सभामुखको घोषणापश्चात् एमसीसी सदनमा प्रस्तुत हुन्छ : गृहमन्त्री
सुर्खेत : गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनमा प्रस्तुत गरी गलत प्रावधान परिमार्जन गरेर पारित हुने बताएका छन्। उनले एमसीसी राष्ट्रिय हितमा हुनुपर्ने बहस चलिरहेकाले सभामुखको घोषणा भएपश्चात् सदनमा प्रस्तुत हुने बताए। शनिबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित नहुने गरी एमसीसी सदनबाट पारित हुने धारणा राखे।
एमसीसी सरकारले सदनबाटै पारित गर्नुपर्ने किन बाध्यता भन्ने विषयमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले अमेरिकी सिनेटले पारित गर्ने भएकोले नेपालको सदनबाट पारित गर्नुपर्ने भएको स्पष्ट पारे।
गृहमन्त्री थापाले शान्ति र स्थायित्व बिना मुलुकमा विकास असम्भव भएको धारणा राखेका छन्।सरकारले आपराधिक नियन्त्रणलाई प्राथमिकता राखेको उनले बताए। नेपाललाई आपराधिक अखडा बनाउँदै आएका चिनियाँ नागरिकलाई भर्खरै सरकारले पक्राउ गरेर देश निकाला गरेको जनाउँदै उनले भने, 'हामीले सीमापारिका अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हात पारेका छौँ।सांस्कृतिक परिवर्तनस्वरुप सरकारले छाउपडी प्रथा उन्मूलन अभियान सञ्चालनन गरेको छ।यसबाट पनि समाजमा सकारात्मक प्रभाव पर्दै गएको छ ।'
विप्लवलाई मूल प्रवाहमा ल्याउने काम जारी नै रहेको बताउँदै उनले सदनबाट प्रहरी विधेयक पारित भइसकेको र अब राष्ट्रपतिबाट प्रमाणीकरण हुन मात्र बाँकी रहेको जनाए।भारतले सार्वजनिक गरेको नयाँ नक्साका कारण उब्जिएको विवाद र त्यसबाट दक्षिणसँग बिग्रेको सम्बन्ध सुधार गर्न कूटनीतिक प्रयास भइरहेको उनले बताए।