सम्पदा पुननिर्माण : राष्ट्रपतिलाई प्रगति मात्र देखाइयो
काठमाडौं : रानीपोखरीमा डोजर चलिरहेको थियो। स्काभेटर पिँधको कालोमाटो कोपर्दै थिए। त्यति नै बेला राष्ट्रपति विद्यादेवी भण्डारी रानीपोखरी पुनर्निर्माण अवलोकन गर्न पुगिन्। शनिबार बिहान ९ बजे उनले सम्पदा पुननिर्माणमा भइरहेका प्रगति अवलोकन गर्ने तय भयो। रानीपोखरीबाट सीधै दरबार हाइस्कुल, सुन्धारास्थित धरहरा र वसन्तपुर दरबार क्षेत्रमा पुनर्निर्माण हुँदै गरेको काष्ठमण्डपतर्फ उनी प्रस्थान गरिन्।
रानीपोखरी पुनर्निर्माणको करिब ५५ प्रतिशत काम सकिएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट डा. चन्द्रबहादुर श्रेष्ठले राष्ट्रपतिसामु ब्रिफिङ गरे। उनले भने, ‘रानीपोखरीमा रहेको मन्दिर प्रताप मल्लकालीन शैलीमा बन्दै छ। वैशाख मसान्तसम्म काम सकिने छ।’ उनले इँटा छाप्ने काम ४० प्रतिशत बाँकी रहेको बताए। तर पोखरीको चार कुनामा रहेका ढुंगेधारा नष्ट भइसकेको जानकारी राष्ट्रपतिलाई दिएनन्।
रानीपोखरीमा पानी संकलनका लागि डिप बोरिङ गर्ने तयारी भइरहेको छ। सम्पदामा असर पुग्ने हेक्का नराखी डोजर चलिरहेका छन्। भक्तपुरका दक्ष कामदार हटाइएको छ। चुना र सुर्कीमा सिमेन्टको प्रयोग भएको छ। तर राष्ट्रपतिले ऐतिहासिक महŒवको रानीपोखरी छिट्टै बनिसक्ने जानकारी मात्र पाइन्।
०७२ माघ २ गते रानीपोखरी पुनर्निर्माणको शिलान्यास राष्ट्रपतिकै हातबाट भएको हो। पुनर्निर्माण क्रममा त्यहाँ रहेको बालगोपालेश्वर मन्दिर सिमेन्ट र कंक्रिटले बन्दै थियो। प्राचीन शैलीमा मन्दिर नबनाएको भन्दै सम्पदाप्रेमीबाट चर्को आलोचना भयो। त्यतिबेला राष्ट्रपति मौन बसिन्। ‘रानीपोखरी जनताको ठूलो संघर्षबाट प्राचीन शैलीमा फर्किएको हो,’ सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठ बताउँछन्, ‘स्थानीय सरकारको योजना त रानीपोखरीलाई क्याफे बनाउने थियो।’
रानीपोखरी सामुन्ने रहेको दरबार हाइस्कुलको पुनर्निर्माण भइसकेको छ। संरचना प्राचीन आवरणमै बनाइयो। तर सँगैको अर्को ‘मजलिस भवन’ नामेट पारियो। त्यो भवनमा कुनै समय उर्दु र फारसी सिकाइन्थ्यो। राष्ट्रपतिले बन्दै गरेको नक्कली धरहराको पनि अवलोकन गरिन्। २२ तलाको बनाइने उक्त धरहरा पहिलेको जस्तो हुने छैन। बाहिरबाट हेर्दा पुरानै धरहरा जस्तो देखिए पनि यो भ्यु टावर शैलीमा बन्दै छ।
०७२ को भूकम्पमा ढलेको धरहराको संरक्षण हुन सकेको छैन। पुरानो धरहराको माटो फुस्फुसाएर जीर्ण भइसक्यो। तर अझै प्रबलीकरण (रेट्रोफिट) नगरी राखिएको छ। धरहरा छेउको सुन्धाराको पानी आउने मुहान नष्ट भइसक्यो। माटो परीक्षणसहित वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरि नयाँ धरहरा ७२ मिटर (२३४ फिट) अग्लो बन्दै छ। सम्पदाविद् विष्णु कार्की भन्छन्, ‘बनिरहेको धरहरा पूर्ण रुपमा नवनिर्माण हो। यो प्राचीन धरहरासँग मेल खाँदैन।’
भूकम्पमा तहसनहस भएको वसन्तपुरस्थित काष्ठमण्डपको काम करिब ६० प्रतिशत सकिएको छ। काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष तथा प्रदेश सांसद राजेश शाक्यले काष्ठमण्डप मौलिक शैलीमा निर्माण भएको जानकारी गराएका थिए। पहिलो तलामा काठेझ्याल हाल्ने काम भइरहेको छ। पुननिर्माणका लागि असारदेखि काठ आएको छैन। पुराना धेरै छन्। १० प्रतिशत मात्र पुराना काठ प्रयोग गरिएको छ। नजिकैको ९ तले दरबारमा पुरानै काठलाई बढी प्राथमिकता दिइएको छ।
राष्ट्रपतिले अवलोकन गरेपछि नेपाली प्रविधि र मौलिक शैलीमा पुनर्निर्माण हुनुपर्ने बताएकी थिइन्। सम्पदाविद् कार्की भन्छन्, ‘राष्ट्रपतिको भ्रमणबाट सम्पदा पुनर्निर्माणमा मौलिकतालाई प्राथमिकता दिन जोड दिइएको छ। ऐनविपरीत निर्माण भइरहेका प्राचीन सम्पदालाई पुरानै शैलीमा निर्माण गर्न यस भ्रमणले दबाब दिएको छ।’
०७२ को भूकम्पमा देशका ३२ जिल्लामा १ सय ६० सम्पदामा क्षति पुगेको छ। चार वर्षमा समेत पुनर्निर्माणले गति लिन सकेको छैन। धेरै सम्पदा प्राचीन शैलीविपरीत बनिरहेका छन्। केही महिनाअघि उपत्यकाका विश्व सम्पदा सूचीमा पर्ने क्षेत्रमा भइरहेको पुनर्निर्माण अवलोकन गर्न आएको युनेस्कोले समेत मापदण्डविपरीत काम भएकोमा असन्तुष्टि व्यक्त गरेको थियो।