उत्पादन बढाउने उपाय खोज्दै उद्योगी
विराटनगर : प्रदेश १ का उद्योगीले औद्योगिक उत्पादनको लागत र जोखिम कम गर्दै उत्पादन बढाउने विकल्प खोज्न थालेका छन्। ऊर्जा संकट र वातावरणमा ह्रास आउन थालेपछि सुरक्षित विकल्पको खोजीमा उद्योगी व्यवसायी लागेका हुन्।
कार्यक्षेत्रमा सुरक्षा, ऊर्जाको मितव्ययी प्रयोग, वातावरणीय ह्रास कम पार्ने खालका गतिविधि अपनाउँदा औद्योगिक उत्पादनको लागत घट्ने र जोखिम कम हुने भएकाले यसको विकल्पमा उद्योगीको ध्यान जान थालेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यबाहक अध्यक्ष राजेन्द्र राउत बताउँछन्। ‘भवन तथा निर्माणमा प्रयोग गरिने धातुका सामान उत्पादन गर्ने उद्योगमा उपयुक्त साधन, दक्ष जनशक्ति र स्वच्छ उत्पादन कम हुँदा उद्योगीलाई नै असर परेको महसुस आफैंले गर्न थालेका छन्’, राउतले भने, ‘यसको विकल्प खोज्न अहिले हामीले सहजीकरण गरिरहेका छौँ।’
यो विषयमा उद्योगीले नै चासो दिन थालेपछि उद्योगमा उपयुक्त साधन, दक्ष जनशक्ति र स्वच्छ उत्पादनमा आर्थिक विकास समाज (सिड) सँगको सहकार्यमा पहिलो चरणमा मोरङका चार उद्योगमा काम भइरहेको उद्योग वाणिज्य महासंघले जनाएको छ। यो कार्यक्रम लागू गरेसँगै उद्योगले वातावरणमा हुने असर कम गर्दै कामदारको सुरक्षाको पक्ष सुधार गर्न सकिएको बताइएको छ।
यो परियोजनाअन्तर्गतका कार्यक्रम उद्योगमा लागू गर्दा उपलब्धिमूलक भएको सिड नेपालका कार्यकारी निर्देशक अमरबहादुर मानन्धरले बताए। यो कार्यक्रम हुलास वायर, मैनबत्ती स्टिल, पायोनियर इलेक्ट्रो केबल र पशुपति आइरनमा लागू भएको छ। अन्यमा पनि क्रमशः लागू गर्दै जाने निर्देशक मानन्धर बताउँछन्।
उद्योगबाट उत्पादनका क्रममा निस्कने सबै किसिमका खेर जाने वस्तुको व्यवस्थापन, प्रदूषण नियन्त्रण र कार्यस्थलमा हुन सक्ने दुर्घटना कम गर्दै उत्पादकत्व वृद्धि गर्ने उपाय परियोजनाले सिकाउने गरेको छ। धातुजन्य उद्योगमा कामदारको सुरक्षा एवं जोखिम कम गर्ने उपायबारे अन्य उद्योगसँग पनि छलफल गरेको र यो विषयलाई सबैले लागू गर्न चाहेको सिडका निर्देशक मानन्धर बताउँछन्।
यस्ता उद्योगमा औद्योगिक सुरक्षा र वातावरणमा कम असर गर्ने खालका प्रविधि भिœयाउन सहयोग र परामर्श सिडले दिनेगरेको छ। यो प्रविधि अपनाउन सुरु गरेका हुलास वायरका सञ्जीव झाले परियोजनाको कार्यक्रममा आबद्ध भएपछि उद्योगको फाइदा बढेको बताए। चार वर्षयता कार्यक्रम अनुसारका विभिन्न उपाय अपनाएर उद्योगमा सुरक्षाको वातावरण बनाइएको साथै लागत कम हुने खालका प्रविधि उपयोग गरिएको उनको भनाइ छ। पशुपति आइरनका दिनेश खड्गीले यो प्रविधिले इन्धन बचत र ऊर्जा खपत कम गरी मितव्ययी हुने अनुभव सुनाए।
यो कार्यक्रममा धेरै उद्योगीले चासो दिएकाले प्रदेश सरकार पनि सघाउन तयार रहेको प्रदेश सरकारका वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले बताए। ‘यसले उद्योगलाई मात्रै होइन सरकारको बोझ पनि कम हुन्छ’, राज्यमन्त्री विश्वासले भने, ‘यस्तो प्रविधि भिœयाउन सघाउन प्रदेश सरकार तयार छ।