रेल रिजर्भ गरेर निकासी

रेल रिजर्भ गरेर निकासी

विराटनगर : पुल मर्मत गर्ने भन्दै गत पुस २५ गतेदेखि भारतले जोगवनी नाका बन्द गरेपछि आयात मात्रै नभइ निर्यातमा पनि समस्या भएको छ। नेपाली उद्योगले उत्पादन गरेका वस्तु भारतसहित तेस्रो मुलुकमा निकासी गर्न नपाएको उद्योगी बताउँछन्। ‘आयातमा त धेरै झन्झट खेप्नु परेको छ’, विराटनगरका उद्योगी अमित शारडाले भने, ‘पहिलेको कच्चा पदार्थबाट उत्पादित सामान पनि बिक्री गर्न नपाइ गोदाममै राख्नुपरेको छ।’ जुटबाट उत्पादित सामानसहित तेललगायत तयारी वस्तु विराटनगर भन्सार हुँदै जोगवनी नाकाबाट भारत निर्यात हुन्छ।

मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा खुलेका उद्योगको उत्पादन नेपालसहित भारतीय बजारमा पुग्छ। त्यसमा पनि जुटबाट उत्पादन गरेका सबै वस्तु भारत निकासी गर्दै आएको व्यवसायी बताउँछन्। पुल मर्मतपूर्व ल्याएका कच्चा पदार्थबाट उत्पादन भएर भारत निकासी गर्ने अधिकांश वस्तु गोदाम गरेको र पुल सञ्चालन भएपछि निर्यात गर्ने तयारीमा रहेको विपिन काबरा बताउँछन्।

‘हाम्रो तेल उद्योगमा त धेरै समस्या थपिएको छ, भारतको नीतिले पाम तेल त रोक्यो नै अन्य सामान पनि निकासी गर्न पाएका छैनौं’, उद्योगी काबाराले भने, ‘पुलको विकल्प नेपाल सरकारले नखोज्दा र भारतले अन्य स्थानबाट निकासीमा अनुमति नदिँदा उत्पादित सामान बेच्च पाइएन।’

भारतले पुल मर्मत सुरु गरेर आयात निर्यातमा जोगवनीको बाटो बन्द गरे पनि अन्य नाकाबाट रिरुट नदिँदा आयात निर्यात दुवै प्रभावित बनेको हो। भारतबाहेक तेस्रो मुलुकबाट आयातित सामानलाई मात्रै अन्य नाकाका लागि अनुमति दिए पनि निर्यातमा अर्को नाका हुँदै मिरगञ्ज पुल पारीको क्षेत्रमा पुग्न भारतको अनुमति छैन।

 रेल रिजर्भ गरेर निकासी

मिरगञ्ज पुल बन्द भएपछि विराटनगरमा जुटबाट उत्पादित तयारी वस्तु पहिलोपटक रेल रिजर्भ गरेर निकासी गरिएको छ। पुल बन्द हुँदा सडक मार्गबाट ढुवानी ठप्प भएपछि रेलमार्गबाट जुटको तयारी वस्तु भारतको अहमदावाद निकासी गरिएको हो।

गोल्छा अर्गनाइजेसनको अरिहन्त मल्टिफाइबर र रघुपति जुटमिल प्रालिले उत्पादन गरेका ८ सय मेट्रिक टन जुटका तयारी सामग्री भारतीय रेल रिजर्भ गरेर भारत पठाएको छ। भारतको जोगवनी नाकाबाट गोल्छा कम्पनीले ४२ वटा डब्बा रिजर्भ गरेर जुटका सामग्री भारत पठाएको हो। नेपालमा बन्दरगाह नहुँदा रेलबाट सामग्री आयात–निर्यात गर्दा पटक–पटक लोड अनलोड गर्नुपर्ने भएकाले खर्चिलो हुन्छ। उत्पादन भएका जुटका सामग्री गोदाममा राखिरहन कठिनाइ भएको र ‘पार्टी’लाई डेलिभरी दिन ढिलाइ भएपछि रेल रिजर्भ गरेर भए पनि जुट सामग्री भारत पठाइएको जुट उद्योगका सञ्चालक राजकुमार गोल्छाले बताए। गोल्छाका अनुसार सडक मार्गबाट सामान निकासी गर्न सम्भव नभएको र राखिरहँदा ग्राहक भड्कने भएकाले रेलवेबाट निकासी गरिएको हो।

भारतले वीरगञ्जपछि भैरहवा र विराटनगर नाकाबाट पारवहनमा रेल मार्ग प्रयोग गर्ने सुविधा दिए पनि आवश्यक पूर्वाधारको निर्माण नभएको र रेलवेलाई पुग्ने सामग्री नहुँदा व्यवसायीले रेलवेको सुविधा प्रयोग गरेका थिएनन्। ‘पहिले ट्रकबाटै जान्थ्यो, रेलबाट लैजान सामान पुग्दैन, थोरै लैजान रिजर्भ गर्नुपर्छ, त्यसैले २४ डिब्बा रिजर्भ गरेर पठाएँ’, गोल्छा भन्छन्।

यसअघि रेलको छोटी लाइन (मिटरगेज) चल्दा विराटनगर भन्सारबाट बंगलादेशको राधिकापुरसम्म मसुरो दाल र पिना निकासी हुन थालेको थियो। डेढ दशकअघि यहाँका व्यापारीले बंगलादेश दाल र पिना पठाउन थाले पनि रेलवे लाइन विस्तार गरी ब्रोडगेज बनाएपछि रेलबाट बंगलादेश सामान निकासी हुन बन्द भएको थियो। अहिले पूर्वाधार विकास गरी सबै निर्यात हुने नेपाली वस्तु भारत रेलबाट पनि लैजान सकिने सम्भावना रहेको गोल्छा बताउँछन्।

भारतले २२ जनवरी अर्थात् माघ ८ गते सम्ममा मात्रै मिरगन्ज पुलको मर्मत सक्ने र त्यसपछि पूर्ण क्षमतामा पुल सञ्चालन गराउने जानकारी गराएको छ। मिरगन्ज पुल मर्मतले गर्दा मालबाहक सवारीको आवागमन बन्द भएपछि विराटनगर भन्सार कार्यालयको दैनिक १५ करोड राजस्व असुली प्रभावित भएको भन्सार कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.