काठमाडौँ विश्वविद्यालयको विवाद बालुवाटारमा, २१ गतेलाई सर्यो सभा
काठमाडौं : प्राध्यापक र कर्मचरीबाट भएको आन्दोलनको विषयमा छलफल गर्न सोमबार बसेको काठमाडौं विश्वविद्यालयको सभा (सिनेट) माघ २१ गतेका लागि सरेको छ ।
विश्वविद्यालयको कुलपतिको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास वालुवाटारमा सभा बोलाएका थिए । प्राध्यापक तथा कर्मचारी संघलाई कानुनी मान्यता दिने कि नदिने विषयमा विवाद भएपछि सभा अर्को दिनलाई बोलाइएको हो । झण्डै महिना दिनदेखि आन्दोलन गर्दै आएका प्राध्यापक र कर्मचारी संघलाई मान्यता दिनुपर्ने माग गरेका छन् ।
सभामा दुवै संघका सभापतिलाई सदस्यको हैसियतमा बस्न दिनुपर्ने माग पनि उनीहरुले गरेका छन् । सोमबारको सभामा पक्ष र विपक्षमा चर्काचर्की भएपछि प्रधानमन्त्री ओलीले यस विषयमा आन्तरिक सहमति कायम गरेर अर्को वैठक बस्ने जानकारी गराएका थिए ।
अर्को बैठक २१ गतेलाई बोलाइएको विश्वविद्यालयका प्राध्यापक संघका पूर्व सभापति विभुतीरञ्जन झाले बताए । शिक्षक,कर्मचारी र व्यवस्थापनबीचको द्धन्द्धले दुई सातादेखि काठमाडौं विश्वविद्यालयको शैक्षिक, आर्थिक तथा प्रसाशनिक काम रोकिएको छ ।
व्यवस्थापन र आन्दोलनकारीको विवादका कारण विश्वविद्यालयको स्कुल अफ ल, विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी शास्त्र, शिक्षा र मेडिकल शिक्षा अन्तर्गतका सम्पूर्ण काम रोकिएको छ । यि सबै स्कुलका डिन कार्यालयमा पुस १६ गतेदेखि आन्दोलनकारीले ताला लगाएका छन् । उनीहरुले विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा पनि ताला लगाएका छन् ।
आन्दोलनकारीले ताला लगाएपछि सोही दिन प्रशासनले विश्वविद्यालयमा असहज परिस्थिती उत्पन्न भएको बताउँदै विद्यार्थीलाई अर्को सूचना नआउन्जेलको लागि पढाइ बन्द भएको जानकारी गराएको थियो । स्थापनाको तीन दशकमा विश्वविद्यालयमा भएको अहिलेसम्मकै यो सबैभन्दा ठूलो आन्दोलन हो ।