विवेकको विद्यालय यात्रा

विवेकको विद्यालय यात्रा

गाउँमा विद्यालय खुलेपछि त्यहाँ पढ्ने विद्यार्थीमा के–कस्तो परिवर्तन आएछ भन्ने कुरा बुझ्न चाहन्थे । त्यसैले विद्यालयको पढाइका बारेमा बुझ्न र उनीहरूसँग छलफल गर्न उनले गाउँका सबै केटाकेटीलाई आफ्नो घरमा बोलाएका थिए ।


कमल कोइराला । कुनै एउटा गाउँको सानो घरमा विवेक बस्थ्यो । ऊ आफ्ना बाबुआमाको एकमात्र छोरो थियो । धेरै वर्ष पहिलेदेखि नै उसका बाबुबाजेले विभिन्न प्रकारका माटाका भाँडाकुँडा बनाउने काम गर्दै आइरहेका थिए । विवेकका बाबुआमा पनि पढेलेखेका थिएनन् । किनभने उनीहरूका पालामा पढ्ने विद्यालयहरू थोरै थिए । त्यसैले उनीहरू अशिक्षित थिए । गरिब र अशिक्षित भएकै कारण उनीहरूसँग जीवन निर्वाह गर्ने अर्काे नौलो उपाय पनि थिएन । त्यसैले परम्परादेखि चल्दै आएको पेसा गरेर नै उनीहरूले आफ्नो जीवन धानेका थिए ।

विवेकका पालामा गाउँगाउँमा विस्तारै विद्यालय खुल्न थाले । असल र सुयोग्य नागरिक बनेर देश विकास गर्न सबैले पढ्नुपर्छ भन्ने चेतना चारैतिर फैलिन थाल्यो । यो कुरा विवेकका गाउँमा पनि फैलियो । उसका गाउँमा सबै केटाकेटीहरू आफ्नो घरनजिकै रहेको विद्यालयमा पढ्न जान थाले । तर गरिबीका कारण विवेकका बाबुआमाले उसलाई विद्यालयमा पढ्न पठाउन सकेनन् । आफू सँगैका सबै साथीहरू विद्यालय जाँदा विवेकलाई ज्यादै नरमाइलो अनुभव हुन्थ्यो । नयाँ र राम्रा पोसाकमा सजिएर झोलाभरि ज्ञानले भरिएका किताब बोकी सबै साथीहरू विद्यालय जान्थे । अरू विद्यालय गएको देख्दा विवेकको अनुहार निकै अँध्यारो देखिन्थ्यो ।

‘सबै साथीहरू विद्यालय गएर धेरै पढी ज्ञानी बन्न थालिसके । सबैका बाबुआमाले आफ्ना छोराछोरीलाई किताब र पोसाक किनिदिएर पढ्न विद्यालय पठाएका छन् । म पनि भोलिदेखि उनीहरूसँग विद्यालय जान्छु न’ विवेकले दिनदिनै आफ्ना बाबुआमासँग यही भनेर जिद्दी गरिरहन्थ्यो । तर उसका बाबुआमा उसलाई आफूहरू गरिब भएको कारण देखाउँथे । उनीहरू ‘हामीले तिमीलाई विद्यालयमा पढाउने खर्च पुर्‍याउन सक्दैनौं । तिमी घरमै बसेर हामीलाई घरको काममा सघाउनुपर्छ । बरु पैसा कमाउन सकिएछ भने तिमीलाई अर्को वर्षदेखि पढ्न पठाउँला’ भनेर उसको चित्त बुझाउने प्रयास गर्थे । तर विवेक चाहिँ सबै साथीहरूले जस्तै आफूले पनि पढ्न पाउनुपर्छ भनेर आफ्ना बाबुआमासँग एकोहोरो जिद्दी गरिरहन्थ्यो । फेरि उसका बाबुआमा उही पुरानै कुरा दोहोर्‍याएर विवेकलाई पढाउन नसक्ने बताउँथे ।

गाउँमा विद्यालय नखुल्दै विवेक आफ्ना साथीहरूसँग दिनभरि खेलेर दिन बिताउँथ्यो । जुन दिनदेखि विवेकका गाउँमा भएका सबै साथीहरू पढ्नका लागि विद्यालय गए त्यही दिनदेखि ऊ दिउँसोभरि एक्लो हुन थाल्यो । आफ्नो उमेर सुहाउँदो कुनै पनि साथी नपाएपछि ऊ कहिले घरमा एक्लै बस्ने, कहिले गाईबाख्रा हेर्न वनमा त कहिले घाँसदाउरा काट्न खरबारीमा पुग्ने गर्दथ्यो । गरिब भएकै कारण घरमा बाबुआमाले काम गर्न नसकेका दिन उनीहरू भोकै सुत्नुपथ्र्याे । एकातिर बिहान बेलुकी राम्रोसँग खानलाउन नपुग्ने घरको आर्थिक अवस्था थियो भने अर्कातिर विद्यालय गई शिक्षा हासिल गर्नबाट वञ्चित हुनुपर्दाको पीडाका कारण विवेक चिन्तित थियो । सायद यसैका कारण होला ऊ दिनप्रतिदिन दुब्लाउँदै जान थाल्यो ।

एकदिनको कुरा हो । विवेकका गाउँका एकजना उदार व्यक्तिले विद्यालय पढ्न जाने सबै केटाकेटीलाई आफ्नो घरमा बोलाए । उनको नाम पुण्यप्रसाद थियो । नामजस्तै उनले आफ्ना प्रत्येक कामबाट पुण्य आर्जन गरिरहेका थिए । उनी ती केटाकेटी पढ्ने विद्यालय व्यवस्थापन समितिका पनि अध्यक्ष थिए । उक्त विद्यालयलाई त्यस गाउँमा स्थापना गर्ने काममा उनको महत्वपूर्ण योगदान थियो । उनले गाउँमा विद्यालय खुलेपछि त्यहाँ पढ्ने विद्यार्थीमा के–कस्तो परिवर्तन आएछ भन्ने कुरा बुझ्न चाहन्थे । त्यसैले विद्यालयको पढाइका बारेमा बुझ्न र उनीहरूसँग छलफल गर्न उनले गाउँका सबै केटाकेटीलाई आफ्नो घरमा बोलाएका थिए । भोलिपल्ट सबै खुसी हुँदै पुण्यप्रसादका आँगनमा भेला भए । आँगनभरि गुन्द्री ओच्छ्याइएको थियो । सबै केटाकेटीहरू मिलेर गुन्द्रीमा बसे । एकछिनपछि पुण्यप्रसाद पनि आफ्नो कोठाबाट बाहिर निस्किए । उनले आफ्नो पिँडीबाटै सोधे, ‘सबैजना आएका छौ ? ’ ‘हामी सबै आएका छौं तर विवेक आएको छैन हजुरबा’ सबैले एकै स्वरमा जवाफ दिए ।

‘विवेक भन्ने को हो ? ऊ यहाँ किन नआएको नि ? ’ पुण्यप्रसादले बडो गम्भीर हुँदै जिज्ञासु भावले सोधे । ‘विवेक विद्यालयमा पढ्न नै जाँदैन त्यसैले ऊ यहाँ नआएको हो हजुरबा’ सबैले फेरि एकै स्वरमा उत्तर दिए । पुण्यप्रसादले ‘ऊ विद्यालयचाहिँ किन नगएको हो नि ? ’ भनेर सबै केटाकेटीसँग प्रश्न गरे । तर यस प्रश्नको जवाफ कसैले पनि दिन सकेनन् । त्यसपछि पुण्यप्रसादले पुनः दोहोर्‍याएर त्यही प्रश्न गरेपछि विवेकको नजिकै घर भएकी विनीताले उठेर ऊ विद्यालय जान नसक्नाको सम्पूर्ण कारणबारे बताइदिई । पुण्यप्रसादले विवेक र उसका परिवारका बारेमा सबै कुरा अझ बुझ्न सकेनन् । त्यसैले सबै कुरा बुझ्न विवेककहाँ जाने निर्णय गरी आफ्नो पछिपछि आउन उनले सबै केटाकेटीलाई निर्देशन दिए ।

एकछिनपछि सबै केटाकेटीका साथमा पुण्यप्रसाद विवेककहाँ पुगे । उनीहरू सबै त्यहाँ पुग्दा विवेक अँध्यारो अनुहार लिएर कोठाभित्र काम गरिरहेको थियो । कहिल्यै नाआउने आफ्ना साथीहरू अचानक आफ्नो घरमा आएको देखेर पहिले त ऊ डरायो । तर सबै साथीहरूले मायालु स्वरमा बाहिर बोलाएपछि लाज मानीमानी ऊ बाहिर निस्क्यो । आफ्नो आँगनमा गाउँका सबै केटाकेटी जम्मा भएको देखेपछि भित्र भएका विवेकका बाबुआमा पनि ‘के भयो हँ ? ’ भन्दै बाहिर निस्किए । विवेकका सबै साथीहरूले पुण्यप्रसादलाई विवेक भन्ने यही हो हजुरबा भनेर चिनाइदिए । त्यसपछि उनले आफ्नो परिचय दिँदै विवेक विद्यालय जान नसक्नाको कारणबारे सोधे ।

विवेकले रुँदै आफ्नो घरको अवस्थाका बारेमा सबै कुरा बतायो । पुण्यप्रसादले छोरो किन विद्यालय जान नसकेको हो भन्ने बारेमा विवेकका बाबुआमासँग पनि बुझे । बाबुआमाले सबै कुरा खुलस्त बताएपछि उनले विवेकका टाउकामा हात राख्दै मायालु स्वरमा भने ‘बाबु तिमीले अब केहीको पनि पीर मान्नुपर्दैन । तिमीहरूजस्ता कलिला बालबालिकाका लागि भनेर नै हामीले गाउँमा विद्यालय खोलेका हौँ । तिमीजस्ता गरिब परिवारमा जन्मिएका छोराछोरीलाई हामीले निःशुल्क पढाउने निर्णय गरिसकेका छौँ । तिम्रा लागि आवश्यक पर्ने कापी, किताब, कलम, पोसाक आदि सबै विद्यालयले व्यवस्था गरिदिनेछ । त्यसैले तुरुन्त भर्ना भएर भोलिदेखि नै तिमी आफ्ना साथीहरूसँग विद्यालय जानुपर्छ ।’

पुण्यप्रसादले त्यसो भन्नेबित्तिकै विवेकले आफ्ना बाबुआमाको अनुहारमा पुलुक्क हेर्‍यो । उसले बाबुआमाको आँखाबाट हर्षका आँसु बगेको र अनुहारमा पनि खुसी छाएको देख्यो । त्यहाँ आएका विवेकका सबै साथीहरूले एकैस्वरमा भोलिदेखि विवेकलाई हामीले सँगै विद्यालय लैजान्छौँ भने । विवेक विद्यालय जाने खबरले सबैजना खुसी भए । भोलिपल्टदेखि नै आफ्ना साथीहरूसँग मिलेर विवेक पनि गाउँकै विद्यालयमा गई भर्ना भएर पढ्न थाल्यो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.