारतसँग धेरै राम्रो सम्बन्ध स्थापित होस्। हामी न चीनतिर ढल्किनेछौं न त भारततिर।

भारतसँगका असमान सन्धि सम्झौताबारे भने भण्डारी निकै आक्रामक देखिन्छन्। तत्कालीन राजाप्रति पनि उनको हेराइ कडा थियो। ‘जबज’ भन्छ– ‘देशका महत्त्वपूर्ण दुई नदी कोसी र गण्डी २०११ र २०१६ सालमा भारतलाई सुम्पिने देशघाती काम भयो। यस्तो राष्ट्रघाती कार्यको धेरै राजनीतिक शक्ति र सचेत समुदायबाट तीव्र विरोध भए पनि तीव्र दमन गर्दै कार्यान्वयन गरियो। यी सन्धि राजको इच्छाविपरीत होइन, उनैको अनुमतिबाट गरिएका हुन्। स–साना कुरामा पनि राजाको आदेशबेगर हुन नसक्ने स्थितिमा त्यत्रो राष्ट्रिय महत्त्वका कुरा त्यसै हुन सक्दैन थिए। तर, जनताबाट व्यापक विरोध भएकाले संसदीय वा बहुदलीय व्यवस्थाले देश बेच्यो भन्ने उत्तेजना खडा गरेर आफू राष्ट्रियताको प्रतीक भएको ‘भक्त बकुल्लो’ बने।

लोकतान्त्रिक व्यक्तित्व

हो, मदन भण्डारीले कम्युनिस्टको धार नै बदले। संसारबाट अस्ताउँदो अवधारणालाई समयानुकूल गरी यता उदाउँदो बनाए। ‘जबज’ त्यही लोकतान्त्रिक विशेषताको उपज हो।

रानजनीतिक व्यवहारका हिसाबमा पनि उनी उदार थिए। मनपर्ने नेतामा बीपीको नाम लिँदा आलोचना खेपे। तर, डराएनन्। बरु अरूलाई पनि जडसूत्रवाद त्यागेर खुला विचार अंगाल्न ध्यानाकर्षण गरे।

मार्टिन चौतारीले निकालेको ‘नेपाली म्यागेजिनका २५ वर्ष’ पुस्तकको पृष्ठ ४८ मा लेखिएको छ,

२०४९ भदौमा सुरुचि साप्ताहिकका सम्पादक राजेश मि श्रले नेकपा (एमाले) काम महासचिव मदन भण्डारीको टोपी नलगाएको फोटो खिच्न मन लागेको भनेर जनमञ्चका फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई भनेका थिए। त्यो कुरा सुरुचिमा लेखेका पनि थिए। त्यसो भन्नुको कारण चन्द्रशेखरसँग जनमञ्चको क्यामेरा भएकाले हो। यो कुरा मदन भण्डारीले प्रतिपक्ष साप्ताहिकका गोपाल गुरागाईंमार्फत थाहा पाए। र, ‘मलाई भनेको भए भैहाल्थ्यो नि’ भनेका थिए। प्रतिपक्ष साप्ताहिकका लागि अन्तर्वार्ता लिन जाँदा गुरागाईंले चन्द्रशेखरलाई पनि लिएर गए। त्यतिबेला उनले भण्डारीको टोपी नलगाएको फोटो खिचे। त्यो फोटो प्रतिपक्ष साप्ताहिकमा छाप्ने भनिए पनि जनमञ्चका प्रधान सम्पादक र प्रकाशकका कारणले जनमञ्चमै छापियो। त्यसैमा जिवेन्द्र सिंखडाले भण्डारीको ‘शब्दचित्र’ लेखेका छन्। त्यही फोटो खिच्नेबेला चन्द्रशेखरले भण्डारीलाई तपाईंको मन पर्ने नेता को हो भनी सोध्दा बीपी कोइराला भनी बताएका थिए। पछि मोहनविक्रम सिंहले यसै विषयलाई लिएर हाँक साप्ताहिकमा ‘बीपीलाई मन पराउने पनि कम्युनिस्टको कतै नेता हुन्छ ? ’ भनी भण्डारीको आलोचना गरी लेख पनि लेखेका थिए।

कम्युनिस्टको भविष्य

नेपालमा कम्युनिस्टको भविष्य कस्तो छ ? विचार–बहस नचल्ने होइन। न्युजविककी मिचेलले पनि त्यतिबेलै मदन भण्डारीलाई यो प्रश्न सोधेकी थिइन्।

जब नेपालका जनता राजाविरुद्ध आन्दोलनरत थिए, अरू धेरै देशका बासिन्दा तिनका कम्युनिस्ट शासकविरुद्ध उर्लिएका थिए। नेपालमा त्यस्तै भयो भने तपाईं के गर्नुहुन्छ ?

– जब हामी शक्तिमा हुनेछौं, यस्ता प्रदर्शन हुने नै छैनन्। तर, यदाकदा समाजमा गैरसामाजिक तत्त्वले व्यवधान खडा गर्ने जमर्को गर्न सक्छन्। त्यस किसिमका व्यक्तिले बाधा उत्पन्न गरे हामी राज्य शक्ति प्रयोग गर्दैनौं, जनता परिचालन गर्छौं। यदि, हामीविरुद्ध प्रदर्शन गरे भने जनतालाई हाम्रो पक्षमा प्रदर्शन गर्न भन्नेछौं। हामी (त्यसमा) पुलिस फोर्स प्रयोग गर्ने छैनौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.