कहिल्यै पानी नजम्ने ‘सुकेपोखरी’

कहिल्यै पानी नजम्ने ‘सुकेपोखरी’

उदयपुर : पर्यटकीय सम्भावना बोकेको उदयपुरको रौतामाई गाउँपालिका ५ स्थित सुकेपोखरी क्षेत्र सुनसान छ। प्राकृतिकरूपले भरिपूर्ण रहेको सुकेपोखरी प्रचारप्रसार र संरक्षणकै अभावमा ओझेलमा परेको हो।

जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रौता पोखरीदेखि करिब ५ किलोमिटर तल पूर्वमा रहेको सुकेपोखरी चार थुम्का र चार भञ्ज्याङको बीचमा छ। एक किलोमिटर लम्बाइ र करिब ८ सय मिटर चौडाइ रहेको पोखरी संरक्षण र प्रवद्र्धनकै अभावमा सुनसान देखिएको स्थानीय बताउँछन्।

पोखरीको विकास र संरक्षणमा पूर्व–उत्तरको भञ्ज्याङ पञ्चमीमा यलम्बरको मूर्ति र साकेला थानको स्थापना गरिए पनि प्रचारप्रसार र अन्य पूर्वाधार तयार गर्ने स्रोत नहुँदा समस्यामा परेको वडाध्यक्ष पाण्डोव राईले बताए। उनले भने, ‘वडाको सीमित स्रोतसाधनका कारण भनेजस्तो प्रचारप्रसार र पूर्वाधार तयार गर्न सकिएको छैन।’ ‘गाउँपालिकाभित्रको पर्यटकीय क्षेत्र भएकाले यसको पर्वद्धनका लागि पालिकामा कुरा उठाएको छु’, उनले भने, ‘सबै जनप्रतिनिधि सकारात्मक रहेकाले यसपटक सडक सञ्जाललाई जोडन बजेट विनियोजन गरेका छौं।’

वडाबाट पाँच लाख र पालिकाबाट दुई लाख रुपैयाँ बजेट विनियोजन गरी सडक सञ्जाललाई जोड्ने काम सुरु गरेको उनले बताए। पूर्वाधारको पहिलो पाटो सडक भएकाले यस वर्ष सडक निर्माणमा थोरै भए पनि लगानी गरिएको उनको भनाइ छ। सडकबिना अरु विकासका पूर्वधार निर्माण गर्न कठिन हुने भएकाले वडाले पहिलो प्राथमिकतामा सडकलाई राखेर काम अगाडि बढाएको उनले बताए। पोखरी आफैंमा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएकाले पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न स्थानीय, प्रदेश र जिल्ला निकायले चासो दिनासाथ विकास हुने स्थानीय सर्वधन राईले बताए।

तर, अघिल्ला पुस्ताले पोखरीको संरक्षण तथा प्रवद्र्धन गर्न नसक्नु र पोखरीको विकासका लागि छुट्याइएको बजेटको आधा रकम अन्यत्र सार्ने परम्पराले यो क्षेत्रको विकास हुन नसकेको स्थानीय बताउँछन्।

पोखरीको संरक्षण र प्रवद्र्धनका लागि पहिलो कुरा सडक, खानेपानी, बिजुली अत्यावश्यक रहेको उनले बताए। यसका साथै पर्यटकका लागि गास र बास व्यवस्था गर्ने होटलको उत्तिकै आवश्यता रहेको उनले बताए। स्थानीय जुद्ध राईले पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सके स्थानीय उत्पादनले बजार पाउने र स्थानीय स्तरमा आर्थिक अवस्थामा सुधार हुने उनले बताए। उनले पर्यटकीय क्षेत्रको रूपमा पदमार्ग निमार्ण गरी रौतापोखरीसँग जोड्न सके दुवै क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा विकास हुने वडाध्यक्ष राईले बताए।

गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले पोखरीको संरचनालाई यथावतरूपमा संरक्षण गरी विकास गर्ने तयारी भइरहेको बताए। प्राकृतिक सौन्दर्यताले सुकेपोखरी भरिपूर्ण रहेकाले यसको संरक्षण र सम्वद्र्धन गर्नु गाउँपालिकाको दायित्व रहेको उनले बताए।

अध्यक्ष खड्काले पोखरीबाट उत्तर र दक्षिणका विभिन्न ठाउँ अवलोकन गर्न भ्युटावरको परिकल्पना गरी निर्माण गर्ने तयारी भइरहेको बताए। पोखरीको पश्चिमी थुम्की गोरुजुरे र पूर्व–दक्षिण बीचको थालेचौरीलाई आधार बनाई भ्युटावरको परिकल्पना गरिएको उनको भनाइ छ।

प्रचुर पर्यटकीय सम्भावना बोकेका तर प्रचारप्रसार अभावले ओझेलमा परेका यस्ता ठाउँको खोजी गरी संरक्षणमा गाउँपालिका लागिपरेको उपाध्यक्ष कुमारी ठकुरीले बताइन्। रौतामाई गाउँपालिका ८ वटै स्थानीय तहमध्ये प्राकृतिक, पर्यटकीय तथा धार्मिक दृष्टिकोणले अलग्गै पहिचान बोकेको र अरुभन्दा सौन्दर्य रहेको ठाउँ भएकाले संरक्षणमा विशेष चासो पु¥याइएको उनले बताइन्।

जम्दैन पानी

पोखरीको क्षेत्रफल ठूलो भए पनि पानी नजम्ने यसको एउटा विशेषता हो। पोखेरी वरिपरिको हरियाली चार थुम्का र सहजै देख्न सकिने सेताम्य हिमाल र तराईको समथर फाँटले जोकोहीको मन लोभ्याउँछ। तर, सम्बन्धित निकायको नजर नपुग्नु र स्थानीयले कुनै प्रकारको चासो नदेखाउनुले पोखरीको संरक्षण तथा प्रवद्र्धन हुन नसकेको वडासदस्य धनकुमार राईले बताए।

पोखरीबाट उत्तरमा सर्वोच्च शिखर सगरमाथा, लोहत्से, चोयु, कञ्चनजंघा, मकालु, कुम्भकर्णलगायत हिमाल र साथमा अन्य अग्ला हिमशृंखला प्रत्यक्ष अवलोकन गर्न सकिन्छ। त्यस्तै दक्षिणमा तराईका समथर फाँटदेखि भारतका उत्तर प्रदेश, विहार अवलोकन गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.