अवैद्य गतिविधिमा संलग्न गिरोह पक्राउ
सिमरा : अवैद्य गतिविधिमा संलग्न चारजनालाई इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरेको छ।प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी हातहतियार, लागुऔषध र ठगी कार्यमा संलग्न चारजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको हो।
पक्राउ परेका चारैजना अहिले इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् । बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका ११ का ३८ वर्षीय दीपलाल राम, निजगढ नगरपालिका १३ का मंगलसिंह तामाङ, रौतहट चन्द्रपुर नगरपालिका ८ का गनहर बैठा र कलैया उपमहानगरपालिका २६ का फुल सरिक मिया धोवी रहेका छन् ।
प्रहरी नायब उपरीक्षक पुरीका अनुसार पक्राउ परेकामध्ये रामलाई नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ६ थान गोलीसहित नियन्त्रणमा लिइएको हो । सूचनाको आधारमा रामको घरमा खानतलासी गर्ने क्रममा लुकाएर राखिएको अवस्थामा हतियार फेला परेको प्रहरी नायब उपरीक्षक पुरीले बताए ।
'हतियार लुकाएर राखेको भन्ने सूचना आएपछि प्रहरी पुगेर खानतलासी गर्दा पेस्तोल र गोली फेला पार्यौं प्रहरी नायब उपरीक्षक पुरीले भने, 'अवैद्यरुपमा हतियार राखिएको विषयमा अनुसन्धान सुरु गरेका छौं।'
रामलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हातहतियार तथा खरखजाना मुद्धामा कारवाही थालिएको पुरीले बताए। यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका २१ चकरीबाट अमलेखगञ्जतर्फ आइरहेको मोटरसाइकल चेकजाँच गर्दा प्रहरीले अवैद्य लागुऔषध गाजासहित तामाङ र बैठालाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले पाँच सय ग्राम गाजा र ना२०प ७९८२ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।
पक्राउ परेकामध्ये मिया धोवी भने ठगी कार्यमा संलग्न रहेको प्रहरीको भनाई छ । धोवीले नेटवर्किङ व्यापारमा फाइदा हुने भन्दै विभिन्न व्यक्तिसँग पैसा असुल्ने गरेको प्रहरी नायक उपरीक्षक पुरीले बताए ।
धोवीको साथबाट प्रहरीले विभिन्न व्यक्तिको १७ थान नागरिकताको प्रतिलिपी र चाँदीको भाँडोमा सिसाजस्तो टल्कने वस्तु बरामद गरेको छ। मियाले उक्त टल्कने वस्तु नागमणी रहेको र दुई करोड मूल्य पर्ने भन्दै स्थानीयलाई ठगी गर्न लागेको सूचना आएपछि पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक पुरीले बताए।