चित्रले चिनायो संस्कृति

चित्रले चिनायो संस्कृति

विराटनगर : विराटनगरको एक आधुनिक महलभित्र स्ट्यान्डमा ठड्याइएका तस्बिरमा झल्कने नेपालको संस्कार, संस्कृति र भेषले बिहीबार नजिकै सजाएका आधुनिक सामानले भन्दा बढी नै दर्शकको ध्यान तानिरहेको थियो।

सेन्ट्रल मलमा गरिएको चित्रकला प्रदर्शनी कार्यक्रममा पुगेकी सामाजिक विकास राज्यमन्त्री जशमाया गजमेरको मात्रै होइन किनमेलका लागि पुग्नेको जो कोहीको ध्यान टक्क रोक्ने तस्बिर नौलो नभई नेपालको इतिहास झल्काउने थिए। हिमाल, पहाड र तराईको गाउँ बस्ती, रहनसहन र जातजातिको संकार, संस्कृति र भेषभूषा झल्नेदेखि प्राकृतिक जीवजन्तु अहिले र पहिलेमा के फरक छन् ?    प्रश्नका साथ नियाल्ने मौका धेरैलाई जुर्‍यो।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौं र ललितकला संगम विराटनगरको संयुक्त आयोजनामा गरिएको चित्रकला प्रदर्शनीले नेपाललाई बुभ्mने र बुझाउने अवसर मिलेको चित्र नियालिरहेकी विराटनगर ११ की स्थानीय राधा पौडेलले बताइन्। ‘सामान किनमेलका लागि आएकी थिएँ, प्रदर्शनीमा राखिएका चित्र साँच्चै नेपालको इतिहास बुझाउने थिए,’ पौडेलले भनिन्, ‘आधुनिक जमानाको क्यामराले भन्दा मनदेखि कोरेका तस्बिरले पनि इतिहास बुझाउँदो रहेछ।’

सरस्वती पूजा भएकाले बिहीबार चाँडै विद्यालयमा पूजा सकेर घुम्न निस्किएका विद्यार्थीले प्रदर्शनीको फाइदा बढी लिए। ‘कोरेका तस्बिरबाट धेरै सिकिने रहेछ, इतिहास बुझ्न त छँदैछ, चित्र कोरेर पनि केही गर्न सकिन्छ भन्ने प्रेरणासमेत मिल्यो’, अर्पण बोडिङ स्कुल राजवंशी चोकमा अध्ययनरत छात्र सुजन    श्रेष्ठले अनुभव सुनाए। चित्रकलामार्फत पनि देशलाई चिनाउन सकिन्छ भन्ने उद्देश्यले आयोजना गरिएको चित्रकला प्रदर्शनीमा एकै दिन सयौंले अवलोकन गरेको आयोजकको भनाइ छ।

कलामध्येको एक चित्रकलाको माध्यमले पनि देशका हरेक कुराको प्रचारप्रसार गर्न र देश विकासमा योगदान पुर्‍याउन सकिन्छ भन्ने उद्देश्यले विराटनगरमा एकदिने चित्रकला प्रदर्शनीको आयोजना गरिएको ललितकला संगम विराटनगरका अध्यक्ष गोपाल कलाप्रेमीले बताए। ‘नेपालमा भिजिट २०२० अभियान चलेको छ, विश्वबाट नेपाल आउने पर्यटकलाई घुमाएर मात्रै नभई हातले कोरेर बनाएका चित्रले पनि नेपाल चिनाउन सकिन्छ भन्ने हाम्रो भनाइ हो’, अध्यक्ष कलाप्रेमीले भने, ‘यो हाम्रो अभियानलाई प्रदेशसँगै संघीय सरकारले पनि बुभ्mनुपर्छ।’

चित्रकलाले अनेकौं संकेत र रूपसमेत देखाउने भएकाले यसको संरक्षण, विकास र प्रचारमा सबैको साथ आवश्यक रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौंकी चित्रकला विभाग प्रमुख सुष्मा राजभण्डारी बताउँछिन्। ‘चित्रमा मूूर्त र अमूर्त दुवै कला छन्, देशभित्रका हरेक कुरा चिनाउन सकिने कला नै चित्रकला हो’, राजभण्डारीले भनिन्, ‘सोचेको र भनेको कुरालाई देखाउन सक्ने माध्यमको विकासमा सरकारले चासो दिनुपर्‍यो।’

व्यक्ति, समाज हुँदै देशको विकासमा टेवा पुर्‍याउन युगौंदेखि चित्रकलाको माध्यमबाट प्रचार र सन्देश दिने काम भएकाले चित्रकलालाई संरक्षण गर्ने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र ललितकला संगमजस्ता संस्थाको कामलाई सरकारले साथ दिनेमा दुईमत नरहने प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री जशमाया गजमेरले बताइन्। ‘चित्रकलाको प्रवद्र्धन र विकासमा सरकारले नै बढी चासो दिनुपर्छ, यसमा सामाजिक विकास मन्त्रालयले गर्ने सबै सहयोग आगामी दिनमा अग्रभागमा रहनेछ’, राज्यमन्त्री गजमेरले भनिन्, ‘संस्थासँग सहकार्य गरेर यसको विकासमा सरकारले कञ्जुस्याइँ गर्ने छैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.