८ हजार रुख काटिँदै

८ हजार रुख काटिँदै

तेह्रथुम : राष्ट्रिय गौरवको कोसी करिडोरको २ सय २० केभीए विद्युत् प्रसारण लाइनको काम धमाधम अघि बढिरहँदा जंगल क्षेत्र जोगाउन स्थानीयले माग गरेका छन्। आयोजनाका लागि तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रका हजारौं रूख काटिने भएपछि त्यसले जैविक विविधतालाई असर पार्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन्।

गुराँसको राजधानीका रूपमा प्रख्यात तिनजुरेको मध्य भागबाट प्रसारण लाइन विस्तार हुने भएपछि बिकल्प खोज्नुपर्ने बहस अघि बढेको हो। आयोजनाले धनकुटा र तेह्रथुममा पोल गाड्ने तथा तार जडान गर्ने कार्य सुरू गरेको छ। प्रसारण लाइन विस्तारका क्रममा जिल्लाको लालीगुराँस नगरपालिकामा टीएमजे क्षेत्रका हजारौं रुख काटिदा यस क्षेत्रकोे जैविक विविधता नष्ट हुने र पर्यटकीय आर्कषण पनि खस्किने सो नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताए।

उनले भने ‘यो आयोजनाबाट सबैभन्दा बढी क्षति हाम्रो क्षेत्रमा हुने देखियो, जैविक विविधतालाई असर पुग्ने गरी काम हुनु राम्रो होइन।’ प्रसारण लाइन बिस्तारका क्रममा तेह्रथुमका चैते, चित्रे, तीनजुरे-रातपोखरी, लिसाबोटे, मेन्छ्यायाम धाप, गौरी नागी, डांगी जोरी लगायतका सामुदायिक वनमा रूख कटान हुनेछ। एकै साथ ठूलो संख्यामा रूख कटान हुँदा मुलुककै नमुना सहर बसन्तपुरमा खानेपानीको संकट निम्तिने स्थानीय रविकिरण लिम्बु बताउँछन्।

टीएमजे गुराँसका लागि प्रसिद्द छ। २८ प्रजाति गुराँस फूल्ने भएकाले प्रत्येक बर्षको फागुनदेखी बैशाखसम्म यहाँ पर्यटकको घुइँचो लाग्छ। दुर्लभ प्रजातिका गुराँसका रुख फाडिएको खण्डमा पर्यटकीय चहल पहल प्रभावित हुने चैते सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष युकबहादुर बस्नेतले बताए। ‘गुराँसकै कारण यहाँको पर्यटन व्यवसाय फस्टाएको छ, गुराँसै नभएपछि यहाँ आउने पर्यटकले के हेर्ने’, उनले भने। गुराँस र यहाँको जैविक विविधता संरक्षणका लागि दर्जन बढी संघ÷संस्था खुलेका छन्।

प्रसारण लाइन विस्तारका लागि २०७३ मा प्रारम्भिक वातावरणीय प्रभाव मुल्यांकन गरिएको थियो। सो अध्ययन अनुसार टीएमजेमा मात्रै सात हजार ६ सय २९ रूख काटिने र सबैभन्दा बढी चैते सामुदायिक वनबाट एक जार चार सय २५ रूख हटाउन सुझाइएको छ। काटिनेमध्ये ८० प्रतिशत भन्दा बढी गुराँसका रूख पर्नेछन्। वातावरणीय प्रभाव मूल्यांकन सरोकारवाला राय सुझाव विना एकतर्फी ढंगमा तयार भएकाले अहिले समस्या देखिएको नगरप्रमुख माबोहाङको भनाई छ। स्थानीय निकायसँग समन्वय नगरि काम अघि बढाइँदा दीर्घकालिन समस्या निम्तिने उनको ठहर छ।

उनले भने ‘हजारौ रूख कटान पश्चात जैविक विविधतामा क्षति हुन नदिन उर्जा मन्त्रालय वन बिभागसँग समन्वय गरेर उचित विकल्पको माग गर्ने तयारी गरिएको छ।’ ताप्लेजुङको तमोर र मेवा खोलामा उत्पादित विद्युत् बसन्तपुरको टुटे सव-स्टेशन हुँदै सुनसरीको इनरुवामा रहेको केन्द्रीय विद्युत आयोजनाको सव स्टेसनमा जोड्ने गरी कोसी करिडोरको काम अघि बढाइएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.