गृह नगरमा सभामुख सापकोटालाई सम्मान
चौतारा : सभामुखको रुपमा शपथ लिएको १२ दिनपछि गृह नगर चौतारा आएका अग्निप्रसाद सापकोटालाई सम्मान गरिएको छ। सभामुख सापकोटालाई जिल्ला समन्वय समितिको अगुवाईमा शनिबार सम्मान गरिएको हो।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको बधाई एवम् सम्मान कार्यक्रममा स्थानीय तह, पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, कर्मचारी संगठन लगायतका नागरिक समाजका अगुवा संस्था, शिक्षक महासंघलगायतले सम्मान गरेका हुन्।
सम्मान कार्यक्रममा बोल्दै सापकोटाले लोकतन्त्रको सुदृढिकरण आफ्नो मुख्य कार्यभार भएको बताए। उनले अब आफू कुनै पार्टीको नभई मुलुककै साझा व्यक्ति भएको उल्लेख गर्दै मुलुकको हित विपरीत कुनै कदम नचाल्ने प्रतिवद्धता जनाए।
‘म अब कुनै पार्टीको मान्छे होइन’, सापकोटाले भने, ‘पदीय मर्यादाको ख्याल राख्दै तपाईंहरुको मतको उच्च सम्मान गर्नु पनि मेरो दायित्व हो।’
उनले आफू सभामुख निर्वाचित भएपछि बस रिजर्भ गरेर राजधानी पुगेका महिलाले दिएको आर्शिवादले आफूलाई भावुक बनाएको स्मरण गरे।